ad ad

समाज


निर्मला हत्या प्रकरणको दुई वर्ष : अनुसन्धानको सुई फेरि पनि दिलिपसिंह विष्टतिरै

निर्मला हत्या प्रकरणको दुई वर्ष : अनुसन्धानको सुई फेरि पनि दिलिपसिंह विष्टतिरै

गोकुल जोशी
साउन ११, २०७७ आइतबार ४:१७,

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा भएको छ।

१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका-२ की बालिका निर्मलाको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा शव उखुबारीमा भेटिएको थियो। बलात्कार जस्तो जघन्य अपराध भएको दुई वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।

निर्मलाको शव भेटिएको दिन देखिनै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन। घटनाको अनुसन्धानमा संलग्न विभिन्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचनालाई पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्।

दुई वर्षको अवधीमा प्रहरीले डिएनए परीक्षण, शंकास्पदको बयान, शंकास्पद व्यक्तिहरुमाथी सूक्ष्म अनुसन्धान ग¥यो। तर प्रहरीको अनुसन्धान अहिलेसम्म पनि अपराधीको छेउछाउ पुग्न सकेको देखिँदैन्। प्रहरीले अनुसन्धान गरिरहेको जनाए पनि अनुसन्धान कुहिरोको कागजस्तो आफैमा रुमलिइरहेको देखिन्छ।

सुरुमा घटनाको अनुसन्धानमा प्रहरीले गरेको गल्तीका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी जस्तो बन्न पुगेको अनुसन्धान टोलीको निष्कर्ष छ।

निर्मला हत्याकाण्डमा प्रहरी निकै आलोचित भयो । अनुसन्धानमा उच्च छवि बनाएको सिआइबी पनि घटनाको प्रमाण लुकाउन खोजेको आरोपमा फस्यो । प्रहरी इतिहास मै पहिलो पटक सिआइबी पनि अनुसन्धानमा चुक्न पुग्यो।

यसले नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा नै प्रश्न चिन्ह खडा भएको छ। प्रहरीले नै प्रमाण नष्ट गरेकोे भन्ने आरोप लागेसँगै प्रहरीले तत्कालिन एसपी डिल्लीराज बिष्ट, सिआइबीका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, दुई जना प्रहरी निरीक्षक र एक जना असर्ई निलम्बनमा परे।

निर्मला हत्याका वास्तविक दोषी पहिचान हुन नसक्दा प्रहरीप्रतिको जनताको विश्वास घट्दै गएको छ।

स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने पन्तको बलात्कारपछि हत्याको विरोधमा उनको पक्षमा न्याय माग्दै कञ्चनपुरसहित देशैभर प्रदर्शन भयो । हत्याको विरोधमा महेन्द्रनगरबाट शुरु भएको प्रदर्शन देशैभरि फैलियो।

मुख्य अभियुक्त भनेर मानिसिक अवस्था ठीक नभएका स्थानीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि महेन्द्रनगरमा भइरहेको आन्दोलनले उग्ररुप लियो। स्थानीयको आन्दोलन चर्किएपछि प्रहरीले आन्दोलन दबाउन लाठी र अश्रुग्यासमात्रै प्रहार गरेन, गोलीसमेत चलायो । प्रहरीको गोली लागि दुई दर्जन आन्दोलनकारी घाइते भए भने स्थानीय युवा सन्नी खुनाले ज्यान नै गुमाउनु पर्‍याे।

स्थानीयको दबावपछि एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट र मेयरका भनिज आयुश विष्ट तथा दिलिप सिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत झण्डै ८० जनाको डिएनए परिक्षण गरियो । तर उनिहरुको डिएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मेल खाएन।

न्याय खोजीमा बितेका दुई वर्ष
निर्मलालाई न्याय दिन सुरुमा देशभर चर्किएको आन्दोलन पछिल्लो समय सेलाउँदै गयो । घटना घटेको दुई वर्ष भैसक्दा समेत दोषि पहिचान हुन नसकेपछि न्याय पाउने आशा मरेको निर्मलाकी आमा दुर्गादेवीले बताइन्।

लामो समय भैसक्दा समेत अपराधीको पहिचान हुन नसक्दा न्याय पाउँने कुरा उनलाई दिवास्वप्न जस्तो लाग्न थालेको छ। ‘दुई वर्ष भैसक्दा पनि हत्यारा पत्ता लागेन, अब के पत्ता लाग्ला र?’ प्रतिप्रश्न गर्दै उनले भनिन्, ‘दिलिपसिंह विष्ट विरुद्ध मैले जाहेरी दिएको पनि वर्ष दिन पुग्नै लाग्यो, प्रहरीले जाहेरीप्रति कुनै चासो नै देखाएको छैन्।’

लामो समयसम्म पनि अपराधी पत्ता नलाग्दा न्याय पाउने आशा टुटेको उनले गुनासो गरिन्। अहिलेसम्म अपराधी कानूनी कठघरामा नआउनु दुःखद भएको बताउँदै निर्मलाका बुवा यज्ञराजले सरकार नै अपराधीको संरक्षणमा लागेको आरोप लगाए।

प्रदीप र विशाल पछि अनुसन्धान कता ?
केही समय अगाडिसम्म शंकास्पद भनेर धेरैलाई समातेको सूचना चुहाइरहेको नेपाल प्रहरी हाल भने चुपचाप छ। प्रदीप रावल र विशाल चौधरीपछि प्रहरीले कसैलाई पनि समातेर अनुसन्धान गरिरहेको सुन्नमा आएको छैन।

तत्कालीन आइजिपी सर्वेन्द्र खनाललेसमेत बयान लिएका यी दुई जनाको निर्मलाको भजाइनल स्वाबसँग डिएनए रिपोर्ट नमिलेर छुटेपछि नेपाल प्रहरीले कसैलाई पनि पक्राउ गरेको आधिकारिक अभिव्यक्ति दिएको छैन। ती दुई जना तथा यस अगाडि पक्राउ परेका अभियुक्तमाथी अनुसन्धान हुँदाका बखत सरकारका उच्चपदस्थ नेताहरुले समेत सार्वजनिक अभिव्यक्ति दिइरहेको थिए।

प्रदीप र विशालमाथीको अनुसन्धानमा पनि प्रहरीले सफतला हात पार्न नसकेपछि त्यसपछिको ‘अनुसन्धान सुई’ गुपचुप अवस्थामा छ। निर्मला प्रकरणमा झण्डै ५ सय २९ जना शंकास्पद मानिएकाहरुसँग बयान लिइएको छ भने ८० जनाको डिएनए परीक्षण गरिएको छ । तर दुई वर्षको अवधिसम्म पनि अपराधीसम्म पुग्ने दरिलो आधार भेटाउन सकेको छैन, प्रहरीले। यसले गर्दा यो प्रकरण नेपाल प्रहरीका लागि नै पेचिलो बनेको छ।

फेरि पनि शंकाको सुई दिलिपतिरै
निर्मला प्रकरणमा पछिल्लो पटक सबैभन्दा बढि सुनिने नाममध्ये एक हो, दिलिप सिंह बिष्ट। दिलिप निर्मला प्रकरणको मुख्य अभियुक्त भनेर सार्वजनिक गरिएका थिए।

‘मानसिक सन्तुलन गुमाएको निर्दोष’ लाई फसाउन खोजिएको भन्दै आन्दोलन चर्किएपछि उनको डिएनए जाँच गरियो। दिलिपको डिएनए निर्मलाको भेजनाइल स्वाबसँग मेल नखाएपछि उनी छुटेका थिए।

उनै दिलिपसिंह बिष्टमाथी निर्मलाकी आमा दुर्गादेवीको शंका छ । उनले दिलिप विरुद्ध २०७६ भदौ २२ गते किटानी जाहेरी समेत दिएकी थिइन्। दिलिपमाथी फेरी अनुसन्धान गर्नु पर्ने निर्मलाकी आमाको माग छ।

सुरुका दिनमा दिलिपका बारेमा आफूलाई केही जानकारी नभएपनि पछिल्लो समय सार्वजनिक भएका प्रमाणहरुबाट भने उनी माथिनै शंका लागेको दुर्गादेवी बताउँछिन् । ‘मैले पहिले नै उसले विभिन्न ठाँउमा बोलेका कुरा सुनेको भए त्यहिबेलै उविरुद्ध किटानी जाहेरी दिने थिएँ,’ आमा दुर्गादेबीले भनिन्, ‘शंका लागेर जाहेरी दिएकी छु। दिलिप माथी फेरि अनुसन्धान हुनु पर्छ।’

प्रहरी स्रोतका अनुसार घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ। र, दिलिपलाई पनि निगरानीमा राखिएको छ। ‘दिलिप नै दोषि हो वा अन्य कोही भनेर दुई तरिकाबाट अनुसन्धान भइरहेको छ। दिलिपमाथी निगरानी छ,’ स्रोतले भन्यो, ‘यही हो भनेर अनुसन्धान टुंगिएको छैन।’

घटनाको अनुसन्धानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा गठन गरिएको तीन सदस्यीय समितिले डीएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने समेत ठहर गरेको छ।

अनुसन्धान प्रगति जहाँको तहीँ
निर्मला बलात्कार तथा हत्या प्रकरणकोे अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ । घटना घटेको दुई वर्ष बितिसक्दा पनि अपराधीको पहिचान हुन सकेको छैन । नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै भएको छ।

निर्मला प्रकरणमा अपराधीसम्म पुग्ने दरिलो आधार डिएनए परीक्षण मात्र नै हो । पछिल्लो समय डीएनएमा पनि प्रश्न उठेको छ । पहिलो एक बर्षसम्म डीएनए परीक्षणको ‘रुट’ पछ्याएको प्रहरीले झण्डै ८० जनामाथी सो सूत्र प्रयोग गर्दा समेत अपराधी भेटिएन। अनुसन्धान प्रगति जहाँको तहीँ छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले भने परिणाम आउन ढिला भएपनि आफूहरुले वस्तुपरक तरिकारले अनुसन्धान गरिरहेको दाबी गरे। ‘यो घटनाको अनुसन्धानलाई हामीले प्रमुख प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ‘‘त्यसका लागि छुट्टै टिम बनाएर अनुसन्धान अगाडी बढाएका छौँ। चाडै नै रिजल्ट आउनेमा आशावादी छौँ।’

सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तम सुवेदीले विभिन्न पाटा र कोणबाट अनुसन्धान जारी राखेको बताए । ‘हामी अनुसन्धानकै क्रममा छौं,’ उनले भने, ‘अहिलेसम्म दोषी को हो भन्ने टुंगोमा पुग्न सकेका छैनौं । सबै उपाय अपनाएर अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउन प्रयत्नरत छौँ।’ यो धेरै गिजोलिएको केस भएकाले अनुसन्धान जटिल भएको उनको भनाइ छ।

नेपाल प्रहरी र सरकारका लागि नै निकै पेचिलो रुपमा खडा भएको निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोलिसँगै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र अपराध अनुसन्धान ब्यूरोका विभिन्न टोलीहरु खटिए। दर्जन अनुसन्धान टोली घटनाको अनुसन्धानका लागि खटिए । तर प्रगति भने ‘हात लाग्यो शून्य’ जस्तै भएको छ। शंकास्पद मानिएका बिषयको निरन्तर अनुसन्धान गर्ने काममा भइरहेको प्रहरीले जनाएको छ ।

चार सिडिओ, तीन एसपी फेरिए
निर्मला बलात्कार तथा हत्या प्रकरण पश्चात् मात्रै कञ्चनपुरमा चार सिडिओ र तीन एसपी फेरिए। निर्मला प्रकरण चलेका बेला कुमारबहादुर खड्का यहाँ सिडिओ थिए।

२०७५ भदौमा उनि निलम्वनमा परेर कञ्चनपुरबाट बिदा भए । त्यसपछि २०७५ भदौ ५ मा तारानाथ अधिकारी सिडिओका रुपमा आए । उनि पनि चार महिनामै फर्किए। अधिकारीपछि सहायक सिडिओ रहेका शंकरबहादुर विष्टले दुई महिना जिल्लाको प्रशासनिक जिम्मेवारी सम्हाले।

पछि सिडिओका रुपमा सुशील वैद्य आए । उनीपछि हाल नुरहरी खतिवडा कञ्चनपुरमा सिडिओ छन् । प्रहरी प्रमुख एसपी फेरिने दर पनि यहाँ उतिकै मात्रामा छ।

निर्मला प्रकरणका बखत प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट थिए। उनी निर्मला प्रकरणमा प्रमाण नष्ट गरेको भन्दै सेवाबाट बर्खास्तीमा परे। उनीपछि निर्मलाको आन्दोलन चर्केका बेला एसपी कुवेर कडायतलाई जिम्मेवारी दिइयो । उनि पाँच महिना मात्रै यहाँ बसे।

त्यसपछि २०७५ फागुन १५ मा जिल्ला प्रहरी प्रमुखको रुपमा एसपी दिनेश आचार्य आए । उनी २०७६ पुस ९ गते सरुवा भएर गए । त्यस पछि अहिले एसपी मुकुन्द मरासिनी कञ्चनपुर प्रहरीको प्रमुख छन्।

नयाँ प्रहरी नेतृत्वले जगाएकाे आशा
निर्मला प्रकरणको दुई वर्षको अवधिमा नेपाल प्रहरीले तीन जना प्रहरी महानिरीक्षक (आइजिपी) पायो। तत्कालीन आइजिपी सर्वेन्द्र खनालको कार्यकालमा घटना भएको थियो।

प्रहरीको शाखमा प्रश्न उठाएको प्रकरणको अनुसन्धानले तत्कालीन आइजिपी सर्वेन्द्र खनाल, ठाकुर प्रसाद ज्ञवालीको कार्यकालमा सफलता पाउन सकेन। यो प्रकरणको सफल अनुसन्धान गरेर प्रहरीको शाख बचाउने जिम्मेवारी अब आइजिपी शैलेश थापाको काधमा आएको छ। नयाँ नेतृत्व आएसँगै आमनागरिकले निर्मला हत्याकाण्डको वास्तविकता बाहिरिने आशा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .