मुलुकभर कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै गम्भीर खालका बिरामी पनि बढ्न थालेका छन्।
मंगलबार दिउँसोसम्म गम्भीर खालका ८८ जना विरामीलाई आईसीयू र भेन्टिलेटरमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार गत २४ घण्टामा मात्र मुलुकभर ६ सय ३८ जनामा संक्रमण भएको छ।
प्रदेश १, २, वागमती र प्रदेश ५ मा गरी ८८ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो।
कोरोनाबाट गम्भीर संक्रमण भएकालाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिन्छ।
वागमती प्रदेशमा ३ जनाको भेन्टिलेटरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ।
सरकारले साउनको ७ गते लकडाउन हटाएसँगै उपत्यकाका तीनै जिल्लामा संक्रमितको संख्या तीब्ररुपमा बढ्न थालेको हो। मंगलबार उपत्यकामा मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। जुन अहिलेसम्मकै सबैभन्दा बढी हो।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा १ जना आईसीयू र भेन्टिलेटरमा छन्। प्रदेश २ मा ४३ जना आईसीयूमा छन्।
वागमती प्रदेशमा ३ जना भेन्टिलेटरमा छन् भने ३५ जना आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ। वागमती प्रदेशमा काठमाडौं भक्तपुर र ललितपुर सहितका १३ जिल्ला रहेका छन्।
मंगलबार दिउँसोसम्म गण्डकी प्रदेशमा कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा छैनन्।
प्रदेश ५ मा ६ जना आईसीयूमा उपचाररत् छन्। कर्णाली र सुदूरपश्चिममा मंगलबार कोहीपनि संक्रमित आईसीयूमा नभएको मन्त्रालयले जनाएको छ।
यसैगरी २ सय २४ संक्रमित होम आइसोलेसनमा बसेका छन्। मन्त्रालयका अनुसार प्रदेश १ मा ४० जना वागमती प्रदेशमा ३५ जना, प्रदेश ५ मा १ सय ४५ जना र कर्णाली प्रदेशका ४ जना होम आइसोलेसनमा बसेका छन्।
स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको विवरण:


प्रतिक्रिया