समाज


फाइदा सुनिश्चित नहुँदा नेपालमा अघि बढेन कोरोनाविरुद्धको खोपको परीक्षण

फाइदा सुनिश्चित नहुँदा नेपालमा अघि बढेन कोरोनाविरुद्धको खोपको परीक्षण

यज्ञराज जोशी
असोज ४, २०७७ आइतबार १३:४६,

परीक्षण गरेबापत पाइने फाइदा सुनिश्चित नहुँदा नेपालमा कोरोनाविरुद्धका खोपहरुको परीक्षण अघि बढ्न सकेको छैन।

नेपालमा चार कम्पनीले आफ्नो कोरोनाविरुद्धको खोपको तेस्रो चरणको ‘क्लिनिकल ट्रायल’ गर्ने गर्ने इच्छा देखाएका थिए। चीन, रुस, अस्ट्रेलियाका कम्पनी र अक्सफोर्ड विश्वविद्यालयले तेस्रो चरणको खोपको परीक्षण गर्न प्रस्ताव राखेका थिए।

तर, खोप परीक्षण गरेवापत नेपालले के पाउने भन्ने सुनिश्चितता ती कम्पनीले नगरेका कारण नेपालमा खोप परीक्षण अघि बढ्न नसकेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रा.डा. प्रदीप ज्ञवालीले बताए।

‘प्रस्ताव धेरैका आएका छन। रिचर्सलाई हामीले रोक्दैनौं पनि,’ उनले भने, ‘तर कम्पनीहरुले रिसर्चपछि हामीले के पाउँछौँ भन्ने कुराको सुनिश्चितता गरेका छैनन्। ट्रायलपछि सहज रुपमा र सहुलित मूल्यमा खोप उपलब्ध हुने ग्यारेन्टी भए ट्रायल अघि बढ्छ।’

ज्ञवालीले अहिले आएका प्रस्तावहरु एजेन्टमार्फत आएको र आफूहरु सीधै कम्पनीसँग कुराकानी गरिरहेकाले पनि ट्रयाल अघि नबढेको बताए।

‘चिनियाँ कम्पनीका निर्देशकसँग कुराकानी गर्दा उनीहरुले ट्रयाल गर्छौँ भनेका छन्। तर त्यसवापत नेपालले पाउने सुविधाबारे सुनिश्चित भएको छैन,’ उनले भने, ‘अन्य प्रस्ताव गर्ने कम्पनीसँग पनि हामी सीधै कुराकानी गरिरहेका छौं। एक डेढ हप्ताभित्र केही कुरा टुंगिएला’

परिषद्का एथिकल रिभ्यु बोर्डका अध्यक्ष प्रा.डा. प्रकाश घिमिरेले नेपालमा खोप परीक्षण हुँदा त्यसले फाइदा पुग्ने बताउँछन्।

‘हाम्रो देशमा अन्य ठाउँको भन्दा फरक खालको भाइरस हुनसक्छ। परीक्षण गर्दा हाम्रो सन्दर्भमा त्यो खोप प्रभावकारी छ कि छैन भन्ने थाहा हुन्छ,’ उनले भने, ‘परीक्षण गरिएका देशमा कम्पनीले खोप सहुलियत मूल्यमा उपलब्ध गराउने गर्छन्। त्यो फाइदा पनि हुन्छ।’

त्रिभुवन विश्वविद्यालयका माइक्रोबाइलोजीका प्राध्यापक समेत रहेका घिमिरेले मानवमा परीक्षण गर्नुअघि प्रयोगशाला र जनावरमा पनि खोप कति सुरक्षित छ भनेर हेरिने भएकाले परीक्षणका लागि डराउनुपर्ने अवस्था नभएको बताए।

‘खोप परीक्षणका लागि एथिकल प्राक्टिस गरिन्छ। ल्याब, जनावर र केही मान्छेमा परीक्षणपछि मात्रै यस्तो ठूलो परीक्षण गरिन्छ,’ उनले थपे, ‘कुनै साइड इफेक्ट देखियो भने तत्काल परीक्षण रोक्ने र उपचार गराउने सर्त सुरुमै उल्लेख हुने भएकाले डराउनुपर्ने आवश्यकता छैन।’

नेपालमा कुनैपनि खोप परीक्षण गर्नुअघि व्यक्तिको मञ्जुरीनामा लिने, बीचमा छाड्न चाहेमा छोड्न सक्ने, कुनै साइड इफेक्ट देखिएमा उपचारको व्यवस्था गर्ने मापदण्ड रहेको उनले बताए।

विश्वमा अहिले विभिन्न ९ खोप परीक्षणको तेस्रो चरणमा छन्। तेस्रो चरणमा पुगेका खोपमा चीनका चार वटा तथा बेलायत, रुस, अमेरिका, जर्मनी र बेल्जियमका एक–एक छन्।

जसमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर बनाएको खोप, अमेरिकाको मोर्डनाको खोप, चीनको नेसनल बायोटेक ग्रुप, सिनोभाक बायोटेक, क्यानसिनो बाइलोजी, बेल्जियमको जेन्सिन फर्मा, रुसको गामालेया रिसर्च इन्सिच्युट र जर्मनीको बायोएनटेक कम्पनीले निर्माण गरेका खोप छन्।

तेस्रो चरणमा खोप लगाएको कम्तीमा तीन महिनापछि त्यसको प्रभावकारिताबारे थाहा पाउन सकिने भएकाले यसवर्षको डिसेम्बर अन्त्यसम्म खोप उपलब्ध हुने आकलन गरिएको छ। तेस्रो चरणमा खोप लाभदायक भए आम प्रयोगमा आउनेछ।

धनी देशहरुले खोप उत्पादकहरुसँग लाखौं डोजका लागि दुई पक्षीय सम्झौता गरिसकेका छन् भने नेपालजस्ता देशका लागि डब्लूएचओले कोभ्याक्स नामक कार्यक्रमबाट खोप उपलब्ध गराउनेछ।

कोभ्याक्समा हालसम्म १७२ देश आवद्ध भइसकेका छन्। खोप उपलब्ध भएपछि यही कार्यक्रममार्फत कम्तीमा आवद्ध देशका २० प्रतिशत जनतालाई पुग्ने गरी खोप उपलब्ध गराउने डब्लूएचओले जनाएको छ। त्यसबाहेक मुलुकहरुले कम्पनीसँग सोझै पनि खोप किन्न सक्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .