समाज


राष्ट्रिय एकताको सन्देश दिँदै सेना

राष्ट्रिय एकताको सन्देश दिँदै सेना

वाशुदेव मिश्र
पुस १६, २०७७ बिहिबार १३:४५,

नेपाली सेनाका पश्चिम पृतनापति प्रमुख उपरथी विनयविक्रम राणाले नेपाली सेना समाजकै अंग भएको बताएका छन्।

उनले सेनाले देश र जनताको हितमा विभिन्न परियोजना संचालन गरेको जानकारी दिँदै राष्ट्रिय एकता कामय गराउन संविधानले दिएको दायित्वप्रति सेना सचेत रहेको पनि बताएका छन्।

‘नेपालको संविधानले नै हामीलाई राष्ट्रिय एकताको जिम्मेवारी दिएको छ’, पश्चिम पृतनानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उपरथी राणाले भने, हामी त्यो जिम्मेवारीप्रति सचेत छौं र हाम्रा गतिविधि त्यसमा पनि केन्द्रित छन्।’

सेनाले राष्ट्रिय एकता मजबुत बनाउनकै लागि यही पुस २० गते गोर्खा दरवारमा अन्तरक्रिया र सांस्कृतिक कार्यक्रम एवं पुस २१ गते गोर्खा दरबारबाट बोर्लाङसम्म एकीकरण पदयात्रा गर्ने जानकारी दिए। सामाजिक कामअन्तर्गत आउँदो जेठमा तिलिचो ताल सरसफाई पनि गरिने उनको भनाई थियो। सेनाले यही पुस २८ गते भूतपूर्व सैनिक सम्मेलन पनि गर्दैछ।

पृतनापति राणाले कोभिड–१९ को संक्रमण सुरु भएसँगै सेनाले विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना तथा कोरोनाबाट मृत्यु हुनेहरुको शव व्यवस्थापन कार्य कुशलतापूर्वक सम्पन्न गरेको बताए । उनका अनुसार गएको मंसिर मसान्तसम्म गण्डकीमा १७२ जनाको शव व्यवस्थापन गरिएको जनाए।

पश्चिम पृतनाका जनसम्पर्क अधिकृत सेनानी प्रेमप्रसाद पौडेलका अनुसार तीमध्ये १५३ जनाको शव गाडिएको थियो भने बाँकी जलाइएको थियो। सुरुमा पीपीई र सुरक्षा सामग्रीको अभावमा केही समस्या भए पनि पछिल्ला दिनमा शव व्यवस्थापनमा कुनै कठिनाई नभएको उनले बताए।

यद्यपि, शव व्यवस्थापन गरेवापत् सेनाले अतिरिक्त भत्ता भने पाएको छैन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अग्रमोर्चामा खटिनेलाई भत्ता दिने आवश्वासन भने दिएको सेनाले जनाएको छ।

हालसम्म पश्चिम पृतनाअन्तर्गतका ३१० जना कोरोना संक्रमित भएको पनि उनले जनाए। जनसम्पर्क अधिकृत सेनानी पौडेलका अनुसार सेनाले यो बीचमा बाढीपहिरोमा परेका ५२ जनाको जिवित र७० जनाको मृतावस्थामा उद्दार गरेको थियो। फेवातालमा डुबेका २ जनाको पनि जिवित उद्दार गरिएको उनले जनाए।

सेनाले आफ्नो कर्र्तव्य निभाउने सिलसिलामा स्थानीय निकायसँगको सहकार्यमा लकडाउनका कारण रोजगार गुमाएकाहरुलाई राहत वितरण, कोरोनासम्बन्धी अन्तरक्रिया,मन्दिर, ताल तथा बाटो सफाई, वृक्षरोपणलगायतका कार्यक्रम गरेको पनि जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .