समाज


छाङरुसम्मको गोरेटो बाटो मर्मतको काम गर्न स्थलगत सर्वेक्षण

छाङरुसम्मको गोरेटो बाटो मर्मतको काम गर्न स्थलगत सर्वेक्षण

नरेन्द्रसिह कार्की
असोज २३, २०७७ शुक्रबार १३:२२,

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले व्यास गाउँपालिकाको वडा नं २ दुम्लीङदेखि वडा नं १ तिंकरसम्मको गोरेटो बाटो निर्माण तथा मर्मतको कार्य तत्कालै शुरु गर्ने भएको छ।

व्यासका बासिन्दाको सदरमुकाम खलंगा बसाइ–सराइ गर्नु अगावै बाटो मर्मत गर्ने विभागको तयारी छ।

व्यासको कालापानीसम्मै गोरेटो बाटो निर्माण तथा मर्मत गर्नुपर्ने ठाउँको स्थलगत निरीक्षण गरी विभागको टोली फर्किएको छ। विभागले साढे तीस किलोमिटर गोरेटो बाटोको मर्मतको काम थालनी गर्नेछ। स्थानीय पूर्वाधार विभागका इन्जिनियर जनकराज जोशी नेतृत्वको टोलीले गोरेटो बाटोको स्थलगत निरीक्षण गररेर काठमाडौं फर्किएको हो।

अहिलेलाई तत्काल व्यासको छाङरु र तिंकरका बासिन्दालाई सदरमुकाम खलंगा बसाइ–सराइ (कुञ्चा) गराउने गरी बाटो मर्मतको काम तत्कालै अघि बढाउने तयारी भएको इन्जिनियर जोशीले जानकारी दिए।

‘चार-पाँच ठाउँमा पहिरो गएर गोरेटो बाटो अवरुद्ध भएको पाइयो’, इन्जिनियर जोशीले भने, ‘पहिरो पन्छ्याएर गाई वस्तु चौरी हिँड्ने बाटो मर्मत कार्य शुरु हुन्छ।’

कसरी काम शुरु गराउने भन्ने विषयमा विभागमा छलफलपश्चात तय हुने उनको भनाइ छ। यस्तै दुम्लीङदेखि तिंकरसम्मको दुई ठाउँमा झोलुंगे पूल निर्माण गर्नुपर्ने देखिएको छ। कल्जु गाड र बुदी खोलामा झोलुंगे पूल तथा अपि खोलामा ट्रस पूल लगाउनुपर्ने देखिएको इन्जिनियर जोशीले बताए। पूल लगाउन तत्काल सम्भव नभएपनि गोरेटो बाटो मर्मत तथा निर्माणको कार्य दुई महिनाभित्र सकिने उनको भनाइ छ।

अहिले कल्जु क्षेत्र, तम्बाकु र पोला क्षेत्रमा गोरेटो बाटो बढी जोखिममा छ। यो ठाउँमा पशु चौपायालाई भारीसहित ल्याउन सकिने अवस्था नरहेको ईन्जिनियर जोशी बताउँछन्। तम्बाकु क्षेत्रमा नेपाली सेनामार्फत गोरेटो बाटो खुलाउने गरी जिल्ला सुरक्षा समिति, संघीय सांसद गणेशसिंह ठगुन्ना, वडा सरकारले समेत आग्रह पत्र पठाइसकेको छ। अन्य क्षेत्रमा विभागमार्फत काम गराएर यो बाटोलाई मर्मत कार्यमा निरन्तरता दिइने इन्जिनियर जोशीले बताए।

उनका अनुसार दुई दशक अघिसम्म नेपालतिरकै गोरेटोबाटो राम्रो रहेको र पछिल्लो समय बाटो मर्मतमा ध्यान नदिइँदा अवरुद्ध हुन पुगेको हो। विगतको बाटो पनि केही ठाउँमा राम्रो रहेको बताइएको छ। दुई मिटर चौडाई भएको बाटो उतिबेलै बनेको देखिएको छ।

व्यास गाउँपालिका वडा नं १ का वडाअध्यक्ष अशोकसिंह बोहरा बाटो मर्मतका लागि चाँडो काम हुनुपर्ने बताउँछन्।

‘मंसिरमा व्यासीले खलंगा बसाइ–सराइ गर्नुपर्ने हुन्छ’, उनले भने, ‘त्यस अगावै बाटो खोलिसक्नु पर्छ।’

अहिले यो क्षेत्रको बाटो खुलाउनका लागि स्थानीय पूर्वाधार विभागसँग रु पाँच करोडको हाराहारीमा बजेट छ। हालै मात्रै नेपाली सेनाले ५५० मिटर गोरेटो बाटो रु एक करोड बढी लागतमा निर्माण गरेको छ।

तम्बाकु, कल्जु लगायतका क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारबाट रु ३० लाख तथा गाउँपालिकाले पनि बजेट विनियोजन गरे पनि गोरेटो बाटो राम्रो बन्न सकेन। जसका कारण अहिले विभागले आफैँ त्यो बाटो खुलाउने तयारी गरेको इन्जिनियर जोशीको भनाइ छ।

घाँटीबगरमा छाङरु जोड्ने गोरेटो बाटो खुलेको र कल्जुदेखि तम्बाकुसम्म जोखिम कायमै रहेको व्यास–२ घाँटीबगरमा नेपाली सेनाले चार महिना लगाएर व्यासको छाङरु जोड्ने गोरेटोबाटो निर्माण गरि हस्तान्तरण गरिसकेको छ। बाटो निर्माण सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो। घाँटीबगरको भीर खुलेसँगै व्यासका बासिन्दालाई आवत जावतमा सहजता आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad