सप्तरी र सिरहा जिल्लाका गाउँ जोड्न बलान खोलामा झोलुंगे पुल बन्ने भएको छ।
सप्तरीको बलान बिहुल गाउँपालिकास्थित दूधैला घाट र सिरहाको भगवानपुर गाउँपालिकाको सिनुरियाघाट जोड्ने गरी सीमामा रहेको बलान खोलामा झोलुंगे पुल बन्न लागेको हो।
नेपाल सरकार र स्वीस बैंकको साझेदारीमा बन्न लागेको पुलको लम्बाइ २७२ मिटर रहने बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए। गोइतका अनुसार पुलको लागत करीब रु तीन करोड हुने छ।
वर्षाका बेला बलान खोलामा आउने बाढीले सप्तरी र सिरहाको सीमाक्षेत्रका बासिन्दा प्रभावित हुने गरेको र आवतजावत ठप्प हुने गरेको थियो। झोलुंगे पुल बन्ने भएपछि स्थानीयवासी सुखी भएका छन्।
कोभिड–१९ को संक्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञाका कारण धेरै आयोजनाका काम ठप्प भए पनि निर्माणस्थललाई पूर्ण रूपमा बन्द गरेर आजदेखि पुलको काम शुरु गरिने भगवानपुर गाउँपालिकाका अध्यक्ष बेचन यादवले बताए।
कामदारको सुरक्षासहित निर्माणको कामलाई अगाडि बढाइने जनाइएको छ। रासस
Shares

प्रतिक्रिया