समाज


प्रहरीलाई विपरीतलिंगीसँग हेलमेल गर्न रोक, सामाजिक सञ्जाल प्रयोगमा कडाइ

प्रहरीलाई विपरीतलिंगीसँग हेलमेल गर्न रोक, सामाजिक सञ्जाल प्रयोगमा कडाइ

उजिर कार्की
भदौ ३०, २०७७ मंगलबार १४:११,

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश सार्वजनिक भएको छ। प्रहरी कर्मचारीको आचरण एवम् व्यवहारमा सुधार गर्न भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नयाँ आचारसंहिता जारी गरेका हुन्।

नेपाल प्रहरीको आचरण एवं व्यवहारमा समयानुकूल सुधार गर्दै प्रहरी कर्मचारीलाई शिष्ट, मर्यादित, जवाफदेही, कर्तव्यनिष्ठ, नैतिकता र अनुशासनप्रति प्रतिबद्ध बनाउन आवश्यक भएको भन्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ जारी ल्याइएको हो।

महानिरीक्षक थापाले जारी गरेको आदेशमा विपरीतलिङ्गीसँग अनावश्यक हेलमेलमा कडाइ गरिएको छ।

‘अभिवादन स्वरूप हात मिलाउनु स्वाभाविक भए तापनि विपरीतलिंगीलाई मौका पाउनासाथ थपथपाउने वा मुसार्ने, टाँसिने, छुने, चिमोट्ने कार्य नगर्ने, राम्रो काम गरे बापत स्पर्श गर्न पाउने मनसायले विपरीतलिंगीलाई धाप मार्नु नहुने,’ कार्यदेशमा भनिएको छ।

यस्तै प्रहरी कर्मचारीले अनुमतिबिना विदेशी नियोग, विदेशी कूटनीतिक व्यक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग भेटघाट, सम्पर्क तथा सहकार्य गर्न नपाउने भएका छन्।

सेवा प्रवाह गर्दा कुनै प्रकारको आग्रह पूर्वाग्रह नराख्न र समान व्यवहार गर्न र संगठनको गरिमा बढाउने किसिमको उच्च नैतिकता देखाउन कार्यदेशमा भनिएको छ।

यस्तै जाति विशेष, लिंग विशेष, धर्म विशेष, सम्प्रदाय विशेष, शरीर विशेषका आधारमा होच्याउने, हेप्ने, टिप्पणी गर्ने, मजाक गर्ने, हाउभाउ प्रकट गर्ने जस्ता क्रियाकलाप नगर्न पनि कार्यदेशमा भनिएको छ।

प्रहरी अधिकृत तथा जवानहरूबीच एकापसमा भाइचारापूर्ण एवं सुमधुर पारस्परिक सम्बन्ध कायम गर्न, आफ्नो कामप्रति अद्यावधिक भइरहन, आर्थिक पारदर्शिता कायम गर्न पनि आदेश दिइएको छ।

ड्युटी गर्दा तथा सेवा प्रवाह गर्दा विनम्रताका साथ सभ्य र शिष्ट बोलीचालीको प्रयोग गरी यथासम्भव शीघ्र, सहज र जवाफदेही ढंगबाट सेवा प्रदान गर्नुपर्ने र फरक क्षमता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई प्राथमिकतामा राखी सेवा प्रवाह गर्न पनि निर्देशन दिइएको छ।

यस्तै प्रहरी कर्मचारीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न, मन्तव्य दिन या अन्य टीकाटिप्पणी गर्न नहुने र व्यक्तिगत स्वार्थपूर्ति वा आफ्नो व्यक्तिगत लोकप्रियताको लालचमा सञ्चारमाध्यमको प्रयोग गर्न तथा सोही प्रयोजनले सूचना चुहावट वा सम्प्रेषण गर्न नहुने कार्यदेशमा उल्लेख छ।

प्रहरीले सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डतामा खलल पार्ने, साम्प्रदायिक दंगा भड्काउने, आतंककारी गतिविधिलाई प्रश्रय दिने, शान्ति सुरक्षामा खलल पार्ने तथा अपराध अनुसन्धानलाई प्रभावित पार्ने गतिविधिहरू प्रकाशन, प्रसारण गर्न तथा त्यस्ता विषयमा लाइक, कमेन्ट र सेयर गर्न प्रतिबन्ध लगाइएको छ।

कार्यादेशको पालना भए नभएको केन्द्रदेखि स्थानीय कार्यालयसम्म नै अनुगमन हुने भएको छ। यसका लागि हरेक कार्यालयमा अनुगमन समिति बनाइने उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .