समाज


वैज्ञानिकले ‘हावामै कोरोना उडिरहेको’ भनेपछि अध्ययन गर्दै डब्लूएचओ

वैज्ञानिकले ‘हावामै कोरोना उडिरहेको’ भनेपछि अध्ययन गर्दै डब्लूएचओ

नेपालखबर
असार २३, २०७७ मंगलबार १५:४६,

बत्तीस देशका २ सय ३९ वैज्ञानिकले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अध्ययनभन्दा फरक हावाबाट पनि भयावह रूपमा कोरोना भाइरस फैलिरहेको भन्ने निष्कर्ष निकालेपछि विश्वमा नयाँ तरंग सिर्जना भएको छ।

डब्लूएचओले कोरोना भाइरस मुख्य रूपमा संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा उसको नाक वा मुखबाट निस्किने सिँगान/थुकका छिटा नजिकैको स्वस्थ व्यक्तिलाई पर्‍याे भने सर्छ भनिरहेको छ। यसैकारण उसले यसबाट बच्न भौतिक दूरी कायम गर्नमा जोड दिइरहेको छ।

तर माथि उल्लिखित वैज्ञानिकले आफूहरूले गरेको अनुसन्धानबाट कोरोना भाइरस हावामा समेत उडिरहेको र त्यसबाट मानिसमा सरिरहेको प्रमाण नै फेला परेको दाबी मात्र गरेका छैनन्, सोमबार क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा खुलापत्र लेख्दै डब्लूएचओलाई यस सम्बन्धमा जारी मार्गनिर्देशन नै परिवर्तन गर्न र नयाँ निर्देशिका जारी गर्न सुझावसमेत दिएका छन् ।

तर यस विषयमा अहिलेसम्म ठोस प्रमाण नभेटिएको बताइरहेको डब्लूएचओका प्रवक्ता तारिक जसारेविकले वैज्ञानिकको उक्त लेखबारे जानकारी भएको र आफ्ना विशेषज्ञमार्फत त्यसको समीक्षा गरिरहेको जानकारी दिएका छन्।

याे पनि: ३२ देशका वैज्ञानिककाे दाबी: हावाबाट पनि कोरोना सरेको प्रमाण भेट्टायौं

हावामा कोरोना भाइरस कसरी फैलिन्छ भन्ने कुरा अझै प्रस्ट हुन सकेको छैन। यो कुरा प्रमाणित भएका खण्डमा भने डब्लूएचओले कोरोनाबाट बच्न अहिले जेजस्ता उपाय/सुझाव दिइरहेको छ, त्यसमा ठूलो परिवर्तन आउनेवाला छ।

तर डब्लूएचओले अहिलेसम्म आफ्नो पुरानै नियमलाई सही ठानिरहेको अवस्था छ।

अमेरकाका मिनेसोटा युनिभर्सिटीका डाक्टर माइलक ओस्टरहोमले भनेका छन्, ‘डब्लूएचओले विश्वमा अहिले कोरोना संक्रमितको जुन तथ्यांक आइरहेको छ, वास्तविक संक्रमित त्यसभन्दा बढी छ भनेर जुन शंका गरिरहेको छ, त्यसले पनि कोरोना हावाबाट फैलिएको संकेत गर्छ।’

क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक एवं संक्रामक रोग विशेषज्ञ बाबेक जावेद पनि हावाबाट कोरोना संक्रमण फैलिने सम्भावना व्यापक रहेको बताउँछन्। उनी भन्छन्, ‘तर यस हावामा कोरोना कतिन्जेल रहन सक्छ भन्ने अनुसन्धान भने गर्न जरुरी छ। यो प्रमाणको अझै अभाव छ।’

हावाबाट कोरोना सर्ने कुरा प्रमाणित भयो भनेचाहिँ संक्रमित व्यक्ति बसेको स्थानमा हावासँगै कोरोना भाइरस फैलिने र त्यहाँ रहने स्वस्थ व्यक्ति संक्रमित हुने देखिन्छ। खासगरी यसबाट बिरामीको हेरचाहमा खटिने मानिस बढी सावधान हुनुपर्ने हुन्छ।

हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका डाक्टर विलियम हेन्ज पनि यस विषयमा गम्भीर अनुसन्धान आवश्यक रहेको स्वीकार गर्छन्। उनी भन्छन्, ‘हावाबाट कोरोना फैलिने सम्भावना कम नै छ भने पनि यो कुरा मानिसलाई जानकारी नगराउनु ठीक हुँदैन, यो पक्षलाई वेबास्ता गर्न मिल्दैन।’ बीबीसीको सहयोगमा 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad