समाज


खोलाको बीचमा फसेका ७ जनाको एपीएफ टोलीद्वारा उद्धार

खोलाको बीचमा फसेका ७ जनाको एपीएफ टोलीद्वारा उद्धार

नेपालखबर
साउन ७, २०७७ बुधबार १५:५३,

रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका–१ गमहरीयामा लालबकैया खोलाको लच्कापुल तर्ने क्रममा बीच भागमा अलपत्र परेका सात जनाको सशस्त्र प्रहरी टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ।

सो लच्कापुल तर्ने क्रममा केही व्यक्तिहरु बीच भागमा पुगेपछि बाढिको प्रभावले त्यस ठाउमा अड्कीएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लक्ष्मीपुरबाट एपीएफ टोली खटिएको थियो।

यसैगरी पर्सा जिल्लाको छिपहरमाई गाँउपालिका १ स्थित ओरिया खोलामा पानीको बहाब बढ्न गई सोही ठाउँ बस्ने नन्दु साहको घर डुवानमा परेर सो घर भित्र अलपत्र परेका ९ जनाको एपीएफ टोली र स्थानीय प्रहरीले सकुशल उद्धार गरेको छ। सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट एपीएफ टोली खटिएको थियो।

यसैगरी झापा जिल्लाको बुद्धशान्ति गाँउपालिका ७ स्थित मुर्तिडाँडामा पहिरो गई तेजराज बराईलीको घर पुरिदा मेची नगरपालिका ९ मागुरबारी बस्ने १५ वर्षीय बिबेक दंगाल बेपत्ता भएका छन्। सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश टिमाईबाट एपीएफ टोली खटिई गई उनको खोज तथा उद्वार कार्यमा जुटेको छ।

यसैगरी रौतहट जिल्लाको कठरिया नगरपालिका १ भोसेरुवा बस्ने २५ वर्षिय बैजु यादव स्थानीय बकैया खोलामा बाढिले बगाएर ल्याएको दाउरा तान्ने क्रममा साउन ७ गते खोलाले बगाएर बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश जंगलशैयाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरी उनको खोजी कार्यमा जुटेको छ।

यसैगरी लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गाउँपालिका ३ तरापुमा साउन ७ गते पहिरो जाँदा १८ घर पुरिएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म लमजुङ्गबाट खटिएको एपीएफ टोली र स्थानीय वासिन्दाले उक्त पहिरोमा परेका दुई जनाको सकुशल उद्वार गरेको छ।

खोलाले बगाएका व्यक्तिको शव फेला
यता, पर्सा जिल्लाको जगरनाथपुर गाँउपालिका ६ माधवपुरस्थित नौरङ्गिया खोलाले बगाई बेपत्ता भएका एक जनाको शब एपीएफ टोली र स्थानीय प्रहरीले फेला पारेको छ।

सोही ठाउँ बस्ने १७ वर्षीय कृष्ण पट्टेल पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस पोखरियाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनको शव खोलाको किनारमा फेला पारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .