बाँके जिल्लामा कोरोना संक्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। जिल्लामा संक्रमण रोकिन सकेको छैन। जिल्लामा आज मात्र थप १६ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लाका आठ स्थानीय तहमध्ये आजसम्म छ स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन्। आज जिल्लाका चार स्थानीय तहका १६ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १७० पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार आज बाँकेका बैजनाथ गाउँपालिकामा ६, राप्तीसोनारी सात, डडुवामा दुई र खजुरामा एक जनामा संक्रमण देखिएको हो।
जिल्लामा नरैनापुर गाउँपालिका कोरोना संक्रमणको केन्द्रविन्दु बन्न पुगेको छ। नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११४ जनामा कोरोना संक्रमण फैलिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताए।
बाँकेका २२ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन्। आज थपिएकाहरुलाई सम्बन्धित स्थानीय तहमा निर्मित आइसोलेशन केन्द्रमा राखेर उपचार गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले जानकारी दिए।
मलेसियाबाट आउनेमा संक्रमण
रुकुम (पूर्व) जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन्। प्रदेश नं ५ को एक मात्र हिमाली जिल्ला रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकाका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गाउँपालिका वडा नं १३ का २३ वर्षीय पुरुष, वडा नं १४ की १५ वर्षीया किशोरी र १८ वर्षीय पुरुषमा आज दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रणको पुष्टि गरेको छ।
कोरोना परीक्षणका लागि जिल्लाभरबाट स्वाब संकलन गरिएका ५७ जनामध्ये तीन जनामा कोरोना पुष्टि भएको छ। अरुको रिपोर्ट भने नेगेटिभ आएको छ। कोरोना देखिएका २३ वर्षीय युवक गत चैत ६ गते मलेसियाबाट फर्किएका र अन्य दुई जना यही महिना बाराबाट फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनीहरु बारामा इँटाभट्टामा काम गरेर फर्किएका हुन्। कोरोना पुष्टि भएका दुई जना सिद्धमण्डली मावि राङ्सीको क्वारेन्टिन तथा मलेसियाबाट आएका युवा होम क्वारेन्टिनमा रहेका छन्।
ती युवकको गत वैशाख १२ गते आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गरिएको थियो। आरडिटीबाट उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम (पूर्व) का निमित्त कार्यालय प्रमुख यादव शर्माले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया