समाज


झापाकी यी महिलाले सुरु गरिन् सिन्दूर-पोते नफाली पतिको काजकिरिया, यस्तो छ उनको तर्क

झापाकी यी महिलाले सुरु गरिन् सिन्दूर-पोते नफाली पतिको काजकिरिया, यस्तो छ उनको तर्क

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २:४७,

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेकी छन्।

घाटबाट फर्केपछि उनले सिन्दूर–पोतेसहित कोरामा बसेर काजकिरिया सुरु गरेकी हुन्। रेनुकाका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो।

सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते भएपछि उनको मिर्गौलामा समस्या देखिएको थियो। बिएन्डसी र नोबेल हस्पिटलमा उपचार गर्दासमेत स्वास्थ्यमा सुधार भएन। उनको शनिबार निधन भएपछि स्थानीय देउनिया घाटमा दाहसंस्कार गरिएको छ।

दाहसंस्कारकै क्रममा पत्नीको सिन्दूर पुछिदिने र हातका चुरा फुटाइदिने प्रचलन छ। तर रेनुकाले आफ्ना पतिबाट सौभाग्यको रूपमा पाएको सिन्दूर र पोते नफाल्ने बताउँदै सेतो लुगामा घर फर्किएकी छन्। हाल निजी निवासमा पतिको किरिया बसेकी रेनुकाको यो निर्णयलाई परिवार, छरछिमेकी र देख्नेसुन्नेले साहसिक निर्णय भन्दै समर्थन जनाएका छन्।

‘यो मेरा पतिले सौभाग्यको रूपमा दिनुभएको हो’, पतिको निधनपछि पनि सिन्दूर र पोते लगाउनुको कारण खुलाउँदै रनुले भनिन्, ‘उहाँले म मरेपछि तिमीले सिन्दूर नपुछ्नु र पोते नफुकाउनु भन्नुभएको थियो।’ रेनुकाका देवर तथा टेलिभिजन पत्रकार टीकाराम नेतीले दाजुको इच्छाबमोजिम भाउजूले सिन्दूर र पोते लगाउने निर्णय गरेको बताए। यसमा परिवारको तर्फबाट असहमति नरहेको उनको भनाई छ।

वीरता जेसिजका पूर्वअध्यक्ष सजेश शिवाकोटीले रेनुका नेपालले समाज परिवर्तनका लागि साहसिक निर्णय लिएको र त्यसबाट युवा पुस्तालाई प्रेरणा मिलेको बताए। ‘शुरु कसैले गर्नै पर्छ, सलाम र सम्मान छ भाउजू’, शिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन्।

‘श्रीमान्ले दिए जति सबै उहाँको मृत्युपछि त्यागी नै हाल्ने हो भने सँगै जोडिने थर, नानी बालबच्चा आदि नि त्याग्दै हिँड्न सम्भव छैन, त्यसैले उहाँको साहसलाई मान्नैपर्दछ’, सामाजिक सञ्जालमा समर्थन जनाउँदै लोकु चापागाइँले लेखेका छन्।

रेनुकाको साहसिक कार्यलाई सामाजिक सञ्जालमार्फत समर्थन र हौसला दिनेहरु बढिरहेका छन् । विराट सामुदायिक अध्ययन केन्द्र विर्तामोडका अध्यक्ष मोहन शिवाकोटीले १०० वर्षपछिको समाजको सोचलाई आजै परिवर्तन गरिदिएको भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो पनि याद गर्नुहोला, तपाईँको कुरा काट्नेहरु पनि समाजमा धेरै छन्, केही फरक पर्दैन किनकि तिनकै सन्तान कुनै दिन तपाईँको अनुयायी हुनेछन्।’

रेनुकाका पति स्व केशव नेपाल कुनै नेता तथा पदीय ओहोदामा रहेका व्यक्ति होइन । उनी विर्तामोडस्थित आफ्नै घरमा सानो पसल चलाएर बस्थे। रेनुकासमेत सामान्य गृहिणी हुन्। उनीहरुका दुई छोरा र दुई छोरी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad