समाज


नर्सका पीडाः एकातिर रोगको संक्रमण, अर्कातिर समाजको आक्रमण

नर्सका पीडाः एकातिर रोगको संक्रमण, अर्कातिर समाजको आक्रमण

यज्ञराज जोशी
भदौ ११, २०७७ बिहिबार ६:३९,

अघिल्लो हप्ता भरतपुर सेन्ट्रल हस्पिटलमा कार्यरत् एक नर्सलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भयो। उनी उपचारमा संलग्न रहेका एक बिरामीमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीमा पनि संक्रमण पुष्टि भएको थियो।

फ्रन्टलाइन (अग्रपंक्ति)मा खटिएर काम गरेकी उनी आफू संक्रमित भएपछि सामाजले उनको परिवारप्रति गरेको व्यवहारले ठूलो मानसिक तनाव भएको उनी बताउँछिन।

‘संक्रमित भएपछि म छुट्टै अस्पतालको आइसोलेसनमा उपचाररत् थिए। तर, मानिसहरुले संक्रमितको घर भन्दै डोरी, पोस्टर किन नटासेको भन्ने, प्रहरीलाई पठाउने जस्तो कार्य गरेर परिवारलाई एकदमै धेरै मानसिक तनाव दिए,’ उनले दुखेसो पोखिन्, ‘मलाई पो पोजिटिभ देखिएको हो। मेरो परिवारलाई त हैन नी? किन कोरोना लाग्यो भन्दैमा हाम्रो सामाजले अमानवीय व्यवहार देखाएको?’

सोही अस्पतालकी अर्की संक्रमित नर्स सिम्रन तिवारीले सामाजिक सञ्जालमै बिरामीको उपचारमा खटिदा खटिदै पनि उल्टै सामाजबाट छिःछि दूरदूरको अवस्था आउनु दुर्भाग्य भएको बताएकी छिन।

‘कयौं रात बाबा–मामु कतै छोरी संक्रमित त हुने होइन भनेर निदाउँनु भएको थिएन। भोली समाजले के भन्ला? छिःछि दूरदूर गर्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो,’ उनले लेखेकी छिन्, ‘म कर्म पुरा गर्दा संक्रमित भएको हुँ। संक्रमितलाई समाजले हेर्ने नजर राम्रो बनाउन जरुरी छ। सामाजको यस्तै दृष्टिकोणले नर्सहरुले नै काम गर्न छाडिदिने हो भने कस्तो हालत होला?’

नेपालमा नर्सहरुले एकातिर उपचारमा खटिदा रोगबाट संक्रमित हुनुपरिरहेको छ भने अर्कातिर सामाजको व्यवहारले मानसिक तनाव व्येहोरिरहनु परेको छ।

नियमित अस्पतालबाट घर, कोठामा फर्कने नर्सहरुमाथि पनि उनीहरुबाट कोरोना भाइरस सर्ने आशंका व्यक्त गर्दै दुर्व्यवहार गरिएका घटनाहरु सार्वजनिक भएका छन।

गत शनिबारमात्रै काठमाडौंको बानेश्वरमा स्वास्थ्यकर्मीहरु राखिएको होस्टेलमा स्थानीयले हुलहुज्जत गरेका थिए। यस्तै ललितपुर, दाङ, धनगढीमा नर्सहरु कोठाबाट निकालिएका घटनाहरु बाहिर आए।

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई अहिले मानिसहरुले आफ्नो घरवरपर, छिमेकमा स्वास्थ्यकर्मीहरु नै नभईदिएको भए हुन्थ्यो भन्ने मानसिकता बनाएको बताउँछिन।

‘पहिले स्वास्थ्यकर्मीलाई घरमा राखेर खुशी हुनेहरुले पनि अहिले स्वास्थ्यकर्मी नआओस भन्ने मनस्थिति बनाएको भेटेका, सुनेका छौं,’ राईले भनिन्, ‘कोरोना लिएर आउँछ कि भनेर भरसक घरमै नआए हुन्थ्यो भन्ने व्यवहार थुप्रैले भोग्नुपरेको छ।’

यस्तै व्यवहारबाट वाक्क भएका स्वास्थ्यकर्मीहरुले अहिले सामाजिक सञ्जालमा ‘आफ्ना घरअघि प्रदर्शन गर्ने कि आफूबाट स्वास्थ्य सेवा लिने? एक विकल्प छान्न’ भनी संकेतिक बिरोध गर्दै जनाइरहेका छन।

नर्सिङ संघकी अध्यक्ष राईले शिक्षित तप्काबाट पनि दुर्व्यवहारका घटना दोहोरिएकाले समाजमा चेतनाको स्तर निकै कमजोर भएको बताइन। उनले सरकारले कोरोनाभाइरस कसरी सर्छ? भनेर चेतना जगाउनुका साथै कसैले दुव्यर्वहार गरिहाले तत्काल कारवाही गर्नुपर्ने बताइन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार हाल देशभर चार सय ५० स्वास्थ्यकर्मी संक्रमित हुँदा त्यसमा एक सयको संख्यामा नर्सहरुमात्रै संक्रमित भएका छन। राईले यतिका संख्यामा नर्सहरु संक्रमित हुनु गम्भीर चिन्ताको विषय भएको बताइन।

‘नर्सहरु प्रत्यक्षरुपमा बिरामीको सेवामा पटकपटक निकट सम्पर्कमा रहनुपर्ने भएकाले बढी संक्रमित हुने अवस्था देखिएको हो,’ उनले भनिन्, ‘अस्पतालहरुमा सुरक्षाका उपायहरु अपनाइएका छन् कि छैनन, पीपीई पुग्यो कि पुगेन? पुग्यो भने कसरी सर्‍यो भनी खोजी गर्नुपर्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले स्वास्थ्यकर्मीमाथि भएको दुव्यर्वहारको घटनालाई गम्भीररुपमा लिएको भन्दै तत्काल कारवाहीका लागि गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको जनाएका छन।

उनले स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अन्य बिरामीको उपचारमा समस्या हुने भन्दै सुरक्षित भएर काम गर्न सबैलाई आग्रह गरे।

‘स्वास्थ्यकर्मीको संक्रमित दर बढ्दो छ। ओपीडीमा हेर्दा, वार्ड राउण्ड हेर्दा बिरामीसँग सम्पर्कमा आउँदा, मास्क, चस्मा, टोपी, वाटरप्रुफ गाउन, क्लोज सुज लगाउने र बिरामी हेरेपछि साबुनपानीले हात धुने गर्नुपर्छ,’ उनले भने, ‘आइसीयू र कोभिड वार्डमा काम गर्ने चिकित्सकले अनिवार्य पीपीई सेट र एन९५ मास्क लगाएर आफूलाई संक्रमणबाट जोगाउन सकिन्छ।’

गौतमले यदि स्वास्थ्यकर्मीलाई सामग्री नभए अस्पताल सुपरिटेन्डेन्ट र निर्देशकले व्यवस्थापन गर्न र व्यवस्थापन गर्न नसक्ने अवस्थामा स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .