समाज


पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन

पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन

नेपालखबर
माघ १८, २०७७ आइतबार ६:२०,

पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)मा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ।

भूकम्प गएको पाँच वर्षपछि आइतबारदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो।

गोर्खा भूकम्पले पूर्ण रुपमा क्षति भएको यस स्कुलको पुनःनिर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन सकेको थिएन। नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने यस विद्यालयको भवन २०७२ सालको भूकम्पले पूर्ण रुपमा क्षति भएपछि आकर्षक ढंगले पुनःनिर्माण सकिए पनि नौ महिनापछि गत कात्तिक ५ गते स्कुल राष्ट्रप्रमुख विद्यादेवी भण्डारीबाट उद्घाटन भएको थियो।

कारोनाकै कारण लामो समय यस विद्यालयका विद्यार्थी र शिक्षकले पनि अन्यले जस्तै अनलाइनको माध्यमबाट घरबाटनै पठनपाठन अघि बढाएका थिए। एक हप्ताअघि नै कामपाले सबै विद्यालय खोल्नका लागि अनुमति दिए पनि व्यवस्थापनका केही काम बाँकी हुनाले आजदेखि विद्यालय सञ्चालन गर्न लागिएको कामपा वडा २७ का सदस्य परिवेशमान बज्राचार्यले जानकारी दिए।

निर्धारित कोटाअनुरुप अहिले भानु माविको कक्षा ५, ६,७ र ८ मा विद्यार्थी संख्या पुगेको छ। भवनको निर्माण सम्पन्न भएसँगै भानु माध्यमिक विद्यालयमा अहिले ३१२ जना विद्यार्थी पठनपाठन गर्ने गरेका छन्। यस विद्यालयमा अघिल्लो शैक्षिक सत्रमा ८० जना मात्र विद्यार्थी थिए।

नयाँ भवनमा विद्यार्थी भर्ना गर्न आउने क्रम जारी रहेपछि यस विद्यालयले कक्षा ५, ६, ७ र ८ कक्षामा विद्यार्थीको बस्नका लागि सिट क्षमता बढाएको छ। पुनःनिर्माणपछि सो विद्यालयमा प्रति कक्षा ३६ जना विद्यार्थीलाई पठनपाठन गराउन सक्ने बनाइएको थियो। हरेक दिन विद्यार्थी आउने क्रम जारी रहेपछि प्रत्येक कक्षामा पुनः छ जना विद्यार्थी राख्न सक्ने गरी क्षमता विस्तार गरिएको हो। क्षमता विस्तारपछि अहिले प्रत्येक कक्षामा ४२ जनासम्म विद्यार्थीलाई पठनपाठन गराउन सकिन्छ।

भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिलकोे जस्तै देखिन्छ। नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चार तले छ र यसमा ६० वटा कक्षा कोठा रहेका छन्। नेपाल सरकारले उपत्यकाका महत्वपूर्ण प्राकृतिक र साँस्कृतिक सम्पदाको पुनःनिर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको यस ऐतिहासिक स्कुलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन्।

नयाँ भवनमा प्रयोशाला समेतको सुविधा र अंग्रेजीमाध्यममा पढाइ हुने गरेको छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको उक्त भवनको निर्माणको काम चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले गरेको हो। भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेना गृह, दुई वटा पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन्। रु ८५ करोड ५९ लाख लागतमा निर्माण सम्पन्न गरिएको दरबार हाइस्कुलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कुल भवन भूकम्पका कारण भत्किएपछि प्रदर्शनी मार्गस्थित बाल्मिकी विद्यापीठ नजिकैको परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो। तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलिएकाले यसको नाम दरबार हाइस्कुल रहन गएको हो।

तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ मा नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाइस्कुल’ स्थापना गरेका थिए। राजा महाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको थियो। विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार स्कुलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad