धनुषामा राति घरबाहिर पिसाब फेर्न गएकी युवती बलात्कृत भएकी छन्।
धनुषाको क्षिरेश्वरनाग नगरपालिका ३ कि १८ वर्षीया दलित समुदायकी युवती सोमबार राति बलात्कृत भएकी हुन्।
राति पिसाव फिर्न घर बाहिर निस्केको बेला बेपत्ता भएकी ती युवतीलाई पछि स्थानीय २६ वर्षीय युवक कलाम राइनले घरमा छाड्न आएपछि घटना सार्वजनिक भएको हो।
ती युवतीले आफूलाई छाड्न आएको युवाले नै राति जबरजस्ती लगेर आफूलाई बलात्कार गरेको बताएपछि स्थानीयले ती युवामाथि कुटपिट गरेका हुन्। स्थानीयको कुटपिटबाट घाइते युवालाई प्रहरीको जिम्मा लगाइएको छ।
स्थानीयले युवालाई कुटपिट गरी घाइते अवस्थामा प्रहरीलाई जिम्मा लगाएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए।
उनका अनुसार पीडित युवती र बलात्कार गरेको भनिएका युवकलाई स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। घाइते युवकको उपचार पनि प्रादेशिक अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।
घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया