समाज


पहिरोको कहरः तनहुँमा दश जनाको शव भेटियो, लमजुङमा १०९ घर विस्थापित

पहिरोको कहरः तनहुँमा दश जनाको शव भेटियो, लमजुङमा १०९ घर विस्थापित

नेपालखबर
असार २९, २०७७ सोमबार १६:६,

तनहुँका विभिन्न ठाउँमा पहिराले पुरिएर बेपत्ता भएका दश जनाको शव भेटिएको छ। आइतबार रातिदेखि परेको भीषण वर्षाले घर पुरिँदा बेपत्ता भएका ऋषिङ गाउँपालिका र व्यास नगरपालिकाका १२ जनामध्ये दश जनाको शव आज भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेपत्ता रहेका दुई जना भने अझै फेला पर्न नसकेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए। रात परेकाले बेपत्ता भएकाहरुको खोजी कार्यलाई आजलाई स्थगित गरिएको र मंगलबारबाट पुनः खोजी कार्य तीव्र पारिने पौडेलले बताए।

‘दिनभरको प्रयासबाट दश जनाको शव निकाल्न सफल भएका छौँ, भोलिबाट पुनः खोजीकार्य तीव्र पारिनेछ, बेपत्ता भएकाको खोजीका लागि ठूला उपकरणसमेत प्रयोग गरिएको छ’, पौडेलले भने। पहिराले पुरिएर बेपत्ता भएका ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका एकै परिवारका पाँच, व्यास–९ माझफाँटमा एकै परिवारका तीनसहित चार र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

पहिराले पुरिएर ऋषिङ–८ पल्ट्याङ भैसीकिलेका ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया थापा, निजकै पाँच वर्षीया छोरी अमिषा थापा, २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापाको शव भेटिएको छ। उनीहरु अनबहादुर थापाका छोराबुहारी हुन्। पहिराले पुरिएर घाइते अनबहादुरका श्रीमती ज्योतिमायाको भने उद्धार पछि पोखरामा उपचार भइरहेको छ।

यस्तै व्यास–९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्तीको शव फेला परेको छ। पहिराले पुरिएर गम्भीर घाइते म्याग्दे–६ बेलौतीडाँडाका १७ वर्षीय लक्ष्मी विकको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पहिराले पुरिएर व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा र व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेल बेपत्ता छन्। पहिराले पुरिएर घाइते व्यास–९ माझफाँटका ५० वर्षीय केशव थापाको पोखरामा उपचार भइरहेको छ भने सोही ठाउँकै २६ वर्षीया झनुमाया कुँवरको दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

लमजुङमा १०९ घर विस्थापित
यता, लमजुङमा पहिराले १०९ घर विस्थापित भएका छन्। केहीदिनदेखि लगातार परेको अविरल वर्षालेले आज बिहानबाट दिउँसोसम्म पहिरो जाँदा मध्यनेपाल नगरपालिकाका विभिन्न वडाका बस्तीमा उक्त संख्यामा विस्थापित भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार सो नगरपालिकाको वडा नं. ६ रानीपानी गाउँका ३१, लामासोतीका २७, रातामातेका २१, भदौरेका ११, गुम्बाबेँसीका नौ घर विस्थापित भएका छन्। त्यस्तै, वडा नं. ३ सूर्यपालका पाँच, वडा नं. २ प्रजालुटारका तीन घर, वडा नं. ४ चर्दीमा एक घर र वडा नं. १ खवास गाउँमा एक घर विस्थापित भएको प्रहरी निरीक्षक पुनले जानकारी दिए।

विस्थापित परिवारलाई प्रहरी र स्थानीयले मिलेर सुरक्षित स्थानमा राखेको छ। विस्थापितमध्येलाई इशानेश्वर माध्यमिक विद्यालय, आफन्तको घर र अन्यत्र सुरक्षित तरिकाले राखिएको छ। यस वर्षकै हालसम्म सबैभन्दा बढी घर विस्थापित सो नगरपालिकामा भएको प्रहरीको भनाइ छ। पहिराले मानवीय क्षति भने हुन नपाएको प्रहरी निरीक्षक पुनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad