बिहीबार थारु जातिको मुख्य पर्व माघि काठमाडौँ लगायत देशभर मनाइएको छ।
हरेक वर्ष माघको पहिलो दिन थारु जातिले माघी पर्व मनाउने गर्दछन्। यस वर्ष पनि काठमाडौँ लगायत थारुहरुको बहुल्यता भएको विभिन्न ठाउँमा माघी पर्व मनाईएको छ। अघिल्ला वर्षहरुमा काठमाडौँ लगायत विभिन्न ठाउँमा औपचारिक कार्यक्रम गरी धुमधाम र हर्सोल्लासका साथ माघी मनाइने गरिएको थियो। यसपाली भने कोभिड १९ संक्रमणका कारण देशभर सानो समूहमा अथवा परिवार भित्र मात्रै माघी पर्व मनाईएको छ।
माघीमा मिठो मिठो परिकारहरु बनाएर खाने प्रचलन छ। यस पर्वमा मौलिक परिकारहरु चिचर(भत्कुन), सितुवा, घुगी, हाँसको मासु लगायतका परिकारहरु बनाएर खाने गरिन्छ भने आफ्नो कला, संस्कृति झल्किने पोषाक लगाएर धुमधामसँग माघी मनाईने गरिन्छ।
माघीको दिन नुहाएर तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा रहेको छ। यस दिनमा नुहाएर दाल, चामल छोएर मान्यजनसँग आर्शिवाद लिने गरिन्छ। माघीलाई एक आपसमा सम्बन्ध प्रगाढ बनाउने पर्वको रुपमा पनि लिने गरिन्छ।
यस दिनमा आफ्ना चेलिवेटीहरुलाई उपहार दिने र चेलिबेटीसँगको सम्बन्धलाई सुदृढ बनाउने गरिन्छ। थारु जातिले माघी पर्वलाई नयाँ वर्षको दिनको रुपमा लिने गर्दछन् भने यस दिन देखि नयाँ कामको शुरुवात गर्ने प्रचलन पनि रहेको छ। माघीको दिनमा गाउँ समाजको नयाँ अगुवा चुन्ने तथा घरसल्लाह गर्ने काम पनि गरिन्छ।
Shares

प्रतिक्रिया