समाज


युनिसेफ नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

युनिसेफ नेपालद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपालखबर
जेठ ७, २०७७ बुधबार ९:३५,

कर्णाली प्रदेश सरकारलाई संयुक्त राष्ट्रस‌ंघीय बाल कोष (युनिसेफ) नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालयले सहयोग गरेको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानून मन्त्रालयको समन्वय, युनिसेफ नेपाल तथा साझेदार संस्था सुन्दर नेपालको सहयोगमा स्वास्थ्यलगायत बन्दोबस्तीका सामग्री सहयोग गरिएको छ।

कर्णाली प्रदेशको बबई नाकामा जाँच गर्न तथा छिन्चुमा स्क्रिनिङ सेन्टरका लागि १०० नागरिकलाई पुग्ने गरी आवश्यक स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री सहयोग गरिएको युनिसेफ नेपाल मध्य तथा सुदूरपश्चिम कार्यालय प्रमुख दीपक श्रेष्ठले जानकारी दिए।

‘मूलतः कोरोना भाइरसको यो संकटको बेला नागरिकको सुरक्षार्थ खटिने राष्ट्रसेवकका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छौँ’, प्रमुख श्रेष्ठले भने, ‘अर्को भारतलगायत विभिन्न ठाउँबाट अलपत्र परेर कर्णाली पुगेका नागरिकको स्क्रिनिङ, आरडिटीको गर्ने क्रममा बस्नुपर्ने अवस्थाका १०० नागरिकलाई पुग्ने गरी एक–एक सयको संख्यामा पाल, टेन्ट, कम्बल, झुल, बाल्टी, पानी, पि–फमलगायत सामग्री उपलब्ध गराएका छौँ।’

यता कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले मन्त्रालयको समन्वय, युनिसेफको सहयोग तथा साझेदार संस्था सुन्दर नेपालको सहजीकरण स्वास्थ्यलगायत बन्दोबस्तीका सामग्री उपलब्ध भएको जानकारी दिए। युनिसेफ नेपालले प्रदेश सरकारलाई गरेको सहयोगबाट विश्वव्यापी महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिम प्रतिकार्य, रोकथाम तथा न्यूनीकरणमा टेवा पुग्ने सूचना अधिकारी रोकायले बताए।

सुन्दर नेपाल केन्द्रीय कार्यालय सुर्खेतका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले विपद् प्रतिकार्य, रोकथाम तथा न्यूनीकरणमा केन्द्रित भएर प्रदेश सरकारमार्फत नागरिकको सुरक्षार्थ आवश्यक स्वास्थ्यसहित अन्य सामग्रीसमेत उपलब्ध गराइएको बताए। कार्यकारी निर्देशक कँडेलका अनुसार उपलब्ध गराइएका सामग्रीमा पि–फम दुई हजार ५०० मिटर, सर्जिकल मास्क दुई हजार थान, पञ्जा ८०० थान, एक थान स्प्रेयरसहित २५ केजी क्लोरिन, स्यानिटाइजर र एक÷एक सय सेट अन्य बन्दोबस्तीका सामग्री सहयोग गरिएको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनाको संकटसँग जुध्न युनिसेफ तथा साझेदार संस्था सुन्दर नेपालले सरकारसँग हातेमालो गरेको धन्यवाद प्रकट गरे। सामाजिक विकासमन्त्री दल रावलले मनकारी संस्थाप्रति कृतज्ञता व्यक्त गर्दै पछिल्लो समयमा नेपालमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको र कर्णाली प्रदेशमा भारतलगायत विभिन्न ठाउँबाट नागरिक आउने क्रम बढेकाले प्रदेश सरकारले स्थापना गरेको स्क्रिनिङ सेन्टर सञ्चालनमा थप सहयोग पुग्ने बताए।

उनका अनुसार भारतबाट आएका नागरिकलाई उच्च निगरानीमा राखेर जाँच कार्यलाई सघनरुपमा अगाडि बढाइएको छ। यससँगै बाहिरबाट आउनेलाई आरडीटी, पीसीआर परीक्षण गर्ने र जतिसक्दो बढी संख्यामा क्वारेन्टिन, आइसोलेसन, आइसीयू, भेन्टिलेटरको तयारी र स्वास्थ्य जनशक्ति परिचालन तथा व्यवस्थापनमा लागेको प्रदेश सरकारले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad