आज (आइतबार) पनि देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा हुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म न्यूनचापीय रेखाको प्रभाव छ।
मौसम महाशाखाको प्रक्षेपणअनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ, अनि हिमपातको पनि सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हुरीको पनि सम्भावना छ।
यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशसहित कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। पहाडी-हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार दिउँसोपछि मौसम बदली भएर मध्यमसम्म वर्षा हुने सम्भावना छ।
यद्यपि आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत मात्र देखिएको उनको भनाइ छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया