भारतका प्रसिद्ध सामाजिक अभियन्ता स्वामी अग्निवेशको निधन भएको छ।
भारतीय सञ्चार माध्यमहरुले अग्निवेशको निधन दिल्लीको एक अस्पतालमा भएको जनाएका छन्। कलेजोको समस्याको कारण गम्भीर अवस्थामा उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनी ८० वर्षका थिए।
आन्ध्रप्रदेशको ब्राम्हण परिवारमा जन्मिएका अग्निवेश सन्यासी बनेका थिए। उनले भारतमा बँधुवा मुक्ति मोर्चा खोलेर बँधुवा मजदुरविरुद्ध अभियान सञ्चालन गरेका थिए।
उनी सन् १९७७ मा हरियाणा विधानसभामा निर्वाचित भएका थिए र दुई वर्ष शिक्षा मन्त्री बनेका थिए।
प्रदर्शनमा उत्रिएका बँधुवा मजदुरमाथि अन्धाधुन्ध गोली हान्ने प्रहरीमाथि राज्य सरकारले कारवाही गर्न नमानेपछि उनले पदबाट राजीनामा दिएका थिए।
भारत प्रशासित कश्मिरमा सशस्त्र गतिविधि तीव्र भएको समयमा पनि उनले शान्ति स्थापनाका लागि पटक पटक अभियान चलाएका थिए।
उनी विभिन्न अभियानको क्रममा नेपाल पनि पटक पटक आएका थिए। बाराको गढीमाईमा हुने पशुबली रोक्ने अभियानको क्रममा उनी नेपाल आएका थिए।
नेपाली नेताहरुसँग राम्रो सम्बन्ध रहेका स्वामी अग्निवेश पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र हिसिला यमीको विवाहको प्रमुख अतिथि थिए।

प्रतिक्रिया