समाज


टेलर गाडी पुलबाट बागमती नदीमा खस्दा चालकको मृत्यु, सहचालक सकुशल

टेलर गाडी पुलबाट बागमती नदीमा खस्दा चालकको मृत्यु, सहचालक सकुशल

नेपालखबर
जेठ १७, २०८३ आइतबार ९:४७, हेटौँडा

मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित कान्तिलोकपथ सडकखण्डमा टेलर गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार (हिजो) साँझ हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना. ६ ख ४०४२ नम्बरको बागमती हाइड्रोपावरको फलामे पाइप बोकेको टेलर गाडी अनियन्त्रित भई मकवानपुर–ललितपुर जोड्ने बागमती नदीको पुलबाट तल खोलामा खसेको हो।

प्रहरीका अनुसार गाडीमा लोड गरिएको फलामे पाइप बाँधिएको टुचिन (बन्धन) चुडिएपछि गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी नायब निरीक्षक प्रमोद साह तेलीको कमाण्डमा ट्राफिकसहित पाँच जनाको टोली घटनास्थल पुगेको थियो। 

गाडीमा चालक र सहचालक गरी दुई जना सवार थिए। सहचालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी १७ वर्षीय प्रशन्न प्रजा सकुशल रहेका प्रहरीले जनाएको छ।

चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी अन्दाजी ३० वर्षीय दलबहादुर बर्तौला बेपत्ता भएका थिए। फास्ट ट्रयाक सुरक्षा बेसबाट जमदार माधवप्रसाद घिमिरेको नेतृत्वमा सात जनाको उद्धार टोली परिचालन गरेर खोजीकार्य गर्दा चालक मृत अवस्थामा फेला परेका हुन्।  

क्रेनको सहायताले टेलर गाडी खोलाबाट बाहिर निकाल्ने क्रममा चालक बर्तौला गाडीको स्टेयरिङमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

हाल घटनास्थल मुचुल्का तयार गर्ने तथा दुर्घटनाबारे थप अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad