समाज


नेपालकै लामो झोलुंगे पुल सञ्चालनमा

नेपालकै लामो झोलुंगे पुल सञ्चालनमा

खेमराज गौतम
साउन १८, २०७७ आइतबार १:३०,

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमा निर्माण थालिएको नेपालकै लामो झोलुङ्गे पुल गत शुक्रबारदेखि सर्वसाधरणका लागि खुला गरिएको छ।

पुल विश्वकै लामो भएको समेत दाबी गरिँदै आए पनि तथ्यहरु जुट्न बाँकी नै छन्। झोलुङ्गे पुलको निर्माण गत वैशाखमै सम्पन्न भए पनि हस्तान्तरण नहुँदा सर्वसाधारणलाई खुला गरिएको थिएन।

पुल खुला भएसँगै पर्वत जिल्लाको कुश्मा नगरपालिका र जलजला गाउँपालिका र बागलुङ बजाको यात्रा छोटिएको छ। यसले दुई जिल्लाको पर्यटन तथा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

पुल बनेपछि बागलुङ जिल्ला सदरमुकामबाट पाङ अदुवाबारी पुग्न एक घण्टा बढी पैदलयात्रा गर्नुपर्नेमा पुलबाट १० मिनेटमै पुग्न सकिने पाङ सुवेदीथर माध्यमिक विद्यालयका प्रधानध्यापक दीपक सुवेदीले जानकारी दिए।

बागलुङ नगरपालिका–१ रामरेखाबाट कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुल गत वैशाखको शुरुमै निर्माण सम्पन्न भए पनि हालसम्म सञ्चालनमा आएको थिएन । लकडाउन हटेसँगै निर्माण कम्पनीले पुल हस्तान्तरण प्रक्रिया अघि बढाएको छ।

पुल हस्तान्तरण प्रक्रिया शुरु भएको जनाउँदै सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले शुक्रबारदेखि पुल खुला गर्न अनुमति दिएको हो। पुल सञ्चालनमा आएपछि दुई जिल्लाका मात्रै नभएर बागलुङ र पर्वत हुँदै म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई समेत यस पुलले आकर्षित गर्नेछ।

पुल खुला गरेपछि शुक्रबारदेखि पुल अवलोकन गर्नेको भीड नै लागेको छ। शुक्रबारदेखि खोल्नका लागि सस्पेन्सन ब्रिज डिभिजन कार्यालयबाट जानकारी आएका कारण पुल सञ्चालन गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंका सिनियर डिभिजन इञ्जीनियर हुमाकान्त मिश्रले पुल निर्माण सम्पन्न भएपश्चात सबै प्राविधिकरूपमा अध्ययन र परीक्षण गरिएकाले अब हस्तान्तरण गर्ने अन्तिम तयारीमा भएको बताए। ‘पुलको प्राविधिक परीक्षण ग¥यौँ, अब अफिसियलरूपमा हस्तान्तरणको काम गर्दा एक हप्ता लाग्छ होला, पुल सञ्चालन तथा संरक्षणको जिम्मा स्थानीय तहले समन्वयका आधारमा गर्नेछ,’ उनले भने।

ठेक्का सम्झौताभन्दा तीन महिनाअघि नै पुल निर्माण सकिएको थियो। पुल हस्तान्तरण नहुँदा तीन महिनादेखि पुलको रेखदेख मात्रै गरेर राखेको पुल निर्माणको जिम्मा पाएको थानी÷बिएलटी÷हिमशिखर कन्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले बताए।

‘हामीले लकडाउनमा समेत पुल निर्माण रोकेनौँ’, उनले भने, ‘वैशाखको शुरुमै निर्माण सकिएको पुल वैशाख ९ गते हस्तान्तरणको तयारीमा थियौँ, लकडाउनले समस्या भयो।’ यो पुलन ५७६ मिटर लामो छ। यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ।

विसं २०७५ चैतदेखि शुरु भएको पुल निर्माणकार्य आगामी २०७७ असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भए पनि तीन महिनाअगावै पुल निर्माण सम्पन्न भएको थियो। पहिलोपटक निर्माण थालिएको लामो पुल निर्माणमा ठूलो चुनौती भए पनि सबैको सहकार्यमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।

निर्माण कम्पनीले पहाडी भेगका खोच तथा नदीमा लामा झोलुङ्गे पुल निर्माण गर्दै आएको खड्काले बताए। एकसाथ ६१२ जना अर्थात् ८५ मेट्रिक टन क्षमता पुलको छ।

विसं २०५९ देखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भए पनि लठ्ठा तान्न नसक्ने जनाउँदै काम शुरु हुनसकेको थिएन। ४० लाखमा लठ्ठा तान्ने औजार चीनबाट खरिद गर्न अर्थ मन्त्रालयले स्विकृति दिएपछि पुल निर्माण थालिएको थियो।

अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल निर्माण भएका छन्। शुरुमा १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने औजार मन्त्रालयले उपलब्ध गराउने भएपछि छ करोड ९१ लाखमा सम्झौता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad