समाज


जनकपुरमा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव सुरु

जनकपुरमा आजदेखि सीताराम विवाहपञ्चमी महोत्सव सुरु

शैलेन्द्र महतो
मंसिर २९, २०७७ सोमबार ४:३,

जनकपुरमा धुमधामसँग मनाइने सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत रुपमा सुरु भएको छ।

त्रेता युगमा जनकपुरमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा हार्सोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइन्छ।

विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन, दोश्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तीलकोत्सव, पाँचौदिन २५ गते मटकोर र छैटौँ दिन रामजानकीको स्वयंवर तथा विवाह र अन्तिम सातौं दिन राम कलेवा गरेपछि विवाहपञ्चमी महोत्सव सम्पन्न हुन्छ।

विवाहपञ्चमीको पहिलो दिन आज जनकपुर नगर दर्शन मनाइँदै छ। नगर दर्शनमा राम र लक्ष्मणको प्रतिकको रुपमा एकजोडा बालबालिकालाई जनकपुरका विभिन्न भाग घुमाइन्छ। नगर दर्शन हेर्न भीड लाग्ने दर्शनार्थीहरुले राम लक्ष्मणलाई फुल छर्केर स्वागतगर्ने परम्परा रहेको जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णवले बताए।

यस वर्ष विवाहपञ्चमी महोत्सवको मुख्य दिन पुस ४ गते परेको छ। त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीराम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन मिथिला नगरी जनकपुरधाममा ऐतिहासिक विवाह पञ्चमी महोत्सवको आयोजना गरिँदै आएको छ।

विवाहपञ्चमीको दिन साधुशन्तको अगुवाइमा झाँकी किर्तनसहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर एेतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयम्वर गर्ने गरिन्छ।

ढोल पिपही, सहनाई, बैण्डबाजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्वर गर्ने प्रचलन छ। डोलाको दर्शन र रामसीताको स्वयंवर हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ। अन्तिम दिन साधुशन्त र जन्तीलाई मिष्टान परिकार खुवाएर विदाई गरी रामकलेवा गर्दै विवाहपञ्चमीको समापन हुने परम्परा छ।

यसवर्ष कोरोना महामारीको कारण विवाहपञ्चमी महोत्सव पनि प्रभावित हुने देखिएको छ। स्थानीय प्रशासनले कोरोनामा भीडभाड नगर्न आग्रह गरेपछि जानकी मन्दिर व्यवस्थपन पक्षले विवाहपञ्चमीको खासै तयारी नगरेको जनाएको छ। विवाहपञ्चमी भने मनाइने मन्दिर व्यवस्थपन पक्षले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad