समाज


दसैँको आवतजावतले कोरोना संक्रमण देशैभरी बढ्दै (भिडियो)

दसैँको आवतजावतले कोरोना संक्रमण देशैभरी बढ्दै (भिडियो)

नेपालखबर
कात्तिक १३, २०७७ बिहिबार १३:२२,

दसैँपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ।

यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडियु)को संख्या बढाउने रणनीति अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ। तर जनस्वास्थ्य विद्हरुले भने उपचारको तयारी सँगसँगै समूदायस्तरमा पीसीआर परीक्षणलाई व्यापक बनाउनुपर्ने बताएका छन्।

दसैँ सकिएसँगै यतिवेला देशका विभिन्न स्थानबाट काठमाडौं उपत्यका आउनेहरुको भिड बढेको छ। उपत्यका त्यसैपनि कोभिड संक्रमणको उच्च दर रहेको ठाउँ हो।

विभिन्न ठाउँबाट आउनेहरुको संख्या बढेसँगै स्वभाविक रुपमा संक्रमण बढ्ने उच्च जोखिम पनि रहन्छ। सार्वजनिक यातायात मार्फत उपत्यका भित्रिनेहरुमा अझबढी संक्रमण हुन सक्ने सम्भावना पनि छ।

यस्तै सार्वजनिक यातायातमा तथा यात्रा गरिरहेका यात्रुहरुले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना नगर्दा पनि संक्रमणको जोखिम बढेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण बढ्ने जोखिमको आकलन गरेर सरकारले पूर्व तयारी गरिसकेको बताए।

हाइ डिपेन्डेन्सी युनिट र आइसोलेसन वार्डको तयारी गरिसकेको उनले बताए। संक्रमणको जोखिम कम गर्ने पहिलो दायित्व व्यक्ति स्वयंको भएकोले सरकारले कारबाही गर्छु भन्दै डर देखाएर जोखिम कमगर्न सक्दैन।

यसैले व्यक्ति स्वयंले पनि काठमाडौं फर्किसकेपछाडि कम्तिमा एक हप्ता क्वारेन्टिनमा बस्न सरकारले अनुरोध गरेको पनि प्रवक्ता गौतमले बताए।

जनस्वास्थ्यविद् डा. समिरमणि दिक्षितले भने दशैंमा घरबाट फर्किएर काठमाडौं आउनेहरुबाट संक्रमण फैलने भन्दा उपत्यका भित्र रहेकाबाट नै संक्रमण फैलने सम्भावना बढी रहेको बताए। गाउँ भन्दा काठमाडौं उपत्यकामा नै संक्रमण उच्च भएकोले बाहिरबाट आउनेहरु नै जोगिनुपर्ने बताए।

काठमाडौंमा संक्रमणमा नपर्नका लागि नियमित रुपमा मास्क लगाउने, दूरी कायम गर्ने र भिडभाडमा नजाने गर्नुपर्ने हुन्छ। जाडो मौसममा घर भित्र खुला वातावरण नहुने भएकाले पनि धेरै सावधानी अपनाउनुपर्ने उनको भनाई छ।

जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई जोगाउनका लागि घर भित्रै पनि अनिवार्य मास्क लगाउनुपर्नेमा उनले जोड दिए। आफू बाहेक अरु सबै संक्रमित छन भन्ने सोच बनाई सावधानी अपनाउन डा. दिक्षितको आग्रह छ। यस्तै राज्यले पीसीआर परीक्षणलाई अझ व्यापक बनाउनुपर्ने उनले बताए।

जाडो मौसम रुघाखोकी लाग्ने समय भएकाले पनि मौषमी रुघा खोकी हो वा कोरोना हो छुट्याउन समुदायस्तरमा नै निःशुल्क परीक्षण गर्नुपर्ने व्यवस्था राज्यले गर्नुपर्ने उनको भनाई छ।

सरकारले कोरोना संक्रमण फैलिन नदिन विभिन्न माध्यमबाट जनतालाई सचेत गराएपनि जनता स्वयंले यसको कठोर पालना नगर्दा संक्रमणको दर बढीरहेको छ।

युरोपिएन मुलुकहरुमा संक्रमण दोहोरिएर भइरहेको घटनालाई पनि सरकार र जनता दुवैले हेरेर सतर्कता अपानुको विकल्प छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad