समाज


तुइन तारेर डोल्पा पुर्‍याइएको एम्बुलेन्सको कथा (भिडियो)

तुइन तारेर डोल्पा पुर्‍याइएको एम्बुलेन्सको कथा (भिडियो)

यज्ञराज जोशी
पुस २५, २०७७ शनिबार १३:५३,

डेढ वर्षअघि नै कर्णाली प्रदेश सरकारले डोल्पा अस्पताललाई एम्बुलेन्स खरिदका लागि पैसा पठाएको थियो। २०७६ बैशाखमा अस्पतालले सुर्खेतमा एम्बुलेन्स पनि खरिद ग¥यो। सम्पूर्ण प्रक्रिया मिलाउँदा थप तीन महिना लाग्यो।

खरिद गरिएको एम्बुलेन्स केही समय प्रदेशले नै चलायो। कोरोना महामारीमा झनै एम्बुलेन्स व्यस्त भएपछि अस्पतालमा एम्बुलेन्स पुगेन। संक्रमण दर कम हुँदै गएपछि अस्पतालले एम्बुलेन्स माग्ने र तिहारपछि एम्बुलेन्स ल्याउने निर्णय पनि भयो।

एम्बुलेन्स सुर्खेतबाट जाजरकोट, रुकुम हुँदै डोल्पा पुर्याउनुपथ्र्यो। रुकुमसम्म ट्याक खोलिएको बाटोमा गुड्दै एम्बुलेन्स आइपुग्यो। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित भेरी नदीमा भने मान्छे गाडी गुडाउने पुल थिएन। त्यही नदीमा एम्बुलेन्सलाई तुइन तारेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

No description available.
तुइनबाट एम्बुलेन्सलाई नदी पार गराइँदै

एम्बुलेन्स लिन आएका डोल्पा अस्पतालका लेखा अधिकृत उदय जिसीलाई तुइनबाट एम्बुलेन्स तार्न कम सकस भएको थिएन। एम्बुलेन्स नदीमै खस्छ कि भन्ने उनलाई ठूलो पीर थियो।

‘नदी तार्ने अरु विकल्प कै थिएन। स्थानीय मान्छेहरु जुटाउँदै एम्बुलेन्सलाई तुइनमा बाध्यौं र धकेल्यौं’, जिसी सम्झन्छन्, ‘सुरुमा त सरासर अघि बढेको थियो। तर, बीचमा गएर एम्बुलेन्स रोकियो। डोरी चुँडिन्छ कि? एम्बुलेन्स नदीमा खस्छ कि? भन्ने त्रास भएको थियो।’

सुगम क्षेत्रका बासिन्दाका लागि तुइनले गाडी तारेको नौलो भए पनि त्यसभेगका स्थानीयले यसअघि थुप्रै गाडीहरु यसरी तानिसकेका थिए। आफ्नो अनुभवसहित स्थानीयले एम्बुलेन्स पनि तारे।

तुइनबाट एम्बुलेन्स तार्नु त्यहाँका लागि सामान्य घटना हो। मानिसहरुको आवाजतवात झोलुंगे पुलबाट हुने भए पनि सामानहरु ओसारपसार गर्न त्यहाँ सधैँ तुइनकै साहरा लिइन्छ। सवारी साधानहरुले मानिसहरुलाई नदी वारी छोडिदिन्छ। त्यहाँबाट मानिसहरु पुल तरेर पारि गएपछि अर्को गाडी चढेर गन्तव्यतिर जानुपर्छ।

वडाध्यक्ष नवराज बुढाथोकी तुइनले एम्बुलेन्सलाई तारेको घटना धेरैका लागि नौलो भए पनि स्थानीयको त्यो नियति नै भएको बताउँछन्।

‘डोल्पामा मुस्ताङ गाडीहरु, ट्याक्टरहरु जति पनि सवारी चलेका छन् ती यसरी नै तुइनले तारेर लगिएको हो’, उनी भन्छन्, ‘प्रधानमन्त्रीले प्रत्येक भाषणमा तुईन विस्थापित भएको बताउँनुहुन्छ तर यहाँका जनताले प्रत्येक दिन तुइन नचढी गुजारा चल्ने अवस्था छैन।’

उनका अनुसार सुर्खेतदेखि रुकुम र जाजरकोटको सिमाना रायल जिउलासम्म सरासर गाडी आउँछ। त्यसपछि राडी भन्ने स्थानमा भेरी नदी तर्न पुनः तुइनको साहारा लिनुपर्छ। यस्तै तल्लु र खदाङमा पनि तुइन नै तर्नुपर्छ।

No description available.एम्बुलेन्सलाई नदी पार गराउँदै जेसीबी

खदाङमा एम्बुलेन्सलाई तुईन चढाउनुअघि तल्लुबगर र खदाङपछि त्रिपुराकोटको खोलामा एम्बुलेन्सलाई जेसीबीको साहरामा नदी तराइएको थियो। हिउँदमा खोलामा पानी कम हुने भएकाले जेसीबीमा झुण्डाइएर एम्बुलेन्स पारी लैजान सकिएको जिसी बताउँछन्। वर्षामा पानी बढ्दा यसरी लैजाने सम्भावना नै हुँदैन।

यसरी तुइन, जेसीबी चढाएर ल्याइएको एम्बुलेन्सले तिहारपछिबाट सेवा दिन थालिसकेको छ। डोल्पा अस्पतालका निमित्त प्रमुख डा. सिजन रावलका अनुसार एम्बुलेन्सले जुफाल, सुपानी, माँझफाल लगायत ठाउँमा आफ्नो सेवा सुरु गरिसकेको छ। अझै पनि पुल नभएको ठाउँमा एम्बुलेन्सले सेवा दिन नसकेको उनले बताए।

‘यसअघि आपतकालीन अवस्था पर्दा, रातिको समयमा बिरामी पर्दा गाडी रिजर्भ गरेर महँगोमा बिरामीहरु अस्पताल आउनुपर्ने अवस्था थियो,’ रावलले भने, ‘एम्बुलेन्स आएसँगै स्थानीयलाई सुविधा भएको छ। २४ सैं घण्टा बिरामीले सेवा पाउन थालेका छन्।’

हेरौँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .