अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे कोरोना संक्रमित भएपछि अहिले आइसोलेसनमा छन्।
तीनदिन पहिले नै कोरोना संक्रमण देखिएका घिमिरे अख्तियारस्थित निवासमै आइसोलेसनमा बसेका अख्तियार स्रोतले जनाएको छ।
स्रोतका अनुसार घिमिरेमा कुनै लक्षण देखिएको छैन र उनकाे आइतबार पुनः परीक्षण गर्ने तयारी छ।
नेपालमा यो भाइरसबाट संक्रमित हुने उच्चपदस्थ पदाधिकारीमध्ये उनी एक हुन्।
संघीय संसदका सांसद, प्रदेशका मन्त्री तथा सांसद, मेयर लगायतले भने आफूमा कोरोना संक्रमण भएको यसअघि सार्वजनिक रुपमै जानकारी गराएका थिए।
अन्य पदाधिकारीहरुले त्यसबारे सार्वजनिकरुपमा जानकारी दिँदा घिमिरेले सार्वजनिक गर्न नचाहेको कुरा भने बहसको विषय बनेको छ।
कोरोनाबाट संक्रमित हुने व्यक्तिको पहिचान सार्वजनिक गर्ने वा नगर्ने विषय स्वयं व्यक्तिको इच्छामा भर पर्नेमा सम्बन्धित निकायहरुले पनि जोड दिँदै आएका छन्।
तर, व्यवहारमा भने संसारभर र नेपालमा समेत सार्वजनिक जिम्मेवारी सम्हालेका र पदीय कामको सिलसिलामा धेरै मानिसहरुसँग सम्पर्कमा रहने व्यक्ति संक्रमित हुँदा उनीहरुले आफै सो कुरा तत्काल सार्वजनिक गर्ने परिपाटी नै बसेको छ।
नेपालमा नेता, सांसद, मेयर लगायतका स्थानीय तहका निर्वाचित प्रतिनिधि, पत्रकार लगायतका व्यक्तिहरु संक्रमित हुँदा अधिकांशले आफूमा कोरोना संक्रमण भएकोले केहि दिनयता आफूसँग सम्पर्कमा रहेका व्यक्ति छुट्टै बस्नु र परीक्षण गराउनु भन्ने व्यहोराका जानकारीहरु सामाजिक सञ्जाल लगायतबाट सार्वजनिक गरेको पाइन्छ।
त्यसो गर्दा आफूसँग सम्पर्क हुन पुगेका कैयौं व्यक्तिलाई बेलैमा आधिकारिक जानकारी प्राप्त भई उनीहरु सुरक्षित हुनसक्छन् भन्ने बुझाइका आधारमा जानकारी दिने गरिएकाे छ।
यही विषयमा जनस्वास्थ्य वैज्ञानिक समिरमणि दीक्षितले भने विवरण सार्वजनिक गर्दा नकारात्मक असर पर्ने टिप्पणी गरेका छन्।
उनले ट्वीटमा भनेका छन्, ‘हरेक पटक कसैमा कोरोना देखिनासाथै समाचार बन्नु नै पर्ने हो र? यसले चाहिनेभन्दा बढि आतंक सृजना गर्छ समाजमा र सम्बन्धित स्वास्थ्य निकायमा मानिस जान डराउँछन्, जसले गर्दा स्वास्थ्य सेवामा असर पर्नसक्छ। संक्रमण अब साधारण भइसक्यो, हल्लाखल्ला हैन, उपचारमा ध्यान दिऔं।’
तर उनको बिचारमा फोटोपत्रकार विकास कार्कीले बिमति जनाएका छन्। उनको प्रश्न छ, ‘एउटा कुरा मैले नबुझेको कुनै कुराको जानकारी नदिने हो भने उसको सम्पर्कमा पुगेकाहरु कसरी सुरक्षित हुने कसरी? जति पूरा विवरण दिईन्छ नि उत्तिनै बढी साबधानी अपनाउनु सकिन्छ हैन र? बिना पहिचानमै सुरक्षित रहने उपाय पनि छ भने पाउन है?’
ट्वीटरमै ज्ञानेन्द्र खड्काले लेखेका छन्, ‘सर्वसाधरणले भन्दा यी भीआईपी भनिनेहरुले संक्रमणको विवरण लुकाइरहेका छन्। अख्तियारदेखि अन्य निकायका ठूला संक्रमितले जवरजस्ती विवरण लुकाइरहेका छन्। उनीहरुले विवरण लुकाएपछि सम्पर्कमा आएका अरुले कसरी जोगिने? ठूलाबडा भनिनेहरुबाट समुदायलाई बढी खतरा देखिएको छ।’
बिहीबार जारी गरेको एक विज्ञप्तिमा स्वास्थ्य मन्त्रालयले कुनै पनि व्यक्तिलाई शंका लागेर परीक्षणका लागि नमूना दिएर संक्रमणको नतिजा आएपछि ‘आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई जानकारी गराउन, उहाँहरुको निगरानी बढाउन, परीक्षणका लागि सहयोग गर्न’ आग्रह गरेको छ।
सार्वजनिक पदमा र उच्च ओहदामा रहेका व्यक्तिहरुमा संक्रमण हुँदा उनीहरुले भेटेका सबैजनालाई व्यक्तिगतरुपमा जानकारी गराउन व्यवहारिक नहुने हुँदा पनि सार्वजनिक जानकारीको उपाय अपनाउने गरिन्छ।
त्यसैगरी कतिपय व्यक्तिले सार्वजनिक गर्ने नगर्ने विषय घिमिरेको व्यक्तिगत कुरा भएपनि उच्च ओहोदामा रहेका र सार्वजनिक छवि भएका व्यक्तिले त्यस्तो विषयलाई सामान्य रुपमा लिई सबैलाई जानकारी दिँदा सकारात्मक सन्देश समेत जाने तर्क गरेका छन्।

प्रतिक्रिया