समाज


विशेष शिक्षकलाई सरकारी दरबन्दीमा रुपान्तरण, स्थायी सरह सेवा सुविधा

विशेष शिक्षकलाई सरकारी दरबन्दीमा रुपान्तरण, स्थायी सरह सेवा सुविधा

तस्बिर स्रोत: नेपाल अटिज्म विद्यालय


प्रज्ञा तिम्सिना
असार २२, २०८३ सोमबार १६:१४, काठमाडौँ

शारीरिक र बौद्धिक अपाङ्ता भएका बालबालिका केन्द्रित विशेष शिक्षा प्रदान गर्ने व्यवस्था गरिएको छ। 

सरकारले गत बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनले दृष्टिविहीन, न्यूनदृष्टि, श्रवणविहीन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षा प्रदान गर्ने व्यवस्था गरेको हो। 

नियमावलीले यस्ता बालबालिकालाई पढाउन विशेष शिक्षकलाई दरबन्दीको समेत व्यवस्था गरेको छ। नियमावलीमा विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दीलाई विशेष शिक्षक दरबन्दीमा रुपान्तरण गर्ने प्रावधान राखिएको छ। 

राष्ट्रिय कितावखाना (शिक्षक) मा विशेष दरबन्दीको रुपमा दर्ता हुने र शिक्षक सेवा आयोगको सिफारिशमा त्यस्तो दरबन्दीमा पदपूर्ति हुने व्यवस्था नियमावलीमा गरिएको छ। ‘विशेष शिक्षा परिषद्बाट स्वीकृत भएका शिक्षक दरबन्दी विशेष शिक्षक दरबन्दीमा रुपान्तरण हुनेछ,’ नियमावलीमा भनिएको छ।

दरबन्दी विशेष विद्यालय वा स्रोतकक्षा सञ्चालन भएको विद्यालयमा वितरण गरिनेछ। पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधासम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षक सरह हुने प्रावधान राखिएको छ। 

विशेष शिक्षा प्रदान गर्न सकिने दृष्टिविहीन, न्यूनदृष्टि, श्रवणविहीन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई विशेष शिक्षा प्रदान गर्न सकिनेछ। शिक्षा तथा खेलकुद मन्त्रालयले नियमावलीको उपनियम (२) बमोजिमको दरबन्दी विशेष विद्यालय वा स्रोतकक्षा सञ्चालन भएको विद्यालयमा वितरण गर्ने जनाएको छ।

‘उपनियम (२) बमोजिम पदपूर्ति भएका शिक्षकको नियुक्ति, सेवाको शर्त र सुविधासम्बन्धी व्यवस्था साधारण विद्यालयको स्थायी शिक्षक सरह हुनेछ,’ नियमावलीमा भनिएको छ।  

विशेष शिक्षा परिषद्बाट स्थायी नियुक्ति पाएर अविछिन्न सेवा गरी सेवावाट अलग हुने वा भईसकेका शिक्षकलाई उमेरको हद ६० वर्षमा नबढ्ने गरी एकमुष्ट सुविधा दिइने व्यवस्था गरिएको छ। पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब, दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब पाउने प्रावधान राखिएको छ। 

यस्तै १५ वर्षभन्दा बढी सेवा गरेको शिक्षकले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब पाउनेछन्। विशेष शिक्षकले साधारण शिक्षक सरह नै सञ्चित बिरामी बिदाको रकम पाउने व्यवस्था नियमावलीले गरेको छ। 

नियमावलीले यसको जिम्मा स्थानिय तहलाई दिएको छ। ‘स्थानीय तहले मापदण्ड निर्धारण गरी बौद्धिक अपाङ्गता, अटिज्म, श्रवणविहीन, दृष्टिविहीन, बहिरा जस्ता अपाङ्गताको प्रकृति र गाम्भिर्यता, भौगोलिक विषमता र दूरीका आधारमा स्रोत केन्द्र वा स्रोत कक्षाको सञ्चालन तथा व्यवस्थापन गर्न सक्नेछ,’ नियमावलीमा भनिएको छ। 

यस्तै  स्रोत केन्द्र वा स्रोत कक्षालाई स्थानीय तहको सिफारिशको आधारमा नेपाल सरकार वा प्रदेश सरकारले अनुदान उपलब्ध गराउन सक्नेछ, तर त्यसरी उपलब्ध गराउँदा दोहोरो नपर्ने गरी गर्नु पर्नेछ। सरकारले सातै प्रदेशमा अटिज्म भएका बालबालिका केन्द्रित आवासीय विद्यालय बनाउने योजना सहित नियमावलीको विशेष शिक्षकको दरबन्दी राखिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad