समाज


जेठा दाजु बितेको २ महिनामै कान्छो भाइ महेश पनि सिमखोलाको बाढीमा हराए

जेठा दाजु बितेको २ महिनामै कान्छो भाइ महेश पनि सिमखोलाको बाढीमा हराए

सिमखोलाको बाढीमा स्कुटरसहित बेपत्ता भएका महेकुमार कार्की


जनार्दन पोखरेल
असार ३१, २०८३ बुधबार १३:८, काठमाडौँ

ललितपुरको ग्वार्कोमा डेरा गरेर बस्ने २९ वर्षीय महेश कुमार कार्की गत सोमबार दिउँसो स्कुटर चढेर सर्लाही घर जाँदै थिए। 

पानी परिरहेकाले सडकमा पर्ने खोलानालामा बाढी आइरहेको थियो। रेनकोट ओडेर जसोतसो अघि बढ्दै गरेका महेश सवार स्कुटर मकवानपुरको इन्द्रसरोबर गाउँपालिका- २ सिमखोलाबाट अघि बढ्न सकेन। 

हेटौँडा-कुलेखानी- बल्खु आवत जावत गर्ने छोटो दुरीकाे यो सडकको सिमखोलामा पुल छैन। यात्रुले बर्खाको बेला बाढीमै सवारी हेलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ। 

सडकमै बगेको बाढीलाई छिचोल्दै अघि बढ्न खोजेका महेश स्कुटर सँगै बगे। सडकमा रहेका यात्रुले हेर्दा हेर्दै महेशलाई बाढीले छाँगाबाट तल झारेर बेपत्ता बनायो। 

घटनाको २४ घण्टापछि (मंगलबार दिउँसो) महेश सवार बागमती प्रदेश ०२- ०३२ प ८०५४ नम्बरको स्कुटर घटनास्थलबाट झण्डै एकसय मिटल तल दहमा भेटियो। तर, महेश अझै भेटिएका छैनन्। सोमबार साँझदेखि नै उनको खोजी कार्य भने चलिरहेको छ। 

सर्लाहीको बागमती नगरपालिका- १ पानी ट्यांकी चोक निवासी महेश काठमाडौँमा दाजु-भाउजू र बहिनीसँगै बस्थे। स्कुटरमा ‘राइड सेयरिङ’को काम गरेर जीविकोपार्जन गर्दै आएका उनी त्यो दिन अकस्मात किन घर हिँडेका थिए, खुलेको छैन। 

‘सोमबार बिहान हामीले सँगै खाना खाएका थियौँ। खाना खाएर दाजु काममा निस्कनु भएको हो,’ काठमाडौँमा दाजुसँग बसेर उच्च शिक्षा अध्ययन गरिरहेकी महेशकी बहिनी अन्जुले नेपालखबरसँग भनिन्, ‘खाना खाँदासम्म दाजु घर जाने कुरा थिएन। तर, सोमबार बिहान साढे ११ बजेतिर उहाँले मलाई फोन गरेर ‘नानी म घर जानुपर्ने भयो, बेलुका मलाई खाना नबनाउनु है भन्नु भयो। भोली नै म फर्किन्छु पनि भन्नु भएको थियो। तर, दाजु अझै सम्पर्कमा आउनु भएको छैन।’ 

महेश काठमाडौँमा स्कुटरमा ‘राइड सेयरिङ’सँगै चारचक्के (स्कर्पिओ) गाडी पनि चलाउँथे। तर, गाडी नियमित थिएन। सेवाग्राहीका आवश्यकताअनुसार उनलाई खबर आएपछि उनी गाडी लिएर गन्तव्यमा पुग्थे। प्रायः गाडीमा सर्लाही-काठमाडौँ आवत जावत गरिरहन्थे। 

‘त्यो दिन फोनमा उहाँले म स्कर्पिओमा इन्जिनियरहरूलाई लिएर सर्लाही जाँदैछु भन्नु भएको थियो,’ बहिनी अन्जुले भनिन्, ‘सधैँ ड्राइभिङमै रहने भएकाले हामीले पनि धेरै चासो राखेनौँ। जाने/आउने भइरहन्थ्यो। तर, उहाँ त्यो दिन स्कर्पिओ गाडीमा नभएर स्कुटरमा जानु भएको रहेछ। यो कुरा हामीलाई दाजु बेपत्ता भएपछि मात्रै जानकारी भयो।’

उनले सोमबार साँझ स्कुटरसहित चालकलाई कुलेखानी नजिकैको सिमखोलाको बाढीले बगाएर बेपत्ता बनाएको समाचार सुनिन्, पढिन्। आफू आवत जावत गरिरहने बाटो भएकाले अन्जुले त्यो घटनालाई पनि चासोमा राखेकी थिइन्। तर, स्कुटर नम्बर र बेपत्ता हुने चालकको नाम खुलेको थिएन। 

तर, दिउँसैदेखि महेशको नम्बरमा भने फोन लाग्न छाडेको थियो। साँझसम्म पनि फोन लागेन। ‘कुनै कारणले फोन नलागेको होला, दाजुले कल व्याक गर्ला’ भन्ने आश रातिसम्म गरेँ। तर, त्यो दिन दाजुको फोन आएन।’ 

मंगलबार बिहान प्रहरीले बाढीले छाँगाबाट झारेको स्कुटर र त्यसको धनीको नाम सार्वजनिक गर्दा भने अञ्जु आफैँ छाँगाबाट खसेजस्तो भइन्। 

‘मंगलबार बिहान प्रहरीले बाढीमा बेपत्ता भएको स्कुटर फेला पारेपछि मात्रै हिजो सिमखोलाको बाढीमा बेपत्ता हुने मान्छे हाम्रो दाजु रहेछ भन्ने जानकारी हामीलाई भयो,’ अन्जुले भनिन्, ‘प्रहरीले सार्वजनिक गरेको स्कुटर नम्बर र सवारी नम्बर दर्तामा रहेको नाम हेर्दा मात्रै बाढीले हाम्रो दाजु नै बेपत्ता भएको पुष्टि भएको हो।’

अञ्जुका जेठा दाजु राजेश कार्कीको दुई महिनाअघि मात्रै अकस्मात निधन भएको थियो। अहिले कान्छा दाजु महेश पनि बेपत्ता भएपछि कार्की परिवार थप मर्माहत भएका स्थानीय सरोज भुजेलले बताए। 

महेशका बुवा राजकुमार कार्कीसहितका आफन्त यतिबेला सुरक्षाकर्मीसँगै सिमखोलामा छन्। घटनास्थलमा महेशको खोजी चलिरहेको छ।

यतिबेला घटनास्थलमै रहेका महेशका भतिजा प्रमिस कार्कीले केहीबेरअघि भने, ‘हामी अहिले पनि घटनास्थलमै छौँ। खोजी भइरहेको छ। तर, काका भेटिनु भएको छैन।’

प्रहरीले प्रत्यक्षदर्शीका भनाई उद्धृत गर्दै जनाएअनुसार त्यो दिन सिमखोलामा आएको ठूलो बाढी छिचोल्दै चारचक्के गाडीहरू वारपार भइरहेका थिए। तर, धेरै मोटरसाइकल र स्कुटर चालकहरू भने बाढी घटेपछि खाेलापार गरौँला भनेर वारीपारी नै पर्खेर बसिरहेका थिए। 

तर, महेश भने हतारिएर टाटासुमोको पछिपछि लागेर बाढी छिचोल्न खोज्दा घटना भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad