समाज


नेपालमा ३ मौसम प्रणाली, आज कहाँ-कहाँ पर्ला पानी

नेपालमा ३ मौसम प्रणाली, आज कहाँ-कहाँ पर्ला पानी

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार ९:२६, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको मौसममा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ। अर्थात् देशमा अहिले एकसाथ तीनवटा मौसम प्रणालीको प्रभाव छ। 

यतिबेला (शुक्रबार बिहान) कोसी प्रदेशमा साधारणतया बादल, बाँकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल रही देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। अनि बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म र कोसी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, 

दिउँसो : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थान, मधेस प्रदेशसहित कोसी, बागमती, गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै  स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा तातो लहर हुने सम्भावना छ भने लुम्बिनी प्रदेशका  पहाडी तथा तराई भूभागमा तातो दिन हुने सम्भावना छ।

राति : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ।

काठमाडौँमा फेरि वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा फेरि वर्षाको सम्भावना देखिएको मौसम पूर्वानमान महाशाखाका मौसमविद्ले बताएका छन्।

यसअघि काठमाडौँ उपत्यकामा आज बिहानै वर्षा भएको थियो। 

मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान ५ बजेदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मध्यमसम्म वर्षा भएको थियो। तर त्यो क्षणिक वर्षा गराउने प्रणाली भएकाले केही बेरपछि पानी पर्न रोकिएको छ। 

अहिले काठमाडौँ उपत्यकामा मौसम आंशिक बदली भएको छ। अर्थात् घाम देखिएको छ। 

‘तर फेरि मौसम बदली भएर अपराह्न वा साँझपख काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ’, मौसमविद् अधिकारीले नेपालखबरसँग भने।   

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad