समाज


सरकार भन्छ : दुई महिनाभित्र खोप भण्डारणका लागि पूर्वाधार तयार गर्छौं

सरकार भन्छ : दुई महिनाभित्र खोप भण्डारणका लागि पूर्वाधार तयार गर्छौं

यज्ञराज जोशी
मंसिर २२, २०७७ सोमबार ११:७,

स्वास्थ्य मन्त्रालयले दुई महिनाभित्र खोप भण्डारण तथा आपूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने योजना अनुरुप काम अघि बढाएको छ।

मन्त्रालयले पूर्वाधार विश्लेषण तथा आवश्यकताको आकलन समिति गठन गर्दै आगामी फेब्रुअरी महिना (मध्य फागुन) भित्र त्यसका लागि पूर्वाधार निर्माण गरिसक्ने योजना बनाएको हो।

सरकारले स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भण्डारीकाे संयाेजकत्वमा साे समिति गठन गर्नुका साथै साे प्रयाेजनका लागि मन्त्रालयले चार करोड बजेट छुट्टाएको छ।

‘हाल भएका पूर्वाधारहरु कति पुग–अपुग छन। थप के कस्ता पूर्वाधार निर्माण गर्नुपर्छ भनेर हामीले प्रारम्भिक अध्ययन थालेका छौं,’ समितिका संयोजक चुडामणि भण्डारीले भने, ‘फेब्रुअरीसम्म खोप आउँछ भन्ने लक्ष्य राखी त्यसअघि आवश्यक पूर्वाधार तयार पार्ने योजना बनाएका छौं।’

भण्डारीले एक हप्ताभित्र अध्ययन सकेर स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाउने जनाए। त्यसपछि प्रतिवेदनका आधारमा पूर्वाधार निर्माणको काम अघि बढाइनेछ।

उनले माइनस २० डिग्री सेल्सियस तापक्रममा राख्न मिल्ने खोपहरु नेपालको प्राथमिकतामा रहेकाले सोही अनुसार पूर्वाधार निर्माणमा जोड रहेको बताए।

हालसम्म फाइजर–बायोनटेक, अक्सफोर्ड–एक्स्ट्राजेनिका र मोर्डना कम्पनीले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणमा पनि सफलता हासिल गरेका छन।

अक्सफोर्ड विश्वविद्यालयले एक्स्ट्राजेनिकासँग मिलेर बनाएको खोप ७० प्रतिशत प्रभावकारी देखिएको छ। यो खोप माइनस २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने र यसको मूल्य प्रति खोप ३ डलरसम्म पर्ने बीबीसीले जनाएको छ।

यस्तै अमेरिकी कम्पनी मोर्डनाले विकास गरेको खोप ९४ प्रतिशत प्रभावकारी देखिएको छ। यस खोपलाई माइनस २० डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ। मोर्डनाको खोपलाई २५ डलरसम्म पर्ने जनाइएको छ। यस खोपलाई ६ महिनासम्म भण्डार गरेर राख्न सकिन्छ।

नेपालमा सुरुमा कोभ्याक्स नामक अन्तर्राष्ट्रिय संयन्त्रमार्फत् प्राप्त हुने भनिएको खोपलाई व्यवस्थापन गर्न पुग्ने पूर्वाधारहरु निर्माण गर्न लागिएको हो। कोभ्याक्सले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप दिने जनाएको छ। कोभ्याक्सलाई पनि नेपालले माइनस २० डिग्री तापक्रमसम्म राख्न मिल्ने खोपहरु उपलब्ध गराईदिन अनुरोध गरेको छ।

‘माइनस २ देखि ८ डिग्रीसम्म तापक्रममा राख्ने खोप भण्डारणका लागि भने हाम्रो अहिलेकै पूर्वाधारले काम गर्छ,’ भण्डारीले भने, ‘माइनस २० डिग्रीसम्म राख्नुपर्ने खोप आयो भने केही खर्च गरेर सुदृढीकरण गर्नुपर्छ। केही पूर्वाधार थप्नुपर्ने हुन्छ। अहिले हामी त्यसको जोखाजोखा गर्दैछौं।’

नेपालले १४ वर्षमुनिका बालबालिकाबाहेक ७३ प्रतिशत जनसंख्यालाई खोप दिने योजना बनाएको छ। त्यसका लागि कम्तीमा हरेक प्रदेशमा माइनस २० डिग्री तापक्रमसम्म भण्डारण गर्नसक्ने पूर्वाधार विकास गरिने भण्डारीले बताए।

प्रत्येक प्रदेशका आपूर्ती केन्द्रमा खोप भण्डारण हुनेछन्। त्यहीँबाट अस्पतालहरुमा वितरण हुनेछ।

याे पनि : काठमाडौँमा शृंगलाको ‘खोप कूटनीति’

प्रारम्भिक अध्ययनमा पूर्वाधारको समस्या प्रदेश २ मा सबैभन्दा बढि देखिएको छ। त्यहाँ अहिले अन्य रोगका लागि आवश्यक खोपहरु पनि हेटौडाबाट लाने गरिएको छ। त्यसबाहेक प्रदेश एक र पाँचमा सुदृढीकरण गर्नुपर्ने अवस्था रहेको उनले बताए।

कोभ्याक्स सुविधामार्फत फाइजर–बायोनटेकले बनाएका माइनस ७० डिग्री तापक्रममा राख्ने खोप आयो भने त्यसलाई उपत्यकामा खपत गर्ने सरकारको योजना छ।

‘कोभ्याक्स सुबिधाले कसको खोप उपलब्ध गराउँछ भन्नेबारे केही भनेको छैन। यदि माइनस ७० डिग्रीमा राख्नुपर्ने खोप उपलब्ध गराउने भन्यो भने त्यसलाई काठमाडाैंबाहिर आपूर्ति नगर्ने हिसाबले काठमाडौं उपत्यकामा प्रयोग गर्नुपर्ने हुन्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए, ‘उपत्यकामा त्यस खालको पूर्वाधार निर्माण गर्न सकिन्छ। अन्य खोप अरु स्थानमा लग्न सकिन्छ।’

फाइजर–बायोनटेकले निर्माण गरेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको छ भने यसलाई तीनहप्तामा दुईपटक लगाउनुपर्ने कम्पनीले जनाएको छ।

तर नेपालले कोभ्याक्स सुबिधालाई आवेदन दिदा पनि यस खोपलाई राख्ने पूर्वाधार आफूसँग नभएको जनाएको छ।

याे पनि : नेपालमा कहिले आइपुग्छ कोरोना खोप? आएपछि कसरी जोगाउने र कसलाई लगाउने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .