समाज


पर्सामा समुदायस्तरमै कोरोना संक्रमण, मास स्क्रिनिङ गरिँदै

पर्सामा समुदायस्तरमै कोरोना संक्रमण, मास स्क्रिनिङ गरिँदै

यज्ञराज जोशी
साउन ११, २०७७ आइतबार ११:१३,

साउन १ गतेदेखि ६ गतेसम्म पर्सामा जम्मा १६ जना कोरोना संक्रमित फेला परेका थिए। सरकारले ७ गते लकडाउन खुला गर्‍यो। त्यसपछिको ४ दिनमा पर्सामा पर्सामा ६३ जनामा संक्रमण देखिइसकेको छ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का अनुसार साउन ७ गते ६ जनामा संक्रमण भेटिएको थियो। साउन ८ गते १७, साउन ९ गते ३२ र साउन १० गते ८ जनामा कोरोना संक्रमण भेटिएको छ।

यी चार दिनमा भेटिएका संक्रमितहरु ट्राभल हिस्ट्री नभएका, आफैँ लक्षण देखिएर जाँच गर्न आएका, स्वास्थ्यकर्मी र थुनुवा लगायत स्थानीय छन्। सोही तथ्यमा टेक्दै स्थानीय स्वास्थ्य अधिकारीहरुले पर्साको सदरमुकाम वीरगञ्ज र आसपास क्षेत्रमा कोरोना समुदायस्तरमै फैलिएको निष्कर्ष निकालेका छन्।

वीरगञ्जमा कोरोना संक्रमितका लागि छुट्टाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले पछिल्लो एक हप्तामा कोरोना भाइरस सामुदायमा फैलिएका तथ्यहरु देखिएको बताए।

‘पर्सामा जुन किसिमको केस देखिएका छन्, यो समुदायमै फैलिएको उदाहरण हो। जुनसुकै तह तप्काका मानिसहरुमा संक्रमण भेटिएको छ। उनीहरुको ट्राभल हिस्ट्री छैन,’ डा. उपाध्यायले भने, ‘विद्यार्थी, बैंकर, पसले, चिकित्सक, सेना, प्रहरी, कर्मचारी, सर्वसाधारण जसलाई पनि पोजिटिभ देखिनुको अर्थ सामुदायमा कोरोना छ भन्ने नै हो।’

समुदायमै कोरोना फैलिएको आशंकामा पर्साले शनिबारदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र निषेधाज्ञा समेत लागू गरेको छ। निषेधाज्ञाले कोरोना संक्रमितको चेनब्रेक गर्न मद्दत पुर्‍याउने डा. उपाध्याय बताउँछन्।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। जसमध्ये २६ जना स्थानीय नागरिक हुन्। सोही दिन मृत्यु भएका एक जना कोरोना संक्रमितको को पनि ट्राभल हिस्ट्री देखिएको थिएन।

थुनुवासहित अधिकांश संक्रमित लक्षण देखिएर आफैँ जँचाउन आएकाले पनि समुदायमा कोरोना फैलिएको आशंका स्थानीय प्रशासनले गरेको हो। सोहीकारण जिल्ला प्रशासन कार्यालयले डाकेको सर्वपक्षीय बैठकबाट महानगरपालिकाका ३२ वटै वडामा अत्यावश्यक सेवाबाहेक निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।

मास स्क्रिनिङ गरिँदै
एकै पटक ठूलो संख्यामा ट्राभल हिस्ट्री नभएका मानिसहरुलाई संक्रमण देखिएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले संक्रमित देखिएका स्थानमा समुदायस्तरमै परीक्षण थालेको छ।

स्वास्थ्य कार्यालय पर्साका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कामेश्वरप्रसाद चौरसियाका अनुसार ती स्थानको अवस्था पत्ता लगाउन मास स्क्रिनिङ थालिएको हो।

‘यसअघि कोरोना संक्रमितको उपचारका लागि क्वारेन्टिन, आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीलाई मात्रै संक्रमण भेटिएकोमा पछिल्लो समय ओपीडीमै खटिएका स्वास्थ्यकर्मीलाई संक्रमण देखिनुले समुदायमै कोरोना फैलिएको संकेत गरेको छ,’ चौरासियाले भने, ‘आजदेखि संक्रमित देखिएको स्थानमा मास स्क्रिनिङ थाल्दैछौं। त्यसले थप स्पष्ट पार्नेछ।’

चौरसियाका अनुसार आइतबार वीरगञ्जको विभिन्न तीन स्थानबाट नमूना संकलन गरिँदैछ। एक स्थानबाट औसतमा २ सय जनाको स्वाव संकलन गरिने उनले बताए।

अध्ययन जारी छः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्सामा सामुदायस्तरमा कोरोना संक्रमण फैलिएको विषयमा अध्ययन जारी रहेको बताएको छ।

‘ट्राभल हिस्ट्री नभेटिएका बिरामी भेटिने बित्तिकै सामुदायमा संक्रमण भएको भन्न सकिन्न,’ मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, ‘स्थानीय स्वास्थ्यकर्मीहरुले समुदायमा संक्रमण फैलिएको बताउनु भएको छ तर मन्त्रालयले टोलीले अझै अध्ययन गरिरहेको छ। उक्त टोलीको अध्ययनपछि त्यहाँको अवस्थाबारे बताउन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .