अहिले नेपालमा पनि लगाउने क्रम चलिरहेको कोरोना खोप गम्भीर अवस्थाका संक्रमितलाई निको पार्ने मात्र नभई संक्रमण पनि रोक्ने दाबी वैज्ञानिकले गरेका छन्।
अर्थात् अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेको खोप निकै प्रभावकारी भएको तथ्य पछिल्लो अध्ययनले पत्ता लगाएको हाे। जुन खोप भारतस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ भने त्यहींबाट नेपाललाई पनि अनुदानस्वरूप प्राप्त खोप अहिले देशभर लगाउने क्रम जारी छ।
बीबीसीका अनुसार कोरोना महामारी कहिलेसम्म रहन्छ भन्ने अन्योल रहेका बेला खोपले संक्रमणसमेत रोक्ने देखिएपछि यसले महामारी नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
विज्ञका अनुसार खोप संक्रमण रोक्न सफल हुनु निकै महत्त्वपूर्ण मानिन्छ। किनकि खोपले गम्भीर रोगबाट मात्र जोगाउँदा खोप लगाएका व्यक्तिले अरूलाई भाइरस सारिरहन सक्छन्।
तर याे खाेप संक्रमण रोक्ने भएकाले लगाएपछि सम्बन्धित व्यक्तिले अरूमा भाइरस सार्न सक्दैनन्। जसले गर्दा याे खोप नलगाएका व्यक्ति पनि सुरक्षित हुन्छन्। यसो हुँदा महामारी नियन्त्रणमा ठूलो सफलता प्राप्त हुन सक्ने देखिएकाे बीबीसीले जनाएकाे छ।
अक्सफोर्ड विश्वविद्यालयले गरेको अध्ययनमा सहभागीहरूलाई हरेक हप्ता भाइरस रहे/नरहेकोबारे परीक्षण गरिएको थियो। त्यस क्रममा खोपको दुई डोज लिएका व्यक्तिमा भाइरस आधाले घटेको पाइएको हो।
अध्ययनमा भनिएको छ- ‘यो आँकडाले के देखाउँछ भने खोपले संक्रमण दर घटाउन पनि उल्लेखनीय प्रभाव पारिरहेको छ।’
‘एकै डोजले पनि राम्रो सुरक्षा’
साथै उक्त खोपको एकै डोजले पनि मानिसलाई कोरोनाबाट राम्रो सुरक्षा दिएको अध्ययनले देखाएको छ।
पहिलो डोज लिएको ३ महिनासम्म पनि खोप ७६ प्रतिशत प्रभावकारी रहेको पाइएको छ। दुई डोज लिनेहरूमा त सुरक्षा प्रभावकारिता ८२ प्रतिशत देखियो।
बीबीसीका अनुसार यो अध्ययनमा बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका गरी १७ हजार मानिस सहभागी भएका थिए।
अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको खोप अहिले नेपाललगायत विभिन्न देशमा लगाउने क्रम चलिरहेको छ।

प्रतिक्रिया