समाज


नो ब्रत प्लिजः गुमनाम गायिकालाई चर्चामा ल्याउने गीत

नो ब्रत प्लिजः गुमनाम गायिकालाई चर्चामा ल्याउने गीत

यज्ञराज जोशी
साउन ८, २०७७ बिहिबार १०:५७,

अघिल्लो हप्तासम्म सोफिया थापा नेपाली गीतसंगीतको सेरोफेरोभन्दा बाहिर त्यति सुनिएको नाम थिएन।

उनी संगीत साधनामा लागेको डेढ दशक भयो। संगीतमै स्नातक उनी आफ्नै रुचीले वर्षमा दुई तीनवटा गीत गाउँथिन्, निकाल्थिन्।

केही चलचित्रका गीतमा पनि उनले स्वर दिएकी छिन्। तर, व्यावसायिक धारका चलचित्र नभएका कारण तिनले त्यति चर्चा नपाएको उनी बताउँछिन्।

‘मैले गाएका गीतहरु यूट्यूवतिर खोजे भेटिन्छन्। तर त्यति चर्चित छैनन्,’ आफ्नो संगीत यात्राबारे उनले भनिन्, ‘विभिन्न चलचित्रका गीतमा आवाज दिएकी छु। तर ती व्यवसायिक धारका फिल्म नभएकाले त्यति सुनिएका छैनन्।’

संगीतको अध्ययन गरेका कारण यसलाई निरन्तरता दिनुपर्छ भनेर वर्षमा आफ्नै खुशीले केही गीत गाइरहेकी छन्।

गत आइतबार ‘अबको तिज, नो ब्रत प्लिज’ गीत सार्वजनिक भएसँगै उनको चर्चा संगीत क्षेत्रमा मात्रै सीमित रहेन। गीत सार्वजनिक भएसँगै विभिन्न धार्मिक संघ संगठनले विरोध जनाएपछि गीत विवादमा परेको छ।

गीतमा प्रयोग भएका शब्दकै कारण विभिन्न पक्षबाट धम्की आउन थालेपछि उनी जीवन सुरक्षाको माग गर्दै प्रहरीमा पुग्नु परेको छ। विवाद बढ्दै गएपछि बुधबार उक्त गीत कसैले हेर्न नमिल्ने गरी ‘प्राइभेट’ मा राखिएको छ।

गीतको रचना, संगीत र स्वर सोफिया स्वयमको हो। उनी गीतलाई गलत तरिकाले विश्लेषण गरिएकाले ‘कन्ट्रोभर्सी’ सिर्जना भएको बताउँछिन्।

‘मैले सामान्य सिर्जना गरेको हुँ। त्यसमा अलिकति लैंगिक र स्वास्थ्य चेतनाको कुराबाहेक अन्य केहीपनि छैन। त्यसलाई किन यतिसारो ‘म्यानुपुलेट’ गरियो मलाई थाहा भएन,’ उनले भनिन्, ‘मान्छेहरुको गलत विश्लेषण तथा बुझाईले कन्ट्रोभर्सी ल्याएको हो, नत्र यतिविधि बबण्डर गर्नुपर्ने केही थिएन।’

उनले आफ्नो सोखका लागि वर्षमा दुई तीनवटा सिर्जनाहरु गर्दै आएको तर भाइरल हुने उद्देश्य कहिल्यै नराखेको बताइन्।

‘ब्रतै नबस्नु भनेकी हैन’
गीतमा उल्लेख भएको ‘नो ब्रत प्लिज’ शब्दमा हिन्दुवादी संघ संगठनले मुख्य विरोध जनाएका छन्। हिन्दु जागरण नेपालले विज्ञप्ति जारी गर्दै तीजको महत्व नै ब्रत बस्नु रहेको, ब्रत बस्नु आफ्नो श्रद्धाको कुरो भएको तर तीजबाट ब्रत नै हटाइदिने हो भने तीज केवल पार्टी, भोज–भतेर, कन्सर्ट सिवाय केही नहुने उल्लेख गरेको छ।

‘तीजमा ब्रत नबस्नुहोला’ भन्ने आशयसहित सार्वजनिक उक्त गीत हटाउन हिन्दु जागरण नेपालले नै हाइलाइट्स नेपाललाई अनुरोध गरेर पत्र पठाएको थियो। लगत्तै हाइलाइट्स नेपालले गीत हटायो।

गायिका सोफिया भने एक वाक्यलाई मात्रै टिपेर विवादमा ल्याउनु र सबैलाई ब्रतै नबस्नु भनि सम्बोधन गरिएको भनी प्रचार गरिनु गलत भएको बताउँछिन्।

‘गीतमा नो ब्रत प्लिज, नो खुट्टाको पानी दुबै बराबरी’ भन्ने पूर्ण वाक्य हो,’ उनले भनिन्, ‘यो सम्पूर्ण वाक्य जोडिएको छ। यसको एक लाइनलाई मात्रै समातेर हुँदैन। स्वास्थ्य र समानताका लागि त्यो शब्द प्रयोग गरेकी हुँ। गीतको सार पूरै वाक्य पढेपछि आउँछ।’

उनले यी शब्दले कुनैपनि धर्ममा आँच आउने, दख्खल पुर्याउने नभएर आफ्नोे भावनामात्रै व्यक्त गरिएको बताइन्।

‘मैले ‘नो ब्रत’ भन्न किन नपाउने? मैले कसैलाई सम्बोधन गरेको छैन,’ उनले थपिन्, ‘तिमी ब्रत नलेउ है भनेर मैले कसैलाई सम्बोधन गरेको छैन। मैले आफ्नो भावना व्यक्त गरेकी हुँ। कसैलाई बाध्यतामा ल्याएकी हैन। कसैले मान्छ भने ठिक छ, मान्दैन भने पनि ठिक छ।’

भौतिक कारवाहीसम्मको धम्की
गीत सार्वजनिक भएसँगै अपरिचित नम्बरहरु, फेसबुकमार्फत भौतिक कारवाहीसम्मको धम्की सहनु परेको सोफियाले बताइन्। निरन्तर धम्की आएपछि उनले सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी छिन्।

‘घरैसम्म आउन नपरोस्, भौतिक क्षति पुर्याउँछौं। कानुनी रुपमा सजाय मिल्दैन भने कष्टपूर्ण सजाय दिन्छौं भन्ने शब्दहरु प्रयोग गरी धम्की आएका छन्,’ उनले भनिन्, ‘मैले व्यक्त गरेको विचारप्रति असहमति जनाउन जसले पनि पाउँछ। तर, त्यसैको आडमा मलाई दुर्व्यवहार गर्ने, गाली गर्ने, धम्की दिने अधिकार कसैलाई पनि छैन।’

उनले युट्यूवबाट आफ्नो गीत प्राइभेट गर्न लगाएकोप्रति असन्तुष्टि व्यक्त गरिन्। हाइलाइट्स नेपाललाई दबाबपूर्वक पटकपटक धम्की दिएपछि बाध्यतावश प्राइभेट राख्नुपरेको र यो सरासर अन्याय भएको उनले बताइन्।

‘यो मेरोमात्रै आवाज हैन धेरै महिलाहरुको आवाज हो, आज मेरो आवाज दबाइयो भने भोलि अरुको पनि दबाइन्छ,’ उनले भनिन्, ‘यस प्रकरणबाट आगामी दिनमा यस्ता खालका आवाज उठाउन हुँदैन भनेर अरुलाई पनि दबाब हुने भयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .