जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूहरूले तयार पारेको कोरोनाविरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोगको अनुमतिका लागि आवेदन दिएका छन्।
खोप प्रयोगमा युनियनले स्वीकृति दिएमा युरोपेली देशमा यसै वर्ष (सन् २०२०) भित्रै खोप उपलब्ध गराउने कम्पनीले जनाएका छन्।
दुवै कम्पनीले संयुक्त रूपमा जारी विज्ञप्तिअनुसार खोप प्रयोग गर्न अनुमतिका लागि युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको हो।
गत नोभेम्बरमा फाइजर र बायोएनटेकले आफूहरूले विकास गरेको कोरोनाविरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको बताएका थिए।
कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्ने गरी अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडीएमा निवेदन दिएका छन्।
युरोपेली नियामक निकायले फाइजरले पेस गरेको परीक्षण विवरण विश्लेषण गरी खोप उपयुक्त ठहरिए स्वीकृति दिइने जनाएको छ।
फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापानलगायत देशका नियामक निकायमा पनि खोप प्रयोग अनुमतिका लागि आवेदन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया