समाज


सरकारी सेवा सुधार्न कस्सिएका यी युवा अधिकृत

सरकारी सेवा सुधार्न कस्सिएका यी युवा अधिकृत

यज्ञराज जोशी
पुस २२, २०७७ बुधबार १४:२२,

२०७४ मंसिरमा अधिकृतमा नाम निकालेपछि २७ वर्षे यादव राउतसँग दुई विकल्प थिए, प्रत्यक्ष जनतासँग भेटघाट हुने कार्यालय रोज्ने वा मन्त्रालय, विभागमा प्राविधक पदमा बसेर आरामदायी काम थाल्ने।

२०७१ मै कम्प्युटर अपरेटरबाट सरकारी सेवामा प्रवेश गरेका राउतले यसअघि सिभिल अस्पताल र उर्जा मन्त्रालयमा कुर्सीमा बसिबसी खाने प्राविधिकतर्फको अनुभव गरिसकेका थिए। अधिकृतमा नाम निकालेपछि भने उनलाई जनतासँग घुलमिल नै नहुने कार्यालयमा जागिर खान मन लागेन।

सोही कारण प्रशासनतर्फको सेवा रोजेका उनको पोस्टिङ गृहनगर इलाम भयो। दुईवर्ष मालपोतसम्बन्धी अनुभव बटुलेपछि यहीवर्ष भदौमा उनको सरुवा मालपोत कार्यालय इलाममा भयो। सरुवा भएको अर्को महिना उनी प्रमुख मालपोत अधिकृतका रुपमा कार्यालय प्रमुखको भूमिकामा छन्।

कार्यालय प्रमुखका रुपमा उक्त कार्यालयको जिम्मेवारी सम्हालेपछि उनले सरकारी सेवा सुुधार्न गरेको प्रयास अहिले उदाहरणीय बनेको छ। सधैँभरी भिडभाड हुने र सेवाग्राहीको गुनासो रहने मालपोत कार्यालयको सेवालाई व्यवस्थित पार्ने उनको प्रयासले सकारात्मक परिवर्तन पनि देखिन थालेको छ।

‘हामीले कार्यालयलाई व्यवस्थित, सेवाग्राही मैत्री तरिकाले सञ्चालनमात्रै गरेका हौं। जसको परिणाम कार्यालयको काम गर्ने क्षमता वृद्धि हुनुका साथै सेवाग्राहीले पनि छिटो काम सम्पन्न गर्ने वातावरण बनेको छ,’ राउतले नेपालखबरसँग भने।

yadav-raut1.jpg

राउत प्रमुखको जिम्मेवारीमा आएपछि सुधारिएका तीन चिज हुन्, एकद्धार प्रणालीबाट सेवा, लेखापढीलाई हाताभित्र प्रवेश निषेध र नेटवर्किङमा चुस्तता।

मालपोतका दुई तल्ला थिए। दर्ता चलानी तल्लो तलामा हुन्थ्यो भने अन्य कामका लागि सेवाग्राही दुबै तलाका विभिन्न कोठाकोठा चहानुपर्ने स्थिति थियो। अर्कातिर कर्मचारीलाई नै कुनै कुराबारे अर्को कर्मचारीलाई सोध्नुपर्यो भने उठेर अर्को तल्ला जानुपर्ने समस्या थियो। आफ्नो फाइल कहाँ पुगेको छ भन्नेबारे सेवाग्राही पनि अलमलमा हुन्थे।

यही कुरालाई मनन गर्दै राउतले कार्यालयका सम्पूर्ण फाँटलाई भूईंतल्लाबाट सञ्चालन गर्ने प्रस्ताव ल्याए। भुईतलाको एउटै हलको वरिपरि यू–सेफमा सबै फाँटहरु राख्ने निर्णय गरे।

जसले सबै कर्मचारीहरु एकअर्काका सामुन्न हुन्थे। सेवाग्राहीले पनि आफ्नो फाइल कुन झ्यालमा पुगेको छ सजिलै थाहा पाउन सक्थे। तलमाथि गर्नुपर्ने झन्झट नै हट्यो। एकअर्काको नजरमै पर्ने भएपछि कर्मचारीहरुबीच पनि समन्वयन राम्रो देखियो। अन्ततः परिणाम सेवाग्राहीले चाँडो सेवा पाउने अवस्था बन्यो।

‘दर्ता चलानीदेखि कार्यालय प्रमुखसँग सेवाग्राहीको भेट एकै कोठामा हुन्छ। कामका लागि दोस्रो तला जानै पर्दैन,’ रावतले भने, ‘पहिले एउटा कामका लागि ५–६ घण्टा कुर्नुपर्ने सेवाग्राहीले अहिले २–३ घण्टामै सेवा पाउन थालेका छन्।’

आरामदायी ढंगबाट तल्लैपिच्छे फराकिला कोठामा बसेका कर्मचारीहरुलाई एउटै ठाउँबाट सेवा दिन मनाउनु चुनौतीपूर्ण काम थियो। तर उनले पटकपटक कर्मचारी, सेवाग्राहीसँग छलफल गर्दै उक्त व्यवस्थापन गरेका हुन्। सुरुमा कर्मचारीहरुले अप्ठारो मानेपनि अहिले भने सेवाग्राही खुशी भएर जाँदा कर्मचारीहरुपनि खुशी रहेको अनुभव राउतसँग छ।

‘प्रमुख, कर्मचारीदेखि सहयोगीसम्म सबै कार्यालयका लागि उत्तिकै महत्वपूर्ण हुन्। सबैले एकै ठाउँमा बसेर काम गर्नुपर्छ भनेर सम्झाईबुझाई गर्न निकै मिहनेत लागेको थियो,’ राउत सम्झन्छन्, ‘एउटै कोठाबाट सेवा दिँदा रिजल्ट पनि राम्रो निस्केको छ। अहिले सबैजना खुशी हुनुहुन्छ।’

malpot-ilam.jpg

एउटै हलबाट सम्पूर्ण सेवा दिने व्यवस्था मिलाइएपछि भिडभाड हुने जोखिमलाई ध्यानमा राखि कार्यालयमा टोकन सिस्टम लागू समेत गरिएको थियो। यसले भिडभाडरहित पालैपालो ढंगबाट काम गर्न समेत सघाउ पुर्याएको छ। यस्तै सबै फाँटमा इन्टरनेट प्रोटोकल (आइपी) क्यामेरा जडान गरिएका छन। जसको मध्यमबाट कर्मचारी र सेवाग्राहीहरुबीचको सम्वाद हेर्न र सुन्न सकिन्छ।

कार्यालयको सेवा चुस्त बनाउँन राउतले थालेको अर्को महत्वपूर्ण काम हो, लेखापढी व्यवसायीलाई कार्यालय हाताभित्र प्रवेश निषेध गर्नु। जसका कारण कार्यालयमा पुग्ने बित्तिकै तानातानमा पर्ने सेवाग्राहीहरुले ठूलो राहात महसुस गरेका छन्।

लेखापढी व्यवसायीहरुले सेवाग्राहीलाई ललाईफकाई गरेर निशुल्क हुने काममा पनि पैसा थुत्ने गरेका थिए। फाइल लिई एकदुई दिनमा हुने काम हप्तौं लाग्यो भन्दै पैसा असुल्थे। बिचौलियाका कारण कर्मचारी र सेवाग्राही भेटघाट नै हुन पाउँदैनथ्यो।

त्यही कुरालाई महसुस गर्दै कार्यालय प्रमुखको जिम्मेवारी पाएलगत्तै उनले लेखापढी व्यवसायीलाई बोलाएर मौखिम रुपमा हाताभित्र प्रवेश नगर्न अनुरोध गरेका थिए।

तर उमेरले भर्खर ३० टेकेका शाखा अधिकृतको मौखिक अनुरोधलाई सुरुमा लेखापढी व्यवसायीहरुले मानेनन्। अर्कातिर आफ्नै गृहनगर र आफूले चिनेजानेका लेखापढी भएकाले पनि राउतलाई चुनौती थियो। तर त्यसका बाबजुद यही पुस १४ गते कर्मचारीसँग सेवाग्राहीको सिधै पहुँच होस् भनेर उनले कार्यालयको हाताभित्र प्रवेशमा रोक लगाएको सूचना नै जारी गरे।

‘उहाँहरुलाई कार्यालय हाताभित्र प्रवेश रोक लगाएपछि आन्दोलन समेत गर्नुभयो। कार्यालयको कामकारवाही नरोकियोस् भनेर मैले ब्याकअप प्लान पनि बनाएको थिएँ,’ राउतले भने, ‘भूमि व्यवस्थापन विभाग, स्थानीय प्रशासन र कार्यालयकै कर्मचारीको सहयोगमा अन्ततः उहाँहरुलाई प्रवेश निषेध गर्न सकियो।’

यसरी विचौलियाहरुलाई रोकेर सोझै सेवाग्राहीलाई कर्मचारीको पहुँचमा पुर्याएपछि कामको क्षमतामा वृद्धि भएको छ। पहिले दैनिक ४५ देखि ५० सम्म फाइलको काम हुने गरेकामा अहिले ६५ देखि ७० सम्म फाइलको काम गर्न सकिएको राउत बताउँछन्।

दैनिक कामको विवरण कार्यालयले आफ्नो सामाजिक सञ्जालमार्फत समेत सार्वजनिक गर्ने गरेको छ। मंगलबारमात्रै कार्यालयबाट ८९ वटा सेवा प्रवाह भएका छन्। जसमा दृष्टिबन्धक ३४ वटा, फुकुवा १७ वटा, लिखत पारित १४ वटा, नामसारी ५ वटा, संसोधन ९ वटा, हालसाविक २ वटा, प्रतिलिपी ४ वटा सेवाग्राहीलाई सेवा दिइएको छ।

विचौलियाहरुलाई रोक लगाएपछि उनीहरुले गर्ने काम भूसेवा केन्द्रबाट प्रभावकारी ढंगबाट गर्नमा उनले जोड दिएका छन्। कार्यालयमा अहिले स्थानीय तह र सरकारका लागि १० वटा भूसेवा केन्द्र छन्। जसले सेवाग्राहीलाई आवश्यक कामको फाराम भर्न तथा जानकारी प्रदान गर्नेगर्छ। भूसेवा केन्द्रलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ।

yadav-raut-3.jpg

उनको योजना सेवाग्राहीलाई आफै फाराम भर्न प्रेरित गर्नका लागि कार्यालय हातामै दुईवटा कम्प्युटरको व्यवस्था गर्ने योजना बनाएका छन। त्यसको कार्यान्वयनमा आफू लागि परेको उनले बताए।

यस्तै उनी प्रमुखको जिम्मेवारीमा रहनुअघि पटकपटक नेटवर्किङमा समस्या देखिँदा कार्यालयकै काम प्रभावित हुने गरेको थियो। माकुराको जालोजस्तो तारैतार फिँजिएको हुन्थ्यो। सानोतिनो समस्या आउँदा पनि प्राविधिक बोलाउनुपर्ने हुँदा घण्टौ काम नहुने समस्या थिए।

राउत आफैपनि यसअघि कम्प्युटर अपरेटरका रुपमा काम गरिसकेका र आइटीको जानकार भएकाले अहिले धेरै हदसम्म यो समस्याको सामाधान भएको छ। अधिकांश कम्पयुटर, नेटवर्किङ सम्बन्धी काम उनी आफै गर्छन्। तर टेलिकमले उपलब्ध गराउने फाइबर नेटवर्किङ भने भरपर्दो नहुने भएकाले बेलाबेला अझै समस्या झेल्नु परेको उनी बताउँछन्।

‘जनतालाई सहज, सरल तरिकाले सेवा दिन सकियोस् भनेर अन्य विकल्प छोडेर मैले प्रशासन रोजेको हुँ,’ राउत भन्छन्, ‘हाम्रा केही प्रयासले सकारात्मक परिणाम देखाउन थालेका छन्। हाम्रो तदारुकताले फरक पार्छ भन्ने यो राम्रो उदाहरण बनेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .