समाज


पहिरोले थुनिएको भूजीखोलाको ताल फुट्दा बागलुङमा ठूलो बाढी, २४ जना अझै बेपत्ता

पहिरोले थुनिएको भूजीखोलाको ताल फुट्दा बागलुङमा ठूलो बाढी, २४ जना अझै बेपत्ता

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार १:३७,

बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका-९ बोबाङमा मृत्यु भएका १४ मध्ये चार शवको सनाखत भएको छ।

पहिरोमा परी २४ जना बेपत्ता छन्। शव सनाखत हुनेमा ढोरपाटन-९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेका प्रहरीले जनाएको छ।

शव भेटिएका १० जनाको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।

उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ। घटनामा बेपत्ताको आज बिहानैदेखि खोजी शुरु भएको रेग्मीले जानकारी दिए।

रातको समयमा आएको बाढी र पहिरोमा परि धेरैले ज्यान बचाउन नसकेका हुन्। केही मानिसले भागेर ज्यान बचाएका थिए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो। बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएको छ।

कति क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।

पहिरोले फलेघर र सुपुर्दुङका दजर्न बढी घर बगाएको छ भने वडा नं ८ सम्म आइपुग्दा ४० घर बगेका छन्। अधिकांस घरको भग्नावशेषसमेत देखिएको छैन।

बस्ती भएको स्थानमा अहिले खोला बगेको छ। ढोरपाटन जाने सडकको देउरालीबाट खसेको पहिरोले भुजीखोला थुनिएर ताल बनेको र त्यसपछि ताल फुटेर एकैपटक बाढी आउँदा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad