समाज


कोरोना संक्रमितको संख्या लाख नाघेपछि डा. पाण्डेले दिए १० बुँदे सुझाब

कोरोना संक्रमितको संख्या लाख नाघेपछि डा. पाण्डेले दिए १० बुँदे सुझाब

नेपालखबर
असोज २३, २०७७ शुक्रबार १३:३६,

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण नियन्त्रणका लागि ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउन सुझाब दिएका छन्।

उनले जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले विशेष अभियान संचालन गर्न  सुझाब दिएका छन्।

शुक्रबार कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि डा. पाण्डेले सामाजिक सञ्जालमार्फत १० बुँदे सुझाब दिँदै परीक्षणलाई व्यापक बनाउन र  हरेक अस्पताललाई चुस्त राख्न स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका हुन्।

उनले नागरिकलाई सम्भव भएसम्म घरबाहिर ननिस्कन र निस्कनै परे सही तरिकाले मास्क लगाउन र व्यक्तिगत दूरी कायम गर्न आग्रह गरेका छन्।

उनले ९० प्रतिशत संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुने भए पनि ५ प्रतिशतलाई अप्ठ्यारो गरी निको हुने र बाँकी ५ प्रतिशतलाई आईसीयुको सेवा आबश्यक हुने बताए। उनले प्रत्यक व्यक्तिले आफू ५ प्रतिशतमा पर्न सक्छु भनेर सय प्रतिशत सावधानी अपनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत डा. पाण्डेले दिएका १० सुझाब 

आज संक्रमितको संख्या १ लाख नाघेको छ। काठमाडौं उपत्यका लगायतका ठाउँमा आइसीयु बेड मात्र होइन संक्रमितको लागि आइसोलेसन बेडको समेत अभाव भएको छ। सहरमा भीडभाड ब्यापक छ, तरकारी पसल र फुटपाथको भीड निकै अत्यासलाग्दो छ। उपत्यकामा संक्रमण समुदायमा फैलिसकेको छ।
 
१. जनस्वास्थ्यका मापदण्ड पालना गराउन, अनुगमन र निगरानी प्रभावकारी बनाउन गृह मन्त्रालयले बिशेष अभियान संचालन गरोस्। स्वास्थ्य मन्त्रालयले परिक्षण ब्यापक गर्ने, हरेक अस्पताललाई चुस्त राख्ने, आबश्यकता अनुसार ठूला अस्पताल तथा मेडिकल कलेजलाई कोरोना डेडिकेटेड अस्पताल बनाउने काम गरोस्।
 
२. सेनालाई १ हजार बेडको कोभिड डेडिकेटेड अस्पताल (प्रिफ्याबको, अस्थायी) तथा १० हजार बेडको आइसोलेसन केन्द्र बनाउन सरकारले स्थान, साधन, स्रोत र छोटो समय प्रदान गरोस्।
 
३. महानगरले ५ हजार बेडको आइसोलेसन केन्द्र बनाउने भनेको थियो, त्यो कार्यान्वयन होस्।
 
४. हामी आम नागरिक सम्भव भएसम्म घरबाहिर निस्किने नगरौं ! सामान्य Exposure ले पनि धेरै व्यक्ति संक्रमित भएका छन्, अस्पताल भरिभराउ छन्।
 
५. घरबाहिर निस्किन अनिबार्य भएमा सहि तरिकाले मास्क लगाऔं, जसरी सम्भव हुन्छ, व्यक्तिगत दुरी कायम गरौँ, भीडमा जाने दुस्साहस नगरौं।
 
६. जसरी ज्यान जोगाउन तालचरा साइबेरियादेखि नेपाल आउँछन्, प्रतिकुल समयमा सर्पलगायत सरिसृप दुलोभित्र बस्छन्, जंगली जनावर कहिले यो देशमा त कहिले त्यो देशमा बसाइ सर्छन् ... त्यसै गरेर महामारीबाट बच्न सुरक्षित ठाउँमा बसौं। यो सम्पूर्ण प्राणिको प्राकृतिक तथा नैसर्गिक स्वभाव हो।
 
७. ९० % संक्रमितलाई सामान्य लक्षण देखिएर वा सामान्य उपचारले निको हुन्छ। बाँकि ५ % लाई अप्ठ्यारो गरि निको हुन्छ। बाँकी ५ % लाई आइसीयुको सेवा आबश्यक हुन्छ। कोरोनाले कसलाई कसरी आक्रमण गर्छ भन्ने कुरा थाहा हुँदैन। त्यो ५ % मा हामी जो कोहि पनि पर्न सक्छौं। तसर्थ १०० % साबधानी अबलम्बन गरौँ। कोभिडलाई सामान्य नठानौं। नेगेटिभ रिपोर्ट आउनु मात्र स्वस्थ हुनु हैन। लंग कोभिड वा पोस्ट कोभिड सिन्ड्रोमका दीर्घकालीन असर देखिएका छन्।
 
८. आधिकारिक सूचना र सल्लाह मात्र अनुसरण गरौँ। भाइरसको स्वरूप र शक्ति परिवर्तनशील हुने तथा त्यहि परिवर्तन अनुसार बैज्ञानिक वा विज्ञको सल्लाह पनि समयानुकुल हुने भएकोले एकपटक भनेको कुरा अर्को पटकको लागि पनि कम उपयोगी हुन सक्छ। तसर्थ अपडेट हुने बानी बसालौं।
 
९. राजनैतिक पार्टी, सामाजिक संस्था, क्लब, नागरिक समाज, शिक्षक, पत्रकार, स्वास्थ्यकर्मीलगायत सबै पेशा र संस्थाले जनचेतनाको लागि नागरिक परिचालन गरौँ।
 
१०. महामारीको समयमा सकारात्मक सोच, सहयोगी ब्यबहार तथा आशाबादी गुण नै ठूलो अस्त्र हो। तसर्थ आरोप प्रत्यारोप गर्नुभन्दा आफ्नो ठाउँबाट के सकिन्छ, कसरी सकिन्छ, योगदान गरौँ। सरकार र नागरिक जिम्मेवार तथा अनुशाशित बनौं। यहि एकताले नै हामीले कोरोना महामारीलाई परास्त गर्न सक्छौं।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad