समाज


छोरीहरुको आत्मबल बढाउन एक्लै पूर्व-पश्चिम साइकल यात्रामा निस्केकी श्वेता

छोरीहरुको आत्मबल बढाउन एक्लै पूर्व-पश्चिम साइकल यात्रामा निस्केकी श्वेता

यज्ञराज जोशी
मंसिर ११, २०७७ बिहिबार १३:४७,

एक्लै कहाँ जान लागेको?
एक्लै कहाँबाट आएको?
एक्लै नहिँड, साथी लिएर जाऊ!

परिवार र आफन्तबाट छोरीहरुले हरेक कदममा सामना गर्नुपर्ने प्रश्न र आग्रह हुन् यी। झापाकी श्वेता श्रेष्ठ पनि यसको अपवाद थिइनन्। उनी यस्तो सोच परिवर्तन गर्न चाहन्थिन्। महिला पनि पुरुषझैँ निर्धक्क हिँड्न सक्छन् है भन्ने सन्देश दिन चाहन्थिन्।

त्यही सन्देश बोकेर उनी यसपटक आफैँ पूर्व–पश्चिम एकल साइकल यात्रामा निस्केकी छन्।

गतवर्ष मात्रै वनविज्ञान विषयमा स्नातक सकेकी श्वेता बुधबारबाट सुरु भएको आफ्नो २१ दिने यात्राले आफूजस्ता महिलाहरुमा आत्मविश्वास बढाउने बताउँछिन्।

‘मेरो लामो एकल यात्राको उदेश्य महिलालाई यात्राका लागि प्रेरित गर्ने हो,’ उनले भनिन्, ‘म आत्मविश्वासी भएर एकल यात्रा गर्नसक्छु भने अरुले किन गर्न सक्दैनन्? मैले गरेको प्रयासपछि कम्तीमा एकजनाले पनि आँट गर्ने हो भने त्यो मेरो सफलता हुनेछ।’

अरुलाई प्रेरित गर्न हिँडेकी श्वेतालाई यो यात्रा अघि बढाउन सहज थिएन। उनको सुरक्षालाई लिएर परिवार चिन्तित थियो। दिनहुँ बलात्कार–हत्याका घटना भइरहेका बेला एक्लै नहिँड्न परिवारले सुझाएको थियो।

त्यसैले उनले पाल टाँगेर बास बस्ने आफ्नो योजना परिमार्जन गरिन्। बरु, बाटोमा पर्ने चिनजानका मानिसकहाँ बस्ने योजना बनाइन् र घरबाट निस्किन्।

मेचीपुलबाट हुलाकी राजमार्ग हुँदै उनको यात्रा सुरु भयो। पहिलो दिन नै उनले जे आशंका गरेकी थिइन्, त्यही भयो। उनले यात्रा सुरु गर्नेबित्तिकै बाटमा भेटिएका केही मानिसले उनलाई जिस्क्याए। उनी बेवास्ता गरेर अघि बढिन्।

‘म आउनसक्ने शारीरिक, मानसिक, भौतिक चुनौतीको आकलन गरेरै यात्रामा निस्केकी हुँ,’ श्वेता भन्छिन्, ‘सुरुमा त एक्लै निस्किन घरपरिवारबाटै सपोर्ट हुँदैन। त्यसमाथि सामाजिक व्यवहारले महिलाहरुको आत्मबल झनै खस्काइदिएको छ।’

श्वेताको यात्रा मेचीपुलबाट विराटनगरसम्म हुलाकी राजमार्ग, विराटनगरबाटदेखि धरानसम्म महेन्द्र राजमार्ग, सिन्धुली गाईघाट हुँदै हेटौडासम्म पृथ्वी राजमार्ग र लुम्बिनी अत्तरियासम्म फेरि हुलाकी राजमार्ग हुँदै अघि बढ्नेछ। उनले दिनमा ६० किलोमिटर तय गर्ने लक्ष्य लिएकी छन्। त्यसका लागि दैनिक कम्तीमा तीन घण्टा यात्रा गर्नुपर्ने उनले बताइन्।

दुई वर्षअघिकै योजना
साइक्लिङमा श्वेताको पहिलेदेखि नै रुचि थियो। तर सिक्ने मेसो मिलिरहेको थिएन। तीन वर्षअघि क्याम्पसबाट पोखरा टुर जादा साथी दिवस गुरुङले उनलाई पहिलोपल्ट साइकलमा हात बसाउन सिकाएका हुन्। त्यसैलाई निरन्तरता दिँदै जाँदा उनको साइकलप्रति मोह बढ्दै गयो।

हेटौँडामा अध्ययनरत उनी त्यहाँ भाडामा साइकल लिएर चलाउँथिन्। त्यहाँको साइक्लिङ कम्युनिटीसँग पनि उनी आबद्ध थिइन। कम्युनिटीका सदस्यहरुले नै उनलाई पन्चर बनाउने, मर्मत गर्ने काममा पारंगत बनाए।

127152156_391091618762490_1942485915860054279_n.jpg

दुईवर्षअघि काठमाडौंमा नेपाली ट्राभलर्स नामक संस्थाले महिला एकल ट्राभल च्यालेन्जको आयोजना गरेको थियो। उनलाई पनि सो प्रतिस्पर्धामा सहभागी हुन मन लाग्यो। आवेदन र अन्तर्वार्ता दिएपछि भने उनले आफ्नै साइकल किनिन् र १७ दिने एकल यात्रामा हिँडिन्।

हेटौंडादेखि अत्तरिया त्यसपछि सुदूरपश्चिमको दुर्गम खप्तड हुँदै पुनः खप्तड, लुम्बिनी, हेटौँडाको यात्रामा फर्कनु कम चुनौतीपूर्ण थिएन। तर, दृढसंकल्पी श्वेताले एकल यात्रा पूरा गरेरै छाडिन् र उपाधि पनि जितिन्।

त्यसपछि उनले पूर्व–पश्चिम साइक्लिङ गर्ने सोच बनाइन्। तर, अध्ययन र काममा व्यस्त उनले समय भने मिलाउन सकेकी थिइनन्।

यसपटक भने सबै तारतम्य मिलेपछि उनले महिला हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिनलाई आफ्नो सुरुवाती दिइन बनाइन्।

चुनौती पन्छाउँदै अघि बढ्दै
अघिल्लोवर्ष उनले झापादेखि इलामको कन्यामसम्म दुईदिने यात्राको योजना बनाएकी थिइन्। तर यात्राको अघिल्लो दिन साइकल दुर्घटनामै उनको खुट्टा, पेटमा चोट लाग्यो। तैपनि उनले हार मानिनन्। अर्कोदिन पेन किलर खाएर भएपनि ४० किलोमिटर यात्रा गरेरै छाडिन्। त्यसलाई उनी अविष्मरणीय दिन मान्छिन्।

त्यही दिनदेखि आफूले चाहेको गर्नसक्छु भन्ने आत्मबल प्राप्त भएको उनी बताउँछिन्।

‘एक्लै यात्रा गर्ने क्रममा विभिन्न चुनौतीहरु आइलाग्छन्। कहिले जंगलको सुनसान बाटो हिँड्नुपर्छ, कहिले बाटोमा साइकल बिग्रिँदा समस्या हुन्छ। नदी, पुल तर्दा पनि अप्ठेरो पर्छ। ढाड, खुट्टा दुख्छ। बिरामी परिन्छ,’ उनी भन्छिन्, ‘यस्ता अप्ठेरालाई पन्छाएर मात्र सफलता हात पर्ने हो भन्दै आफूलाई उत्प्रेरित पार्छु र अघि बढ्छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .