समाज


पेटभित्रै बच्चा मरेर जोखिममा परेकी युवतीको हेलिकोप्टरमार्फत् उद्धार

पेटभित्रै बच्चा मरेर जोखिममा परेकी युवतीको हेलिकोप्टरमार्फत् उद्धार

नेपालखबर
असार १०, २०७७ बुधबार ४:१५,

खोटाङमा पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी एक युवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।

जिल्लाको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।

उनी सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी थिइन्। तर, स्वास्थ्यकर्मीले मन्दिराको गर्भमा रहेको बच्चा पेटभित्रै मरेको भन्दै थप उपचारका लागि काठमाडौं रिफर गरेका थिए।

सुत्केरी व्याथाले च्यापेर सिकिस्त बिरामी बनेकी मन्दिराको रक्तस्रावसमेत नरोकिएपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा.नारायण बरालले बताए।

‘सोमबार राति अबेर अस्पताल ल्याइएकी मन्दिराको बाटैमा पेटभित्र रहेको बच्चा मरिसकेको अनुमान गरेका छौँ,’ उनले भने, ‘ढिलोगरी अस्पताल ल्याइएकी मन्दिराको रक्तस्राव भइरहेकाले आमाको समेत ज्यान जोखिममा पर्नेहुँदा थप उपचारका लागि काठमाडौँको थापाथलीस्थित प्रसूतिगृह रिफर गरेका हौं।’

दोस्रो पटक गर्भवती भएकी मन्दिरालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत ग्राण्डी अस्पतालको हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो। कलिलै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी मन्दिराको तीन वर्षीय छोरा छन्।

मन्दिराको उद्धार, उपचारलगायत सबै खर्च राष्ट्रपति महिला उत्थान कार्यक्रमले व्यहोर्ने सांसद विशाल भट्टराईले बताए। ‘मौसम प्रतिकूलताका बाबजुद मन्दिरालाई हेलिकोप्टरमार्फत उद्धार गर्न सफल भइएको छ’, उनले भने, ‘काठमाडौँ अवतरण हुनासाथ अस्पताल भर्ना गरेर उपचार शुरु गरिएकी मन्दिराको स्वास्थ्यमा समेत क्रमिक सुधार भइरहेको छ।’

केही दिनदेखि लगातार परिरहेको वर्षा र बाक्लो हुस्सुका कारण समयमा हेलिकोप्टर अवतरण गर्न नसक्दा सुत्केरीको उद्धारमा ढिलाइ भएको थियो। राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत मन्दिरासँगै हालसम्म जिल्लाका चार जना सुत्केरीको हेलिकोप्तरमार्फत उद्धार गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad