विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन्।
ललितपुरको कुमारीपाटीस्थित मेगा कलेजमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रममा नेपाल, भारत, बंगलादेश लगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति छ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडीन प्राध्यापक डा. डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताए। उनले नेपालमा सैद्धान्तिक शिक्षामा धेरै लगानी भएको तर खोज,अनुसन्धान र नवप्रवर्तनले प्राथमिकता नपाएको बताए।
‘दिगो विकासका लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन क्षमता चाहिन्छ। विश्वव्यापी सोचलाई स्थानीयस्तरमा विस्तार गर्नुपर्छ। त्यसका लागि सरकारले शैक्षिक अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्छ’, शर्माले भने।
उनले शिक्षा क्षेत्रको बजेट बढाएर मात्रै विश्वबजारसँग प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिनेमा जोड दिए।
भारतको बनारस हिन्दु विश्वविद्यालयको व्यवस्थापन संकायका प्रमुख प्राध्यापक डा.हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्त्वपूर्ण औजार भएको बताए।
विश्व अर्थतन्त्रको उदाहरण दिँदै डा.सिंहले शक्ति राष्ट्रहरूले अनुसन्धानमा गरेको लगानीले नै अर्थतन्त्रमा प्रतिफल दिएको दाबी गरे। नेपाल र भारतबीच शैक्षिक क्षेत्रमा पर्याप्त सहकार्य हुन नसकेको भन्दै उनले दुई देशबीच राजनीतिक र सांस्कृति सम्बन्धजस्तै शैक्षिक सम्बन्ध पनि बलियो बनाउनुपर्नेमा जोड दिए।
मधेस विश्वविद्यालयका व्यवस्थापन संकायका डिन डा.अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरूले चिर्न सक्नुपर्ने बताए।
संसद्का महासचिव पदमप्रसाद पाण्डेले अर्थशास्त्रीहरू कुनैपनि मुलुकको सहयोगी शक्ति रहेको बताए। उनले नेपालमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन नेपालका लाग उचित कानुन र नीति बनाउन सहयोगी हुने दाबी गरे।
आयोजक मेगा कलेजका प्राचार्य डा.घनश्यामप्रसाद साहले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताए। उनले मेगा कलेजले विद्यार्थीहरूलाई विश्व अर्थतन्त्रका विविध आयामबारे बुझ्न र विश्वबजारमा खपत हुन योग्य बनाउन सम्मेलन आयोजना गरेको बताए।
नेपाल कमर्स एसोसिएसनका अध्यक्ष डा.दीपेन्द्र कुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरूले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरू विश्वस्तरी भएको बताए।
सम्मेलनको निष्कर्षले सरकारलाई नीति निर्माणमा बौद्धिक टेवा पुग्ने चौधरीको भनाइ छ।
आज (शनिबार) सम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापक, अनुसन्धानकर्ता तथा व्यापार,वाणिज्य, प्रविधि र कानुनका विद्यार्थी सहभागी छन्।
Shares

प्रतिक्रिया