गेटमा ज्वरो नाप, हात धुने स्थान, मुखमा मास्क, भौतिक दूरीको व्यवस्था, ठाउँ ठाउँमा सेनिटाइजर र संक्रमणको आशंका हुनासाथ चाहेका बेला पीसीआर परीक्षण।
कोरोनाभाइरसबाट बच्न नेपालका उच्च निकायहरु, मन्त्रालय तथा त्यहाँ रहेका उच्च पदस्थ व्यक्तिहरुका लागि अपनाइने उपाय हुन, यी।
संघीय संसद, प्रधानमन्त्री निवास बालुवाटार, सिंहदरबार तथा मन्त्रालयहरुजस्ता देशका उच्च निकायमा अत्यधिक सावधानी अपनाएकै कारण नेपालमा उच्च तहका व्यक्तिमा हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन।
प्रतिनिधि सभा तथा राष्ट्रियसभाका सांसद तथा कर्मचारीहरुले जारी संसद अधिवेशन सुरु गर्दा कुनै लक्षण नदेखिए पनि पीसीआर परीक्षण गराएका थिए।
कडाइका साथ लकडाउन लागु भएका बेला काठमाडौं नछाडेका सांसद, तिनका सहयोगी, सुरक्षाकर्मी, कर्मचारी सबैको परीक्षण गरिएको थियो। संसदमा जोखिम क्षेत्रबाट आएका संसदहरुको त दोहोर्याएर परीक्षण हुने गरेको छ।
कोरोनाकै जोखिम ध्यानमा राख्दै संसद सञ्चालनका लागि सचिवालयले दुरी कायम गरि बैठकको सिट तथा हल व्यवस्थापन गरेको छ।
ज्वरो नाप्नका लागि थर्मल गन, पीपीईसहितका स्वास्थ्यकर्मीको व्यवस्था, संसद तथा कर्मचारीका लागि एन–९५ तथा सर्जिकल मास्क, सेनिटाइजर, साबुन तथा डिसइन्फेक्सन (निसंक्रमण) लगायतका सुरक्षा सामग्रीको व्यवस्थापन गरेको छ।
संघीय सांसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड अनुसार संसदमा सुरक्षाको उपाय अपनाइएको बताए।
‘सुरक्षा मापदण्डका आधारमा हामीले सभा सञ्चालनको व्यवस्था गरेका छौं,’ उनले भने, ‘मापदण्डका आधारमा मास्क लगाउने, दुरी कायम गर्ने, सेनिटाइजर लगाउने, साबुन पानीको व्यवस्था गर्ने लगायत सबै कुराहरु कडाइका साथ लागु गरिएको छ।’
सभा सञ्चालन हुँदा बानेश्वरस्थित संसद भवनको सभाहल बाहिर एम्बुलेन्स तयारी अवस्थामा रहेको हुन्छ। पीसीआर परीक्षण नगरिकन सभामा कुनै सांसदले प्रवेश पाउँदैनन्।
पाण्डेले सभा सञ्चालनको अवधिका लागि छुट्टै स्वास्थ्य यूनिटको पनि व्यवस्था भएको जनाए। यति लामो समय सभा सञ्चालन गर्दा कुनै कोरोनाजन्य समस्या नदेखिएकोमा उनले खुशी व्यक्त गरे।
संसदको सभाहल प्रवेश गर्नुअघि हात धुँदै सांसद।
१४ सांसदको दोहोर्याएर परीक्षण
जोखिमलाई मध्यनजर राख्दै कोरोनाविरुद्ध मुख्य नेतृत्व गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकारलाई समेत कडाइका साथ जाँच गरेर मात्र प्रवेश दिइन्छ, ज्वरो नापिन्छ, हात धुने व्यवस्थापन गरिएको छ।
तराईमा कट्याक्ट ट्रेसिङमा खटिएका एक चिकित्सकलाई कोरोना संक्रमण भेटिएको र उनी मन्त्रालयको बैठकमा सहभागी भएको भेटिएपछि मन्त्रालयका कर्मचारीहरुको पनि पीसीआर परीक्षण गरिएको थियो।
एकपटक संसद भवन प्रवेश गर्दा र अर्कोपटक मन्त्रालयका कर्मचारीहरुसँगै गरी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि दुई पटक पीसीआर परीक्षण गरिसकेका छन।
उनका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार मन्त्री ढकालले अत्यावश्यक बाहेक भेटघाटमा नियन्त्रण गरेका छन।
‘मन्त्रालयमा हेल्थ डेस्क छ। ज्वरो नापिन्छ। हात धुने व्यवस्था पनि गरिएको छ,’ मन्त्रीको कोरोनाविरुद्धको सावधानीबारे बताउँदै उनले भने, ‘तर मन्त्रीले बिभिन्न छलफल, बैठक गर्नैपर्ने हुन्छ। सामाजिक दूरी कायम राख्दै एकदमै नियन्त्रितरुपमा मात्र बैठकमा सहभागी हुनुहुन्छ।’
बैशाख २६ गते संसद सुरु हुनुअघि पीसीआर परीक्षण गराउँदा संक्रमण नदेखिएका सांसद प्रदीप यादवले पुनः जेठ १ गते पीसीआर परीक्षण गराएका थिए। त्यसमा पनि उनको रिजल्ट नेगेटिभ आयो।
उनीसँगै १४ जना संसदले दोहोर्याएर परीक्षण गरिसकेको संसद सचिवालयका प्रवक्ता पाण्डेले बताए। ‘संसदहरु बाहिर जादा आवश्यक परामर्शसहित सुरक्षा सावधानी अपनाएर पठाउछौं,’ उनले भने, ‘बाहिर गएर सभाका लागि अनुरोध गर्ने संसद ज्यूहरुको दोहोरो परीक्षण गर्ने गरेका छौं। हालसम्म १४ जना सदस्यहरुको दोहोर्याएर परीक्षण गर्यौं।’
महोत्तरीको सम्सी गाउँपालिकास्थित क्वारेन्टिन।
जनता तहमा न सुरक्षा सावधानी, न परीक्षण
उच्च तहमा कोरोना नियन्त्रण तथा रोकथाममा विशेष सावधानी अपनाउनुका साथै पहुँचवालाले दोहोरो परीक्षण गर्न भ्याइसक्दा क्वारेन्टिनमा बसेका जनताहरुले भने एकपटक पनि परीक्षण गर्न नपाउँदा आन्दोलन गर्नुपर्ने अवस्था आएको छ।
दैलेख, कैलाली, बर्दियालगायत स्थानमा क्वारेन्टिनमा बसेकाहरु परीक्षणको माग गर्दै आन्दोलनमै निस्केका छन।
जेठ अन्तिममा दैलेखको सदरमुकामस्थित नारायण नगरपालिका–१ को त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितहरु नै आन्दोलनमा उत्रिएका थिए। यसरी आन्दोलनमा उत्रिएका माथि प्रहरीले लाठी चार्ज गर्दा चारजना घाइते भएका थिए।
भारतका बिभिन्न ठाउँबाट सीमा नाकामा आइपुगेका नेपालीहरु आफ्नै देशमा प्रवेश गर्न नपाएपछि नाकामा तीन हप्ताजति विचल्लिमा परेका थिए।
त्यसपछि देशभित्र प्रवेश पाएपछि पनि क्वारेन्टिनमा राखिएका उनीहरुले आधारभूत सुविधा पनि नपाएको र परीक्षणको रिपोर्ट पनि तीन हप्तासम्म पनि नआएपछि बिभिन्न उनीहरु आन्दोलित भएका हुन्।
यता संसदमा भने एकैदिन साढे ४ सय जनाको परीक्षण गर्दा उनीहरु सबैको नतिजा २४ घन्टाभित्रै आएको थियो।
दैलेख जस्तै देशभर अधिकांश क्वारेन्टिनमा ज्वरो नाप, हात धुने स्थान, मुखमा मास्क, भौतिक दूरीको व्यवस्था, सेनिटाइजरलगायतको पर्याप्त व्यवस्था छैन। मृत्युपछि मात्रै कोरोना रिपोर्ट आउने, कतिपयले उपचारै नपाउने भएपछि काठमाडौं लगायत बिभिन्न जिल्लाका युवाहरुले ‘इनफ इज इफ’ (अब त अती भो) भन्ने आन्दोलन गरिरहेका छन।
जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले जसरी उच्च निकायमा उच्च सतर्कता अपनाइएको छ, जनतास्तरमा पनि त्यस्तै व्यवस्थापन हुनुपर्नेमा जोड दिए।
‘हाम्रा प्रायः शीर्ष नेताहरु ६० वर्ष उमेर कटेका छन। प्रधानमन्त्री लगायत प्रायः नेताहरुमा दीर्घरोग पनि छ। उहाँहरुले मास्क लगाउने, दूरी कायम गर्ने गर्नुभएको छ। उहाँहरु जाने स्थानमा सुरक्षाका उपाय अपनाइएका पनि छन,’ दीक्षितले भने, ‘उच्चतहका नेताहरुजस्तै आम नागरिकलाई पनि त्यस्तै व्यवहार हुनुपथ्र्यो। उहाँहरुले जस्तै क्वारेन्टिनमा बसेका सबैजनालाई कम्तिमा मास्क तथा पीसीआर परीक्षण हुनुपर्थ्याे।’
उनले जनतालाई एकपटक पनि परीक्षण नगरेर घर पठाउने तर पहुँचका आधारमा परीक्षण गर्नु सरासर गलत र अपराध भएको बताए।

प्रतिक्रिया