आज शनिबार पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी रेको बुलेटिनअनुसार हाल सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईको आकाशमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोसी प्रदेशसहित देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बाँकी तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको सम्भावना छ।
मौसम महाशाखाका अनुसार राति कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने मधेस प्रदेशसहित बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लाग्नेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेशका केही स्थान, मधेस प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको सम्भावना छ। अनि कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना
यसैबिच आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा दिउँसोपछि पानी पर्ने सम्भावना छ।
‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा आंशिकदेखि साधारणतयासम्म बादल लागेको छ’, उनले बिहान ८:१४ बजे नेपालखबरसँग भने, ‘केही समयपछि बादल कम हुँदै जाने र मौसम केही खुल्ने सम्भावना छ तर दिउँसो २ बजेपछि फेरि बादल बढ्दै जाने र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
मौसमविद् पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना ४० प्रतिशत देखिएको छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया