समाज


अस्पतालले आईसीयू, भेन्टिलेटर बेड ‘लुकाउँदा’ ज्यान गुमाउँदै संक्रमित

अस्पतालले आईसीयू, भेन्टिलेटर बेड ‘लुकाउँदा’ ज्यान गुमाउँदै संक्रमित

यज्ञराज जोशी
असोज २२, २०७७ बिहिबार ७:३२,

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सो प्रदेशमा ४३५ आईसीयू बेड र १९८ वटा भेन्टिलेटर तयारी अवस्थामा छन्।

तीमध्ये उपत्यकाको काठमाडौंमा १२० आईसीयू र ६० बेड भेन्टिलेटर, ललितपुरमा १०२ आईसीयू र ६८ बेड भेन्टिलेटर र भक्तपुरमा २० आईसीयू र १२ भेन्टिलेटर बेड छन्।

यता स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार बुधबारसम्म बागमती प्रदेशमा १२७ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत छन।

यस तथ्यांकलाई हेर्दा बेड संख्याको आधा भन्दा पनि कम संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत् रहेको स्पष्ट हुन्छ। बेड संख्याको तुलनामा कोरोनाका बिरामीले ओगटेको संख्यामात्रै घटाउने हो भने यस प्रदेशमा ३०८ आईसीयू तथा १७३ बेड भेन्टिलेटर खाली हुनुपर्ने हो।

संघीय राजधानी काठमाडौंसहितको यो प्रदेशमा कोरोनाबाहेकका अन्य बिरामीले समेत केही संख्यामा बेड ओगटेको भएपनि आईसीयू र भेन्टिलेटरको अभाव नदेखिनुपर्ने हो।

तर, पछिल्ला दिनमा बिरामीका आफन्त र चिकित्सकहरुले नै आईसीयू र भेन्टिलेटर बेडको अभावका कारण संक्रमित छटपटाउनु परिरहेको गुनासो गर्न थालेका छन।

सोमबारमात्रै भेन्टिलेटर नपाएर स्टार अस्पतालको आईसीयूमा उपचाररत एक संक्रमितको मृत्यु भएको थियो। ती संक्रमितका आफन्त सुवास अधिकारीले उपत्यकाका सबै अस्पतालमा भेन्टिलेटर खोज्दा नपाएको गुनासो गरे।

‘दिनभर निकै प्रयासपछि साँझ ६ बजे बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालले अर्कोदिन एक भेन्टिलेटर उपलब्ध हुने खबर गरेको थियो। तर आवश्यक परेका बेला भेन्टिलेटर नपाएपछि साँभैm नै उहाँले प्राण त्याग्नुभयो,’ सुवासले नेपालखबरसँग भने।

उनले उपत्यकाका पाटन, वीर, शिक्षण, आर्मी, टेकुलगायत सम्पूर्ण अस्पतालमा फोन गरेपनि कहीँ पनि भेन्टिलेटर पाएनन्।

यस्तै ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले पनि आफ्नो अस्पतालमा आईसीयू बेडको अभाव भएको बताएका छन। उनले धेरै मानिसहरुले आईसीयू बेड खोजेपनि आफूहरु पुर्याउन असमर्थ रहेको बताए।

उनी भन्छन्, ‘धेरैजनाले आईसीयू बेडका लागि आग्रह गर्नुभएको छ। हाम्रोमा भएका सबै भरिएपछि तनाव सुरु भएको छ। हामी सक्दो प्रयासका लागि प्रयत्नशील छौं।’

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंको पछिल्लो तथ्यांकअनुसार भने कोभिड अस्पतालहरुमै आईसीयू र भेन्टिलेटर खाली रहेको देखाउँछन।

कार्यालयको तथ्यांकअनुसार त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १२ वटा आईसीयू र ६ वटा भेन्टिलेटर छुट्टाइएको छ। जसमध्ये मंगलबारसम्म ७ जना आईसीयूर र ३ जना भेन्टिलेटरमा उपचाररत् छन। त्यसबाहेकका बेडहरु खाली छन।

यस्तै २० वटा आईसीयू र ८ वटा भेन्टिलेटर भएको एपीएफ अस्पतालमा मंगलबारसम्म ७ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत छन भने आर्मी अस्पतालमा २० वटा आईसीयू र ८ वटा भेन्टिलेटर छन। अस्पतालमा हाल १८ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको तथ्यांक स्वास्थ्य कार्यालयसँग छ।

यस्तै भक्तपुरमा पनि आइसीयू तथा भेन्टिलेटर खाली रहेको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

कोरोना संक्रमितका लागि छुट्टाइएका २० मध्ये १५ आइसीयू बेड र १२ भेन्टिलेटर खाली रहेको मिजारले जनाए। जिल्लाको भक्तपुर अस्पताल, केएमसी अस्पताल दुवाकोट, नेपाल कोरियामैत्री अस्पतालमा आइसीयू, भेन्टिलेटर बेड उपलब्ध रहेको उनले बताए।

सरकारी अस्पतालले नै बेड लुकाएः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले आईसीयू र भेन्टिलेटर बेड अभाव हुने अवस्था नभएको बताएको छ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारी अस्पतालहरुले समेत हुँदाहुँदै पनि बेड नभएको जनाएकाले अब आफूहरुले अनुगमन गर्ने बताए।

‘अस्पतालले अरु बिरामीलाई चाहिन्छ भनेर राखिरहेका होलान। आईसीयू र भेन्टिलेटरको अभाव छैन,’ प्रवक्ता गौतमले भने, ‘हामीसँग कुन अस्पतालमा कति बेड र तीनमा कति बिरामी छन भन्ने तथ्यांक छ। हामी अनुमगन गर्छौ, खोज्छौं र त्यस्तो भेटियो भने सम्झाउँछौं।’

प्रवक्ता गौतमले संक्रमितको संख्या बढ्दै गएकाले बेडहरु अभाव हुँदै गएको बताए। यही अवस्था रहे अस्पतालले पनि भार थाम्न नसक्ने र व्यवस्थापनमा पनि चुनौति हुने भन्दै उनले जनस्वास्थ्यका मापदण्ड ख्याल गर्न सबैलाई आग्रह गरे।

सामाजिक विकास मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक तथा कोभिड प्रवक्ता डा.पुरुषोत्तमराज सेडाईले बागमती प्रदेशमा आधा जसो आईसीयू र भेन्टिलेटर बेडहरु खाली रहेको बताए।

सेडाईले प्रदेशमा सरकारी र निजीका आईसीयू र भेन्टिलेटर बेडको अनुपात जोड्दा ५० प्रतिशतमात्रै बिरामी रहेको बताए। यस्तै सरकारी अस्पतालहरुमा दैनिक २५ देखि ३० प्रतिशत आईसीयू र भेन्टिलेटर बेडहरु खाली हुने गरेको उनको भनाइ छ।

‘भेन्टिलेटर र आईसीयू नपाएर मनुपर्ने अवस्था छैन। बेड छैन भनेर मानिसहरुले अफवाह फैलाएका हुन कि साँच्चै यस्तै अवस्था आएको हो हामी पनि अध्ययन गर्दैछौं,’ सेडाईले भने, ‘आईसीयू र भेन्टिलेटर चाहिने बिरामीहरु गम्भीर प्रकृतिका हुन्छन। त्यस्तालाई पनि बेड हुँदाहुँदै छैन भन्नु अमानवीय हो। यसलाई हामीले गम्भीर रुपमा लिएका छौं।’

उनले एउटा बिरामी डिस्चार्ज हुने र अर्को बिरामी आउनेबीचको तालमेल नमिलेर, कतिपय अस्पतालले गम्भीर बिरामीलाई लिन नचाहेकोले पनि बेड नभएको भन्न सक्ने बताए।

यस्तै निजी अस्पतालमा उपचार खर्च धेरै लाग्ने भएकाले सबैले सरकारी अस्पताल रोज्दा बेड अभावको स्थिति देखिन सक्ने उनी बताउँछन।

तर सरकारले कोरोना संक्रमितको उपचार गरेवापत निजी अस्पताललाई पनि अनुदानमा रकम दिदैँ आएको छ। जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत निजी अस्पतालले दैनिक १५ हजार रुपैयाँ स्वास्थ्य मन्त्रालयबाट अनुदान पाउँछन।

यति व्यवस्था हुँदाहुँदै पनि आईसीयू, भेन्टिलेटर लुकाउनु गैर मानवीय भएको र आफूहरु यसको अध्ययन गरिरहेको सेडाईले बताए।

जहाँ प्रायः भरिभराउ हुन्छ
उपत्यकाका पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकू र वीर अस्पतालका आईसीयू र भेन्टिलेटरका बेड भने सदैव प्रायः भरिभराउन हुने गरेका छन। वीर र शुक्रराज अस्पताललाई सरकारले कोभिड अस्पताल नै बनाएको छ।

पाटन अस्पतालका १५ वटा आईसीयू, १५ वटा भेन्टिलेटर, वीर अस्पतालमा १० वटा आईसीयू र १० वटा भेन्टिलेटर र शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २० वटा आईसीयू, ५ वटा भेन्टिलेटर छन।

टेकू अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले एउटा पनि आईसीयू बेड कहिल्यै पनि खाली नहुने अवस्था रहेको बताए।

‘एकदमै इमर्जेन्सीका लागि पनि आईसीयू बेड खाली हुने अवस्था छैन। बेडै खाली नभएर केहीलाई इमर्जेन्सीमै रोक्नुपर्छ,’ डा. राजभण्डारीले बताए।

याे पनि: उपत्यकामा ९९ आईसीयू र ४९ भेन्टिलेटर बेड खाली : स्वास्थ्य मन्त्रालय

दैनिक १५–२० जटिल केस
काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिकी सदस्य तथा स्वास्थ्य कार्यालय काठमाडौंकी सुचना अधिकारी पार्वती विष्ट उपत्यकामा दैनिक १५ देखि २० जनासम्म जटिल प्रकृतिका बिरामीहरु थपिने गरेको बताउँछिन।

सोहीकारण बिरामीलाई आईसीयू, भेन्टिलेटर बेड भन्ने बित्तिकै व्यवस्थापन गर्न गाह्रो परेको उनले बताइन। जिल्ला कोभिड संकट व्यवस्थापन समितिले यही कुरा ध्यानमा राख्दै सरकारलाई उपत्यकामा आईसीयू र भेन्टिलेटर थप्नुपर्ने भन्दै पत्र लेखिसकेको उनले बताइन।

‘दैनिक गम्भीर प्रकृतिका बिरामीहरु १५ देखि २० जनाको संख्यामा थपिइरहेका छन। जसमध्ये केहीलाई अक्सिजन दिएर राखिन्छ, केहीलाई अक्सिजन तथा केहीलाई भेन्टिलेटरमा राखिन्छ,’ उनले भनिन्, ‘यो संख्या बढ्दै जाने भएकाले भएकै अस्पतालमा आईसीयू र भेन्टिलेटर थप्नुपर्ने वा अन्य अस्पतालमा पनि गम्भीर प्रकृतिका बिरामीलाई उपचारको व्यवस्था मिलाउन हामीले लेखि पठाएका छौं।’

६ हजार ‘हाई डिपेन्डेन्सी युनिट’ थपिँदै
गम्भीर प्रकृतिका बिरामीहरु थपिँदै गएपछि स्वास्थ्य मन्त्रालयले जनरल वार्डभन्दा सुबिधा सम्पन्न ६ हजार ‘हाई डिपेन्डेन्सी युनिट’ थप गर्ने निर्णय गरेको छ।

मन्त्रालयको आइतबार भएको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले देशभर उक्त संख्यामा ‘हाई डिपेन्डेन्सी युनिट’ थप्ने निर्णय गरेको हो।

‘यो युनिटमा मुटुको धड्कन र रगतमा अक्सिजनको मात्रा हेर्न मिल्ने कार्डियो मोनिटर जडान गरिएको हुन्छ,’ प्रवक्ता डा. गौतमले भने, ‘जनरल वार्डमा राख्न नहुने र आईसीयू नचाहिने तर चिकित्सकको २४सै घण्टा निगरानी चाहिने संक्रमितलाई हाई डिपेन्डेन्सी युनिटमा राखेर उपचार गर्न सकिन्छ।’

मन्त्रालयले एउटा प्रदेशमा ५ सयका दरले ३ हजार ५ सय र काठमाडौं उपत्यकामा २ हजार ५ सय हाइ डिपेन्डेन्सी यूनिट थप्ने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .