कर्णाली नदीमा बेपत्ता भएको गाडीमा पाँचजना सवार रहेको खुलेको छ।
सुर्खेतबाट कालीकोट जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०५५ नम्बरको फोर्स गाडी बिहीबार बिहान साढे ११ बजेतिर नदीमा खसेर बेपत्ता भएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायाले गाडी कर्णाली नदीमा बेपत्ता भएको पुष्टि गरे।
गाडीमा चालक सुर्खेत पञ्चपुरी नगरपालिका ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदीसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ।
घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको उद्धारमा खटिएका प्रहरीले जनाएका छन्। अन्य यात्रुको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका- ७ अन्तर्गत साङ्गेतरा भन्ने ठाउँबाट गाडी कर्णालीमा खसेको हो।
कर्णाली राजमार्ग हुँदै सुर्खेतबाट कालिकोटतर्फ जाँदै गर्दा गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडकबाट करिब ५०० मिटर तल गाडी खसेको र सडकबाट हेर्दा गाडी देखिएको छैन।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट डिएसपी ठाकुरप्रसाद पोखरेलको नेतृत्वमा १५ जना प्रहरी टोली घटनास्थलमा गएको छ।
Shares

प्रतिक्रिया