समाज


रित्तिए उपत्यकाका आइसोलेसन केन्द्र, किन बस्न चाहेनन् संक्रमित?

रित्तिए उपत्यकाका आइसोलेसन केन्द्र, किन बस्न चाहेनन् संक्रमित?

यज्ञराज जोशी
माघ २, २०७७ शुक्रबार १२:५६,

गतवर्ष माघमा कोरोना भाइरसको उत्पतिस्थल चीनको वुहानबाट १ सय ७५ जना विद्यार्थी नेपाल ल्याएपछि राख्न प्रयोग गरिएको स्थान थियो, भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र।

कोरोना भाइरसको एकदमै डर मानिने त्यसबेला स्थानीयको विरोधका बाबजुद नेपाली सेनाले उक्त तालिम केन्द्रलाई खरिपाटी क्वारेन्टिनमा रुपान्तरण गर्‍यो।

१४ दिनपछि भएको परीक्षणमा सबै विद्यार्थीको रिपोर्ट नेगेटिभ आयो र घर पठाइयो।

त्यसपछि उक्त तालिम केन्द्रलाई नियमित आइसोलेसनका रुपमा प्रयोग गरियो। सुरुमा विदेशबाट आउने शंकास्पद व्यक्तिहरुलाई त्यहाँ राखियो।

उनीहरुलाई परीक्षणपश्चात घर पठाइन्थ्यो। त्यसयता कहिल्यै खाली नरहेको २०८ बेडको उक्त आइसोलेसन केन्द्र अहिले भने रित्तिएको छ।

‘एक समय आइसोलेसनमा मान्छे नअटाएर कहाँ पठाउने भन्ने तनाव हुन्थ्यो। अहिले आइसोलेसन पूरै खाली अवस्थामा छ,’ भक्तपुर स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारले भने, ‘संक्रमितको संख्या पनि घटेको छ र भएका संक्रमित पनि होम आइसोलेसनमै भएकाले आइसोलेसन केन्द्र रित्तिएको हो।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारकाे तथ्यांकअनुसार भक्तपुरमा ७२ जनामात्रै सक्रिय संक्रमित छन। यस्तै काठमाडौंमा २ हजार ३३४ र ललितपुरमा २८७ गरी उपत्यकामा झन्डै २७ सय सक्रिय संक्रमित छन।

मिजारका अनुसार खरिपाटी आइसोलेसनसँगै भक्तपुरमा झन्डै ८ सय बेड क्षमताका आइसोलेसन केन्द्रहरु थिए।

अहिले भक्तपुर र कोरियामैत्री अस्पतालबाहेक सबै आइसोलेसन केन्द्रमा कोहीपनि संक्रमित बिरामी नरहेको उनले बताए। भक्तपुर अस्पतालमा १५ र कोरियामैत्री अस्पतालमा ९ बेड क्षमताको आइसोलेसन रहेको छ।

त्यसबोहक ६ बेड क्षमताको भक्तपुर क्यान्सर अस्पताल, १५० क्षमताको सैनिक आवासीय महाविद्यालय, ७५ बेड क्षमताको ब्रह्मायणी आइसोलेसन केन्द्र, १५० बेडको केएमसी अस्पताल दुवाकोट, १३० बेडको सैनिक अन्तर्राष्ट्रिय शिक्षालय खरिपाटी, २३ बेडको खानेपानी तालिम केन्द्र तेलकोट, ५० बेड क्षमताको कृषि विकास बैंकको तालिम केन्द्र, ७५ बेडको वीर दल गण सूर्यविनायक लगायत सबै आइसोलेसन केन्द्रहरु रित्तिएका छन।

खरिपाटी आइसोलेसनमा पनि अहिले कोही मानिस छैनन्। यहाँका बेड अहिले सबै खाली छन्। प्रायः मानिस घरमै होम आइसोलेसनमा बस्ने गरेको पाइएको छ। बाँकी समुदायमा बनाइएका आइसोलेसनमै छन। २०८ को क्षमता रहेको यस केन्द्र आवश्यक सुबिधा छ। तर अहिले मान्छे नै नआएपछि खाली रहेको हो।

‘कतिपय सामुदायिक आइसोलेसन केन्द्रहरु खारेज नै भएर पूर्ववत् रुपमै फर्किइसकेका छन्,’ मिजारले भने, ‘केहीलाई भने पुनः संक्रमण बढ्न सक्ने अवस्थामा यथावत राखिएको छ।’

सबैभन्दा बढी संक्रमित रहने गरेको कीर्तिपुरस्थित आयुर्वेद आइसोलेसन केन्द्रको अवस्था पनि खरिपाटी आइसोलेसनको जस्तै छ। ३ सय बेड क्षमताको यो आइसोलेसन केन्द्रमा अहिले जम्मा २१ जनामात्रै संक्रमित छन।

केन्द्रका निर्देशक डा. रामआधार यादवका अनुसार तीमध्ये पनि केहीदिन अघि मलेसियाबाट फर्केका १३ जना छन भने बाँकी पोजिटिभ रिपोर्ट आएपछि त्यहाँ आएका हुन।

‘अधिकांश घरमै बस्नुहुन्छ। औसतमा दिनमा एकदुई जना आउनुहुन्छ,’ यादवले भने, ‘सधैँ भिडभाड रहने आइसोलेसन केन्द्र अहिले रित्तिएको अवस्थामा छ।’

गम्भीर खालका बिरामी बढ्न थालेपछि गत असोजमा स्वास्थ्य मन्त्रालयले यस आइसोलेसन केन्द्रलाई स्तरोन्नति गर्दै कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने समेत निर्णय गरेको थियो।

केन्द्रमा मोडरेट (रोगको अवस्थाका आधारमा मध्यम खालका) बिरामीहरुको उपचार हुने गर्छ। यस आइसोलेसन केन्द्रमा अक्सिजन सुविधा उपलब्ध थियो।

काठमाडौंकै ठूलोमध्येको अर्को आइसोलेसन केन्द्र हो, इचंगु नारायण आइसोलेसन केन्द्र। यहाँका दुई भवनमा साढे पाँच सय पोजिटिभ बिरामी राख्नसक्ने क्षमता थियो। दुईहप्ता यता यो आइसोलेसन केन्द्रमा एकजना पनि बिरामी नरहेको केन्द्रका फोकल पर्सन पूर्ण गुरुङले बताए।

‘दुईहप्तादेखि कोही पनि बिरामी छैनन्,’ उनले भने, ‘एक समय बेड पाउनै मुस्किल पर्ने केन्द्रमा अहिले भने सुनसान छ।’

गत असोजमा ५ सय बढी संक्रमित आउँदा व्यवस्थापनमा हम्मेहम्मे परेको उनी सम्झन्छन। अहिले भवन नै खाली भएपछि १५० बेड क्षमताको एउटा भवन मानव सेवा आश्रमलाई प्रयोग गर्न दिनेबारे कुराकानी चलिरहेको छ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्यांक अनुसार यस प्रदेशमा ४ हजार ७०७ आइसोलेसन बेडहरु तयारी अवस्थामा रहेका छन। ती बेडमा जम्मा ५९१ जना बिरामीहरुमात्रै रहेका छन। मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा ४ हजार ३०१ जनामात्रै सक्रिय संक्रमित छन। जसमध्ये ९९४ जनामात्रै संस्थागत आइसोलेसनमा रहेका छन भने बाँकी होम आइसोलेसनमा रहेका छन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .