समाज


कोरोनाका कारण कमाउनेको मृत्यु, जंगलभित्र टहरोमा बसेका परिवारको बिचल्ली

कोरोनाका कारण कमाउनेको मृत्यु, जंगलभित्र टहरोमा बसेका परिवारको बिचल्ली

यज्ञराज जोशी
जेठ ८, २०७७ बिहिबार १२:२५,

२५ वर्षीय लक्का जवान श्रीमान गुमाएको पाँच दिन बितिसक्दा पनि बाँकेको नरैनापुर–५ कि हिनाका आखाँ अझै ओभाएका छैनन।

एकातिर श्रीमानले छाडेर गएको असैह्य पीडा छ भने अर्कातिर दुई लालाबालालाई कसरी हुर्काउने चिन्ताले सताउन थालेको छ।

गत शनिबार राति ज्वरो तथा वान्ता हुन थालेपछि क्वारेन्टिनमा रहेका उनका श्रीमानको स्वास्थ्य एक्कासी बिग्रेको थियो। तर त्यसबेला न स्वास्थ्यकर्मी थिए, न उनलाई कसैले अस्पताल पुर्यायो।

एम्बुलेन्स चालक पनि पीपीई नभएको भन्दै पन्छिए। रातिदेखि स्वास्थ्य गम्भीर बनेका उनले आइतबार बिहान ६ः४० बजे संसार छाडे।

निधनको अघिल्लो दिन नै संकलन गरिएको उनको स्वावको रिपोर्ट आइतबार दिउँसो ४ बजेमात्रै आयो। रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि विशेष सावधानीसहित शव धार्मिक परम्पराअनुसार राप्ती नदीको किनारमा खाडल खनेर अन्तिम संस्कार गरियो।

शनिबार राति २ बजेतिर मृतक युवकको स्वास्थ्य बिग्रेको थियो। त्यसअघि राति १० बजे उनले श्रीमती हिनालाई फोन गरेर आफू एकदम ठीक रहेको र क्वारेन्टिन अवधि सकाएर घर फर्कने बताएका थिए।

‘उसले श्रीमतीलाई फोन गरेर मलाई एकदम सञ्चो छ। केही बिरामी छैन। टेन्सन नलिनु, राम्रोसँग सुत्नु भनेको थियो,’ मृतकका काका इब्राइमले हिनासँग भएको कुरा उद्धृत गर्दै नेपालखबरसँग भने, ‘तर, अर्कोदिन बिहानै श्रीमान गुमाएको खबर सुन्नुपर्यो। अहिले कमाउने मान्छे नै बितेपछि अब छोराछोरी कसरी हुर्काउने भन्ने चिन्ता थपिएको छ।’

मृतक युवा मुम्बईमा कुकको काम गर्थे। उनको कमाईले बुवा, आमा, बहिनी, श्रीमती र एक छोरा, एक छोरीको पेट पालिन्थ्यो। पहिले राप्ती नदी किनारमा बस्ने उनीहरु त्यो ठाउँ पनि नदीले कटान गरेपछि जंगलको जग्गामा टहरो बनाई बस्न थालेका थिए।

उनका बुवा आमाले गाउँघरमा मजदुरी गरेर केही पैसा जुटाउथे। तर, लकडाउन सुरु भएपछि मजदुरीको काम पनि नहुँदा घरमा समस्या पर्न थालेको थियो। नेपाल फर्कने भएपछि घरमा फोन गर्दै उनले ‘आफूले केही पैसा जम्मा गरेको र त्यसैबाट घर खर्च चलाउँला चिन्ता नगर्नु’ भनेका थिए।

‘उसले आफूसँग १७ हजार भारु थियो भनेको थियो। उसको मृत्यु भएसँगै त्यो पैसा र उसँग भएको मोबाइल खाडलमै गाडियो कि के भयो थाहा भएन्,’ काका इब्राइमले भने, ‘घरमा खानाको लागि केही छैन। अहिले गाउँका मानिसहरुले धान, चामल सहयोग गरेर उसको घरको चुल्हो बलेको छ। उसको घरमा के कस्तो छ सोध्न सरकारी निकायबाट आएका छैनन।’

वडाध्यक्ष कृष्णचन्द्र मौर्यले मृतकको परिवारको स्थिति नाजुक भएकाले तत्काल राहतको व्यवस्था गर्नुपर्ने बताए। उनले आफूले गाउँपालिकामा राहतका लागि जानकारी गराइसकेको बताए।

‘उनीहरु जंगलको जग्गामा रहेको छाप्रोमा बस्दै आएका छन। बाहिरबाट कमाएर ल्याएमात्रै उनीहरुको चुल्हो बल्थ्यो, वडाध्यक्ष मौर्यले भने, ‘कमाउने मान्छे नै बितेपछि उनीहरु ठूलो समस्यामा छन। तत्काल सहयोगको आवश्यकता छ।’

Narainapur chhapro

लापरवाहीले मृत्यु भएकाले क्षतिपुर्ति
सरकारले ती युवाको मृत्यु कोरोनाका कारण भएको भनेपनि स्थानीय त्यो स्वीकार्न तयार छैनन। उनीहरु कोरोनाको कारणले नभई समयमा उपचार नपाई लापरवाहीका कारण मृत्यु भएको बताउँछन।

मृतकका छिमेकी रियाजले क्वारेन्टिनमा उपचार आवश्यक भएका बेला नपाएपछि अनाहकमै ज्यान गुमाउनुपरेको आरोप लगाए।

‘उसको मृत्यु कोरोनाबाट नभएर समयमै उपचार नपाएर भएको हो,’ छिमेकी रियाजले भने, ‘झाडापखाला भएपछि समयमै पानी, औषधि दिनुपर्ने तर त्यहाँ व्यवस्थापन समितिका कोही थिएनन। गम्भीर भएर पनि उपचार नपाएपछि उसको ज्यान गएको हो।’

वडाध्यक्ष मौर्यले समेत कोरोना पुष्टि हुने बित्तिकै मान्छे नमर्ने बताउँदै उनको समयमा उपचार नपाएर निधन भएको बताए।

‘लापरवाहीले उपचार नपाएर मृत्यु भएको हो। पानी, औषधि पनि पाएन, कतै उपचारमा पनि लगिएन। सबले आ–आफ्नो टाउको बचाए। कसैले एम्बुलेन्सलाई फोन गरेको भने कसैले पीपीई नभएको भन्दै बहाना बनाए,’ उनले भने, ‘मलाई समेत युवकको मृत्यु भईसकेपछि बिहान ८ बजेमात्रै खबर आयो। समयमै खबर आएको भए म जताबाट पनि एम्बुलेन्स मगाउँथे। समयमा उपचार गराएको भए त्यो व्यक्ति बाँच्थ्यो।’

राज्यको लापरवाहीले परिवार पाल्ने व्यक्तिकै निधन भएकाले परिवारको व्यवस्थापन अब राज्यले गर्नुपर्ने माग स्थानीयको छ।

मृतकका छोराछोरीको पढाई तथा कम्तीमा एकजनालाई रोजगारीको व्यवस्था गरिदिनुपर्ने र तत्कालका लागि गाउँपालिकाले केही आर्थिक सहयोग गर्नुपर्ने वडाध्यक्ष मौर्यले माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad