समाज


८ हजार मिटर अग्लो हिमाल चढ्ने पहिलो आरोहीको नाममा नयाँ रुट

८ हजार मिटर अग्लो हिमाल चढ्ने पहिलो आरोहीको नाममा नयाँ रुट

नेपालखबर
जेठ २१, २०७७ बुधबार १०:३०,

फ्रान्सेली आरोही मोरिस हर्जोगले अन्नपूर्ण हिमालको सफलतापूर्वक आरोहण गरेको बुधबार ७० वर्ष पुगेको छ।

हर्जोग ८ हजार मिटर अग्लो हिमालको आरोहण गर्ने प्रथम व्यक्ति हुन्। दोस्रो विश्वयुद्धको विध्वसंले सारा संसार निराशामा रहेका बेला मानिसले प्राप्त गरेको यो उपलब्धीले ठूलै चर्चा कमाएको थियो।

धौलागिरी हिमाल आधा चढेर बीचमै यो अभियान परित्याग गरी उनी अन्नपूर्ण हिमाल चढेका थिए।

पछि उनी फ्रान्सको मन्त्री पनि भए। आरोहणको बारेमा उनले लेखेको पुस्तक ४० भन्दा बढी भाषामा अनुवाद भएको छ भने सन् २००० मै एक करोड प्रति बिक्री भएको थियो।

पर्यटन बोर्डले अन्नपूर्ण गाउँपालिका १ को नर्छयाङदेखि अन्नपूर्ण आधार शिवरसम्मको नयाँ ट्रेकिङ रुटलाई मोरिस हर्जोगको नाममा नामाकरण गरेको छ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले नयाँ ट्रेकिङ रुट यसै वर्षदेखि सञ्चालनमा आउने बताएका छन्।

‘नेपाल र नेपालको पर्यटन क्षेत्रका लागि यो ऐतिहासिक दिन हो,’ रेग्मीले भने।

उनी वि.सं. २००७ जेठ २१ गते दिउँसो २ बजे अन्नपूर्ण हिमालको शिखरमा पुगेका हुन्।

नेपालका लागि फ्रान्सेली राजदूत फ्राँस्वा जेभिएर लेगेले कोभिड–१९ को संकटका कारण यस अवसरमा वृहत कार्यक्रम आयोजना गर्न नसकेको बताए।

उनले नेपाली भरिया र गाइडहरुको सहयोगबिना आरोहण सफल नहुने भन्दै उनीहरुप्रति विशेष सम्मान प्रकट गरेका छन्।

को हुन मोरिस हर्गोज ? उनको सफल आरोहणले पारेको प्रभावको बारेमा उनको १००औं जन्मजयन्तीको अवसरमा २०७५ माघ १ गते नेपालखबरमा प्रकाशित लेख समेत यहाँ समावेश गरेका छौं।

 

जसले ६८ वर्षअघि नै विश्वलाई नेपालतिर आकर्षित गरे

मणि दाहाल

अघिल्लो साता नेपाल भ्रमणमा आएका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दो मोन्तानले नेपाली अधिकारीसँगको भेटवार्तामा ६८ वर्षअघिको एउटा चर्चित प्रसंग सम्झाए, फ्रान्स र नेपालको सम्बन्ध गाढा रहेको जनाउन।

अन्नपूर्ण हिमाल आरोही हर्जोगले नेपाललाई फ्रान्ससँग जोडेको स्मरण गर्दै उनले भने, ‘नेपालमा जस्तो अग्ला हिमाल फ्रान्समा छैनन् तर हर्जोग जस्ता साहसी आरोहीले नेपाल र फ्रान्सलाई जोडिरहेका छन्।’

पहिलो पटक नेपालको हिमाल आरोहण गर्ने र नेपाललाई ६८ वर्षअघि नै पूरै यूरोपमा चिनाउने तिनै मोरिस हर्जोगको आज, मंगलबार १०० औं जन्मदिन हो।

९३ वर्षको उमेरमा २९ मंसिर २०६९ मा मृत्यु भएका हर्जोग अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली टोली–नेता त थिए नै, उनले राखेको अर्को अग्लो कीर्तिमान चाहिँ अन्नपूर्ण आरोहण सम्बन्धी उनले लेखेको पुस्तक– ‘लान्नापूर्ना फर्मिय उइ मिल’, हो जुन एक करोड माथि बिक्री भएको एउटा दुर्लभ पुस्तक हो।

६० भन्दा बढी भाषामा प्रकाशित भैसकेको यो पुस्तक कुनै समय अमेरिकी बजारमा क्रिश्चियन धर्मग्रन्थ बाईबलभन्दा बढी बिक्री भएको थियो। १८ वर्षअघि सन् २००० सम्म यो पुस्तक १ करोड १० लाख प्रति बिक्री भैसकेको थियो, जुन संभवतः विश्वमा सबैभन्दा धेरै बिकेको नेपाल सम्बन्धी पुस्तक हो।
***
‘अन्नपूर्ण, जसमा हामी लगभग खाली हात भएका थियौं, एउटा मात्र खजाना थियो, जसको साथमा हामीले बाँकी जीवन जिउँनु पर्ने थियो। यो बोधसँगै हामीले पाना पल्टायौं, नयाँ जीवन शुरु भयो।’

फ्रान्सेली यी हिमाल आरोही हर्जोगले लेखेका माथिका शब्द जस्तै उनको टोलीले पहिलो पटक गरेको अन्नपूर्ण हिमाल आरोहणले विश्वमा नयाँ तरंग ल्याएको थियो, ६८ वर्षअघि।

२१ जेठ २००७ मा लुईस लास्नाससँगै हर्जोग ८ हजार मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोमा हिउँले खाएका खुट्टाका पाइला राख्न सफल भए। जसले सगरमाथा चुचुरोमा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पाइला राख्नु तीन वर्षअघि नै ८ हजार मिटर अग्ला हिमाल आरोहणमा खाता खोलेको थियो।

FrenchMountaineer withMohanShamsherउनलाई तक्मा दिँदै तत्कालिन श्री ३ महाराज मोहन शमसेर

सत्तरी वर्षअघिसम्म विश्वमा खोज्न र पुग्न बाँकी धैरै विषय र ठाउँ थिएनन्। मानिस पुग्न नसकेका केही ठाउँमध्ये ८ हजार मिटरभन्दा अग्ला शिखरहरु पनि थिए, जो धेरै नेपालमा पर्छन्।

‘शरीरले धान्न नसक्ने भएकाले आठ हजार मिटर उचाईका हिमाल चढ्नु हुँदैन भन्ने धारणा चिकित्सकहरुको थियो,’ हिमाली क्षेत्रका अध्येता विवेक पौडेल नेपालखबरसँग भन्छन्, ‘चिकित्सकको धारणालाई समेत जित्दै हर्जोग र उनका साथीले ८ हजार मिटर भन्दा अग्लो हिमाल आरोहण गरेका थिए।’

अन्नपूर्ण चढ्नुभन्दा अघि युरोप र दक्षिण अमेरिकातिरका चार हजार मिटर आसपासका हिमाल चढेका थिए उनले। भारतको सबैभन्दा अग्लो नन्दादेवी हिमाल पनि आरोहण गरेका थिए।

हिमालहरूको नापजाँच नभैसकेको र उचाई पत्ता लागिनसकेको एउटा यस्तो समय थियो, जतिबेला यति अग्ला शिखर हुन्छन् भन्ने सुन्दा मानिसलाई आश्चर्य लाग्थ्यो।

‘सन् १८०० मा यूरोपेलीहरूले पहिलोपटक हिमालय पर्वतहरू यति अग्ला छन् भन्ने पत्तो पाउन थाले। भारत, नेपालको तराई र अन्य भागमा लुकेर यन्त्रहरू प्रयोग गरी शुरुमा उनीहरूले धौलागिरी पर्वतको उचाई नापे’, पौडेल भन्छन्, ‘त्यतिबेला धौलागिरीको ८ हजार १ सय ६७ मिटर उचाई सुनेर पश्चिममा धेरैले उचाई नाप्नेहरूलाई बहुलाएको भन्थे। त्यति अग्लो ठाउँ पनि हुन्छ र भन्ने मानिसको मनमा उब्जिएको थियो।’

हिमालको उचाई सम्बन्धी जिज्ञासा र ८ हजार मिटरभन्दा माथि जाँदा शरीरले धान्दैन भन्ने दुबै मान्यता त्यसबेला ढल्यो जब हर्जोग र लास्नासले अन्नपूर्णको सफल आरोहण गरे।

‘हामीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि, फ्रान्सेलीहरु ८ हजार मिटरभन्दा अग्लो हिमालमा गए र फ्रान्सेली झण्डा फहराए। उनीहरूले त्यत्रो हिमाल कसरी चढे, उनीहरुको को हुन भनेर विश्वभर हल्लीखल्ली मच्चियो’, हर्जोगले हाल फ्रान्समै रहेका लेखक ददि सापकोटासँग ‘त्यो नेपाल’ पुस्तकमा भनेका छन्, ‘नेपालमा अग्ला हिमाल पनि चढ्न सकिने रहेछ भनेर संसारभरका मानिसको आँखा खुल्यो।’

त्यसबेलासम्म कसैले चढ्ने आँट नगरेको हिमाल चढ्न फ्रन्सेली नै किन अग्रसर भए तरु यो प्रश्न धेरैको मनमा सायद अहिले पनि उठ्छ।

खासमा युरोपेली साम्राज्यवादी शक्तिहरुबीच नयाँ ठाउँ पुग्ने र कसैले नगरेको काम गर्ने एक प्रकारको होड थियो त्यसबेला। त्यसै क्रममा बेलायत, फ्रान्स, इटली र अन्य युरोपेली देशका नागरिकबीच हिमाल चढ्ने प्रतिस्पर्धा चल्यो।

एक एक वटा हिमालमाथि उनीहरूले आफ्नो वर्चश्वको दावी गर्न थाले। सर्वोच्च शिखर सगरमाथामा बेलायती, पाकिस्तानमा पर्ने दोस्रो अग्लो हिमाल के टुमा इटली, धौलागिरी र अन्नपूर्णमा फ्रान्सेलीले आफ्नो वर्चश्व स्थापित गर्न खोजे।

सगरमाथा आरोहण गर्ने बेलायतीको प्रयास कम्तिमा एक दर्जन पटक असफल भयो। सन् १९२४ मै बेलायती नागरिक जर्ज मेलोरी सगरमाथा शिखर नजिकै पुगे।

आरोहणकै क्रममा उनको मृत्यु भएपछि शिखर चुम्न असफल रहे। हर्गोजले नेतृत्व गरेको फ्रान्सेली टोलीले ८ हजार मिटर अग्लो हिमाल चढ्ने त्यो प्रतिस्पर्धामा बाजी मार्यो। हर्जोगले अन्नपूर्ण आरोहण गरेको तीन वर्षपछि मात्रै बेलायती सर एडमण्ड हिलारी र नेपाली तेन्जिङ नोर्गे शर्पा सगरमाथाको शिखरमा पुग्न सफल भए।

‘पर्वतारोहण पनि उपनिवेशवादी र साम्राज्यवादी अभियानकै एउटा अङ्ग थियो, पश्चिमा देशहरूले आफ्नो औपनिवेशिक राष्ट्रवादको झण्डा उँचो पारिराख्न यस्ता आरोहणको निकै प्रयोग गरे’, हाल स्वीट्जरल्याण्डमा रहेका पौडेल भन्छन्, ‘कुनै देशका नागरिक अग्ला हिमाल वा कुनै नयाँ ठाउँ पुग्न सफल हुँदा त्यो देशमा त्यसलाई गर्व र पर्वका रुपमा उल्लास मनाइन्थ्यो।’

अन्नपूर्ण हिमाल आरोहण गरेर फर्केको फ्रान्सेली टोलीलाई स्वागत गर्न पेरिसका सडकमा मानिसहरू निस्किए। सरकारले सार्वजनिक बिदा नै घोषणा गर्यो। हर्गोज र उनको टोलीलाई ठूलो सम्मान दिइयो। सापकोटा भन्छन्, ‘पेरिसमा सडकको दुबैैतर्फ बसेर मानिसहरूले आरोहीको स्वागत गरेका थिए।’

FrenchMountaineer withMohanShamsher 1

शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा यति बढेको थियो कि त्यसबेला बेलायती, अमेरिकी र फ्रान्सेलीबीच को भन्दा को बढी साहसी भन्ने होड थियो।

‘बेलायती र अमेरीकिले भारतको नन्दादेवी हिमाल चढेपछि आरोहणमा उनीहरू उत्कृष्ठ जस्ता देखिए। केही बर्षपछि नै फ्रान्सेली अन्नपूर्ण चढे र बेलायतीलाई जिते’, पौडेलको विश्लेषण छ, ‘नेपालका हिमालमा शक्ति राष्ट्रहरूको लडाईं जारी नै रह्यो, फ्रान्सेलीले अन्नपूर्ण चढेको तीन बर्षपछि फेरि सगरमाथाको शिखरमा पाइला राखेर बेलायती अगाडि आए।’

त्यसो त हर्जोगको पहिलो प्राथमिकता सगरमाथा चढ्ने नै थियो। बेलायतीहरुकै आग्रहमा उनको फ्रान्सेली टोली अन्नपूर्ण चढेको थियो। हर्जोगले एडमण्ड हिलारी र जर्ज हन्टको आग्रहपछि सगरमाथा छाडेर आफुले अन्नपूर्ण रोजेको बताएका छन्।

‘बेलायती जर्ज हन्ट र एडमण्ड हिलारी मेरा साथी नै थिए। उनीहरुले तिब्बती मोहडाबाट पटक पटक सगरमाथा चढ्ने कोशिश ग¥यौं तर सकेनौं, अझै एक पटक हाम्रा लागि छाडिदिनोस् भने’, ददि सापकोटाको पुस्तकमा 'त्यो नेपाल'मा उनले भनेका छन्, ‘त्यसोभए तपाईंहरुलाई एक पटक मौका भयो, तपाईंहरुले नसके अर्को पटक हामी चढ्छौं भनेर छोडिदियौं।’

हर्जोगले ‘सगरमाथा चढ्न गएको भए बेलायतीलाई धोका दिएको जस्तो हुन्थ्यो’ भन्दै ‘त्यसपछि आफ्नो टोली अन्नपूर्णतिर लागेको’ बताएका छन्।

हर्जोग र लास्नासको अन्नपूर्ण आरोहणलाई तीन बर्षपछि नै तेन्जिङ र हिलारीको सागरमाथा आरोहणले ओझेलमा पारेपनि अन्नपूर्ण आरोहणमाथि उनले लेखेको पुस्तक भने अहिले पनि उत्तिकै चर्चित रहेको छ।

हर्जोगले अन्नपूर्ण आरोहणपछि तीन वटा पुस्तक लेखे तर सन् १९५१ मा पेरिसमा उपचार गराउन अस्पतालमा बस्दा लेखेको पुस्तक ‘लान्नापूर्ना फर्मिय उइ मिल’ चाहिँ बढी प्रसिद्ध भयो। ६० बढी भाषामा प्रकाशित यो पुस्तकले अमेरिकी बजारमा आएको छ महिनासम्म त क्रिश्चियन धर्मग्रन्थ बाईबललाई पनि उछिन्यो।

‘संसारमा सबैभन्दा बढी बिक्री भएको पुस्तक बाईबल हो तर सन् १९५१–५२ मा मेरो त्यो पुस्तक निस्केको छ महिनासम्म त अमेरिकामा बाईबलभन्दा बढी बिक्री भएछ’, हर्जोगले भनेका थिए।

न्यूयोर्क टाइम्सका अनुसार सन् २००० सम्म यो पुस्तक एक करोड १० लाख प्रति बिक्री भैसकेको थियो। नेसनल जियोेग्राफिक एन्डभेन्चर म्यागेजिनले यसलाई ‘पर्वतारोहणको विषयमा लेखिएको सबैभन्दा प्रभावशाली पुस्तक’ भनेको छ। स्पोट्र्स इलुस्टेसनले खेलकुद सम्बन्धी चर्चित एक सय पुस्तकमध्ये यसलाई ७७ औं स्थानमा राखेको छ।

फ्रान्समा १६–१७ बर्षका विद्यार्थीको पाठ्यसामाग्रीमा राखिएको यो पुस्तक पर्वतारोहणको क्षेत्रमा सन्दर्भ सामाग्रीका रुपमा प्रयोग गरिन्छ। सापकोटाले हर्जोगले ‘आफूले चाहेको जस्तो हुने भए मुस्ताङको लेतेमा मर्न पाए हुन्थ्यो’ भनेको सम्झन्छन्। जसबाट उनी हिमाल र हिमाली क्षेत्रप्रति कति धेरै लगाव राख्थे भन्ने बुझ्न सकिन्छ।

१९१९ जनवरी १५ मा फ्रान्सको लियोमा जन्मेका हर्जोग ८ दाजुभाई दिदीबहिनी मध्ये सबैभन्दा जेठा थिए। अन्नपूर्ण आरोहणमा आउनुअघि उनले युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ आरोहण गरिसकेका थिए। र, राजधानी पेरिसका नाम चलेका व्यापारी थिए। हिमाल आरोहणका लागि नेपाल आउँदा ३१ बर्षीय हर्जोग नौ सदस्यीय फ्रान्सेली टोलीका सबैभन्दा पाका सदस्य थिए।

कपडादेखि खानेकुरासहित हर्जोगको टोली फ्रान्सबाट तीन दिन लगाएर विमानमा दिल्ली आइपुगेको थियो। दिल्लीबाट नेपालको सीमासम्म मोटरमा र त्यसपछि २ सय ५० जना भरियालाई सामान बोकाएर कालीगण्डकी किनारै किनार तीन सातामा मुस्ताङको टुकुचे पुगेको थियो।

खासमा उनीहरुका ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल चढ्ने लक्ष्यसहित नेपाल आएका थिए। तर तीन सातासम्म प्रयास गर्दा पनि धौलागिरी उक्लन सकेनन्। एक जना बौद्ध लामाले धौलागिरी ‘शुभ’ नभएको सुझाव दिएपछि उनीहरूले पूर्वतर्फको अन्नपूर्ण हिमाल आरोहण गरे। ‘मनसुन शुरु हुन लागेको थियो, के गर्ने भन्ने अन्यौलबीच उनीहरूले अन्नपूर्ण हिमाल आरोहण गरे’, बेलायतको इन्डिपेन्डेन्ट पत्रिकाले लखेको छ।

हर्जोग हिमाल आरोहणमा कति दत्तचित्त थिए भने, त्यसैका लागि उनी विवाह समेत नगरी बसेका थिए। ‘अन्नपूर्ण हिमाल चढ्ने बेलामा मेरो उमेर ३१ वर्षको थियो, टोलीको सबैभन्दा पाको मै थिएँ’, उनले भनेका छन्, ‘हुनत फ्रान्सेली युवाका लागि त्यो विवाह भैसक्ने उमेर थियो तर मैले खतरापूर्ण आरोहणमा जाँदा जे पनि हुनसक्ने भएकाले अरुको जीवनलाई किन बर्बाद गर्ने भनेर विवाह नगरी बसेको थिएँ।’

आरोहणबाट उनी जीवित नै फर्के तर हिउँले खाएर उनको कुर्कुच्चाको अलिकति भाग मात्रै बाँकी रह्यो। र, जीवनभर अपाङ्ग बने। दुवै हातका औंला पनि हिउँले खाएका उनले भारत र फ्रान्समा उपचार गराए। पेरिसको अमेरिकी अस्पतालमा उपचार चल्दै गर्दा उनले त्यो प्रसिद्ध पुस्तक लेखे।

हिमाल आरोहणपछि प्रसिद्ध बनेका पेरिसका यी व्यापारी लेखन मात्रै होइन, राजनीतिमा पनि जमे। फ्रान्समा १७ वर्ष सांसद र सामोनी नगरको मेयर भएका हर्जोग २५ वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य रहे। अनि आठ वर्षसम्म युवा तथा खेलकुद मन्त्री भए। फ्रान्सका तत्कालीन राष्ट्रपति चाल्र्स द गोलले हर्जोगलाई हिमाल आरोहणको साहसबारे युवाहरुलाई बताउन मन्त्री बनाएका थिए। सन् १९६० को रोम ओलम्पिकमा फ्रान्सको कमजोर प्रदर्शनपछि युवाहरुलाई खेलप्रति आकर्षित गर्न राष्ट्रपति गोलले उनलाई मन्त्री बनाएको बताइएको थियो।

अन्नपूर्ण आरोहणपछि तीस पटक भन्दा बढी नेपाल आएका हर्गोजले फ्रान्समा आफुसँग भेट्न आउनेहरूलाई हिमाल आरोहणपछि नेपालमा प्राप्त गरेको गोर्खा क्रस तक्मा देखाउने गरेका थिए। जुन तक्मा हर्जोगलाई काठमाडौंमा बोलाएर सिंहदरवारमा विशेष कार्यक्रम नै आयोजना गरी तत्कालीन श्री ३ मोहन शम्मेरले दिएका थिए।

हर्जोग हिमाल आरोहणको प्रभाव अहिले पनि फ्रान्समा छ। ‘हर्जोगकै सफलताले गर्दा फ्रान्समा अन्नपूर्ण ब्राण्ड निकै चलेको छ’, सापकोटा भन्छन्, ‘टोपी, टिसर्टदेखि हिमाल चढ्ने उपकरणहरुमा समेत अन्नपूर्ण ब्राण्ड निकै चलेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad