प्रदेश २ मा बुधबार ३८३ जना कोरोना संक्रमित थपिएका छन्।
सबभन्दा बढी पर्सा जिल्लामा १९६ जना छन्। यस्तै सर्लाहीमा ८९, रौतहटमा ३७, धनुषामा २७, बारामा २४, महोत्तरीमा ७ र सप्तरीमा १ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए।
निर्देशनालयका अनुसार बुधबार भेटिने ३८३ संक्रमित मध्ये ८७ जना महिला छन्। यो सँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ हजार ८८३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा कोरोना संक्रमाणबाट एक महिलासहित ३ जनाको मृत्यु भएको छ। पर्सा जिल्लाका ६० र ८२ वर्षका दुई पुरुष र ४० वर्षकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले जनाएको छ।
प्रदेश २ मा कोरोना संक्रमणबाट बुधबारसम्म मृत्यु हुनेको संख्या ५० पुगेको छ।
पछिल्लो २४ घण्टामा यस प्रदेशका विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात १२ महिलासहित ८६ जना कोरोना मुक्त भएर घर फर्केको पनि निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया