समाज


लकडाउन अवधिको समेत शुल्क उठाएको विरोधमा अनेरास्ववियूले पठायो प्याब्सनको खातामा १४७ रुपैयाँ

लकडाउन अवधिको समेत शुल्क उठाएको विरोधमा अनेरास्ववियूले पठायो प्याब्सनको खातामा १४७ रुपैयाँ

नेपालखबर
असार ९, २०७७ मंगलबार ११:२५,

निजी तथा आवसीय विद्यालय संगठन (प्याब्सन) ले कोरोानको महामारीका कारण विद्यालय बन्द रहेको अवधिको समेत शुल्क उठाएको भन्दै सत्तारुढ दलकै विद्यार्थी विरोधमा उत्रिएका छन्।

मंगलबार पोखराको महेन्द्रपुलमा सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूका नेताहरुले सर्वसाधरणबाट पैसा उठाएर प्याब्सन केन्द्रको खाता नम्बर ००१००६०२६६१७५ मा १४७ रुपैयाँ जम्मा गरेका हुन्।

प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै कोरोनाको माहामारीका कारण निजी विद्यालय पनि संकटमा रहेको भन्दै विद्यार्थी भर्ना गर्न, पुरानो र नयाँ शुल्क समेत तिर्न अभिभावकलाई आह्वान गरेको थियो।

कोरोनाको महामारीका कारण गत चैत ६ गतेदेखि सम्पूर्ण विद्यालयहरु बन्द रहेको र प्याब्सनले सोही अवधिको समेत शुल्क तिर्न आह्वान गरेपछि आन्दोलनमा उत्रिनु परेको अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटाले बताए।

उनले निजी विद्यालयले यसअघि असुलेको नाफा रकम अहिले संकटको बेला खर्च गर्नुपर्नेमा माहामारीका कारण अफ्ठ्यारोमा परेका अभिभावक र विद्यार्थीहरुलाई थप मारमा पार्नेगरी निर्णय गरेकाले विरोधमा उत्रिनु परेको बताए।

‘कोरोनाको महामारी रोक्नथामका लागि लगाइएको लकडाउनका कारण अभिभावक र विद्यार्थी मारमा परेका छन्, यस्तो बेला शुल्कको कुरा गर्नु उपयुक्त छैन’, नेता सापकोटाले नेपालखबरसँग भने, ‘निजी विद्यालयहरुले यसअघि लुटेको सम्पूर्ण रकम संकटका बेला खर्च गर्नुपर्छ।’

उनले संकटका बेला पनि निजी विद्यालयहरुले असुली धन्दा नछाड्ने हो भने आफूहरुले यसअघि अभिभावकसँग विभिन्न बहानामा लिएका सबै शुलकको हिसाब खोज्ने बताए। ‘निजी विद्यालयले विभिन्न बहानामा अभिभावक र विद्यार्थीलाई लुट्दै आएका छन्, यस्तो संकटको बेला पनि लुटको धन्दा नरोक्ने हो भने हामी यसअघि लिएको शुल्कको पनि हिसाब खोज्छौँ।’

उनले अभिभावकहरुलाई निजी विद्यालयको आग्रह बमोजिम नपाढाएको अवधिको शुल्क नतिर्न समेत आग्रह गरे। ‘विद्यालय खुलेकै छैन, पठनपाठन सञ्चालन भएकै छै, यस्तो बेला पनि शुल्क उठाउन खोज्ने?’, उनले भने, ‘हामी पीडित अभिभावक र विद्यार्थीका पक्षमा छौँ, स्कुल खुलेपछिको मात्रै शुल्क तिर्न आग्रह गरेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .