समाज


डोजरले जथाभावी खनेका ग्रामिण सडक लगातारको वर्षाले बिजोग

डोजरले जथाभावी खनेका ग्रामिण सडक लगातारको वर्षाले बिजोग

नेपालखबर
असार २१, २०७७ आइतबार ९:५४,

दुई दिनदेखिको लगातारको भारी वर्षात्का कारण जिल्लाका ग्रामीण क्षेत्रको आवतजावत रोकिएको छ। वर्सात्ले सडक हिलाम्मे हुनाका साथै ठाउँठाउँमा पहिरो आएपछि सवारीसाधन सञ्चालनमा अवरोध उत्पन्न भएको छ। जिल्लाका मौवा, मेल्लेक, केआइसिंह, वाइल, कपल्लेकी, गड्सेरा, मुभारा धुर्कोट र चवराचौतारा सडक अवरुद्ध भएका छन्।

जथाभावी डोजर प्रयोग गरेर खनिएका जिल्लाका ग्रामीण सडकमा दुई दिनदेखि परेको वर्षासँगै सवारीसाधन गुड्न सकेका छैनन्। वर्षा शुरु हुनासाथ पहिरो खस्ने र यातायात सञ्चालनमा समस्या आउने गरेको चालक बताउँछन्। गाउँपालिका, वडा कार्यालय, जिल्ला समन्वय समिति र निर्वाचन पूर्वाधार क्षेत्र विकासको रकमले यहाँका ग्रामीण भेगका उपभोक्ता समितिमार्फत मनपरी सडक खनिएका सडकमा पहिरो आउँदा अवरुद्ध बनेको कपल्लेका स्थानीयवासी रतन ऐरले जानकारी दिए।

सडक ग्रेड नमिल्ने गरी साँघुरो खनिएको स्थानीयवासीको आरोप छ। यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउनै नमिल्ने गरी बिग्रिएको सायल गाउँपालिका डौड–१ का डिलबहादुर सिंहले बताए।

उनले भने, ‘उपभोक्ता समितिले मनपरी ढंगले काटेका सडक बेकाम भएका छन्, सवारीसाधन त के मान्छे हिँड्नसमेत मुश्किल पर्न थालेको छ।’

यहाँका अधिकांश ग्रामीण कच्ची सडकमा हिउँदको ६ महिना मात्र सवारीसाधन सञ्चालन गर्न मिल्छ।

हल्का वर्षा शुरु हुनासाथ ग्रामीण भेगको यात्रा पैदलमय हुने शैलेश्वरी यातायात व्यवसायी समितिका दिपायलका प्रमुख प्रेमबहादुर रावलले बताए।

उनले भने, ‘बाटो लैजाने नाममा जथाभाबी डोजर लगाएर खनेका सडकमा पानी परेपछि पहिरो खस्ने, हिलाम्मे हुन्छन्, गाडी हाल्ने बित्तिकै दुर्घटना भइहाल्छ।’

यहाँका अधिकांश ग्रामीण सडकमा सवारीसाधन चलाउन अति जोखिम छ। विनामापदण्डका ग्रामीण सडकमा ठूल्ठूला दर्जनौँ सवारी दुर्घटना हुँदासमेत स्तरोन्नतिका लागि खासै पहल हुन नसकेको स्थानीयवासीको आरोप छ।

बजेट विनियोजन भएका ग्रामीण सडकमा समेत सरकारले रकम निकासा नदिँदा यहाँका ग्रामीण सडकको अवस्था जस्ताको तस्तै रहेको बोगटान फुड्सिल गाउँपालिकाका कांग्रेस नेता खडकबहादुर बोहराले बताए।

उनले भने, ‘सरकारीस्तरबाट विनियोजन भएको रकम निकासा नदिँदा सडकको दुरवस्था छ, ग्रामीण सडकको स्तरोन्नति गर्ने हो भने पर्याप्त बजेट आउनुपर्छ।’

जिल्ला समन्वय समिति, वडा कार्यालय र निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु १० करोडभन्दा बढी खर्च यी सडकमा हुने गरेको छ। ती सडक प्राविधिकको वर्गीकरणमा ‘घ’ वर्ग र अति जोखिममा परेका छन्। वर्षा शुरु भएसँगै जिल्लाका ग्रामीण भेगका अधिकांश सडकमा सवारीसाधन गुड्न सकेका छैनन्। ग्रामीण सडक बन्द हुँदा उपचारका लागि आउने बिरामीका साथै सुत्केरीले दुःख पाउनुपरेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका रोजबहादुर कलेलले बताए।

उनले भने, ‘गाडीमा चढेको बानीले हिँड्न गाह्रो हुन्छ, गाउँघरमा कोही बिरामी प-यो कि बोक्न समस्या हुन्छ।’

डोटीका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु¥याउने होडबाजी चलेको छ। विगतमा नेताहरुले जनतासँग सडक पु¥याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु¥याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad