सामान्य गरिब परिवारका फुच्चे पाख्रिन सर्लाहीको हरिवनस्थित हाटबजारमा साहुका खसीबोका झारेर घर फर्कदै थिए। माइक्रो चढ्नका लागि हरिवन बजारको बाटो काट्नै लाग्दा शनिबार एउटा झण्डावाल गाडीको ठक्करबाट उनी सडकमै बजारिए।
गाडीको ठक्करबाट ३–४ मिटर हुत्तिएका उनी सडक किनारतिर परेर भाग्यले बाचेको प्रत्यक्षदर्शी प्रज्वल ढुंगाना बताउँछन्।
‘बीच बाटोमा गाडीको ठक्करपछि उहाँ उछिट्टिनुभयो र सडक किनारतर्फ लड्नुभयो। सडकतिर लडेको भए अर्कै घटना हुनसक्थ्यो। कोही नभएको ठाउँमा उछिट्टिएर भाग्यले जोगिनुभयो,’ ढुंगानाले नेपालखबरसँग भने, ‘हान्ने गाडी केही स्लो भयो। दुई सेकेन्डजति रोक्यो तर कोहीपनि मान्छे झरेनन् र गाडी सरासर हिड्यो।’
स्थानीय चर्तुरभुजेश्वर बहुमुखी क्याम्पसको स्ववियू सभापति समेत रहेका ढुंगाना तुरुन्तै दुर्घटनास्थल पुगेका थिए। तर दुर्घटनालगत्तै गाडी कुदिसकेकोले त्यसमा सवार को थिए भन्ने थाहा पाउन नसकेपछि उनले गाडीको नम्बर (ना १ झ ३८४२) भने टिप्न भ्याए।
गाडीका बारेमा पत्ता लगाउन भन्दा पनि तत्काल घाइतेलाई अस्पताल पुर्याउनु आवश्यक ठाने र पाख्रिनलाई मोटरसाइकलमा राखेर अस्पतालतर्फ लगे।
३० वर्षीय पाख्रिनलाई कम्मरमा गाडीले ठक्कर दिएको थियो। कम्मरको दुखाईसँगै सडकमा बजारिदा घुँडा र खुट्टाका औला छिलिएका थिए। ढुंगानका अनुसार उनलाई मोटरसाइकलमा अस्पताल पुर्याउँदा औलाबाट रगत चुहिरहेको थियो।
घाइते पाख्रिनलाई अस्पताल पुर्याएपछि ढुंगानाले सीडीओलाई फोनबाट सबै विवरण सुनाए। गाडी नम्बर टिपाएपछि उक्त गाडीमा सहरी विकास मन्त्री प्रभुु साह सवार रहेको खुल्यो। मन्त्री नै सवार गाडीले मान्छे हान्दा समेत नरोकिनु मानवीय असंम्वेदनशीलताको पराकाष्ठा भएको ढुंगाना बताउँछन।
‘ड्याम्म गाडीले हानेको आवाज आएपछि म फर्कें। ठोक्किएको मान्छे उठेर लडखडाउँदै थियो,’ ढुंगानाले घट्नाबारे सम्झदै भने, ‘कम्तीमा रोकेर के भएको छ? कसो भएको छ? भन्दै अस्पतालसम्म लगिदिएको भए उहाहरुकै लागि राम्रो हुन्थ्यो तर उहाँमा मानवीय सम्वेदनशिलता नै देखिएन। जनावरलाई त गाडीले हानेछ भने मान्छे उत्रिएर के भएछ, कसो भएछ भनेर रोकेर हेर्छन। उहाँ त एउटा मान्छे हानेर पनि नरोकिएर हिड्नुभयो।’
ढुंगानाले अस्पताल पुगेपछि घाइतेसँग घर, आफन्तबारे विवरण लिए। उनको घर सर्लाहीको लालबन्दीमा रहेको थाहा पाएपछि वडाअध्यक्षसँग कुराकानी गर्दै आफन्तहरुसँग सम्पर्क भयो।
सानैदेखि अलि सुस्त मनस्थितिका पाख्रिनको घरमा बृद्ध बुबाआमा मात्रै छन। उनी व्यापारीहरुको सामान उठाएर, भेडाबाख्रा ‘लोड अनलोड’ गरेर केही पैसा जुटाउँथे। जसले उनको परिवारको नुनतेल जुट्थ्यो।
सुस्त मनस्थिति भएका कारण पाख्रिनलाई कहाँ कति चोट लागेको पहिल्याउन कठिन भएको छ। कुनै कुरा सोध्दा समेत उनी टाउको हल्लाउँदै हुन्छ या हुँदैनमा उत्तर दिन्छन। डाक्टरहरुले बाहिर देखिने स्थानमा मल्हमपट्टी गरेका छन।
दुर्घटनाबारे थाहा पाएपछि उनका भाइ (ठूलबुबाका छोरा) उदय पाख्रिन शनिबारदेखि अस्पतालमा कुरुवा बसेका छन। पाख्रिनले बोल्न नसक्ने हुनाले गम्भीर चोटपटक लागेका हुनसक्ने आफन्तहरुको चिन्ता छ। त्यसैले राम्रो अस्पतालमा लगेर सबै चेकजाँच गर्न पाए हुन्थ्यो भन्ने उनीहरुको चाहना छ।
‘उहाँ बाल्यकालदेखि नै सुस्त मनस्थितिको हुनुहुन्छ। हुन्छ या हुँदैन बाहेक सरासर जवाफ दिन सक्नुहुन्न,’ उदयले भने, ‘कम्मर, घुँडा र औलामा चोट देखिएको ठाउँमा डाक्टरले उपचार गर्नुभएको छ। बोल्ने क्षमता नभएकोले कहाँ कति चोट लागेको छ भन्नसक्नु हुन्न। पहिलेजस्तै बाख्रा चराएर, सहयोगी बनेर खानका लागि शरिर स्वस्थ होस् भन्न चाहन्छौं। दिर्घकालीन रुपमा असर गर्ने चोटपटक छ छैन भन्ने राम्रो अस्पतालमा लगेर उपचार होस् भन्ने चाहन्छौं।’
उदयले पाख्रिनसँग घट्नाबारे बुझेका थिए। बाटो काट्दै गर्दा स्पिडमा रहेको गाडीले आफूलाई ठक्कर दिएर भागेको बाहेक पाख्रिनले केही बताउँन सकेनन्।
सामान्य व्यक्तिको गाडी कसैलाई ठोक्दा समेत उपचारका लागि लैजानुपर्नेमा मन्त्रीजस्तो व्यक्तिले वास्तै नगरी हिड्नु गैरजिम्मेवारीपूर्ण रहेको उदय बताउँछन।
‘मन्त्री होस वा जोसुकै होस्। मान्छेलाई हानिसकेपछि उसको अवस्था बुझ्ने अस्पतालसम्म लैजाने न्युनतम मानवीय व्यवहार देखाउनुपर्छ,’ उदयले भने, ‘मन्त्रीले गाडीबाट ओर्लिएर सुरक्षाकर्मीलाई भनेर अस्पतालसम्म पुर्याउँदा सान्त्वना हुन्थ्यो। तर उहाँले मान्छे हानेपनि नदेखेजसो गरेर हिड्नुभयो। जुन साह्रै गैरजिम्मेवारीपूर्ण देखियो।’
बिहान मन्त्री सवार गाडीले मान्छे हानेर भागेको समाचार दिउँसो सार्वजनिक भएपछि साहको चर्को आलोचना भएको थियो। त्यसपछि साँझमात्रै साहले आफ्ना सचिवालयका व्यक्तिहरुलाई घाइतेको अवस्था बुझ्न अस्पताल पठाएका थिए। उनीहरुले उपचारको सम्पूर्ण जिम्मेवारी लिने आश्वासन दिएको उदयले बताए।
मन्त्री साहले सामाजिक सञ्जालमार्फत ती व्यक्ति आफू चढेको गाडीबाट झुक्किएर लडेको गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका छन।
उनले लेखेका छन, ‘रौतहटबाट महोत्तरी जाने क्रममा सर्लाहीको हरिवन चौकमा म चढेको गाड़ीबाट झुक्किएर लड़ेको व्यक्ति उठेर आफै हिडे पछि ‘केही नभएको’ भनि ढुक्क भएर हिडेको सामान्य बिषयलाई ‘ठक्कर दिएर भागे’ भनेर मेरो बदनाम गर्ने उद्देश्यले केही अनलाइन मिडियाले अतिरञ्जित ढंगले प्रचार गर्नु र सर्लाही प्रहरीलाई मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी ‘खुलेको’ भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दुःखद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। सुरक्षा दिनु र सवारी सहजीकरण गर्नुको सट्टा सर्लाही प्रहरीले अफवाह फैलाउने काम गर्नु आपत्तिजनक छ।’
हेराैं मन्त्री साह सवार गाडीले दिएको ठक्करको सिसीटिभी फुटेज
प्रतिक्रिया